२०८२ आश्विन ५ गते आईतवार
२०८२ आश्विन ५ गते आईतवार

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन थालेको अनिवार्य सूचीकरण प्रक्रियामा नयाँ सामाजिक सञ्जालको सहभागिता शून्य देखिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार तोकिएको समयसीमा सकिँदासम्म कुनै नयाँ सामाजिक सञ्जालले दर्ताका लागि निवेदन पेस गरेका छैनन् ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार, कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन दिन सकिने प्रावधान रहेको छ । ‘हामी मध्यरातिसम्म पर्खनेछौं, तर यदि बिहीबार बिहानसम्म पनि कुनै निवेदन आएन भने सरकारले निष्क्रिय गर्ने प्रक्रिया अघि बढाउनेछ,’ उनले भने

गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता प्रक्रिया नगरेका वा सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउने निर्णय गरिसकेको छ । सरकारले सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को आधारमा यस्तो कदम चाल्न लागेको हो ।

निर्देशिकाले नेपालमा सामाजिक सञ्जाल सञ्चालनका लागि अनिवार्य सूचीकरणको व्यवस्था गरेको छ । यसमार्फत प्रयोगकर्ताको डेटा सुरक्षा, गलत सूचना तथा अभद्र व्यवहार नियन्त्रण, र सञ्चालकको कानूनी उत्तरदायित्व सुनिश्चित गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा भाइबर, बिटक, टिकटक, निम्बज लगायत पाँच वटा सामाजिक सञ्जालले मात्र सूचीकरण प्रक्रिया पूरा गरेका छन् । टेलिग्राम र ग्लोबल डायरी भने प्रक्रियामा रहेका छन् । बाँकी अन्य प्रमुख सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स लगायतले अहिलेसम्म कुनै सम्पर्क नगरेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले यसअघि नै सूचीकरण नगरेका सामाजिक सञ्जाललाई अन्तिम चेतावनी दिँदै आएको थियो । तर, तोकिएको समयसीमा सकिँदै गर्दा कुनै नयाँ दर्ता नभएको देखिएको छ । अब बिहीबार बिहानसम्म नयाँ दर्ता हुन्छ कि हुँदैन भन्ने चासो चुलिएको छ ।

३० वर्षे सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा तथा अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरे ।

समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले आफ्नो कार्यकालमा संविधान र प्रचलित कानूनले तोकेको जिम्मेवारी इमानदारी, पारदर्शिता र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गरे । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण गर्ने, प्रमाणमुखी अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन आफ्नो नेतृत्व केन्द्रित भएको उनको भनाइ थियो ।

थापाले संगठनलाई व्यावसायिक, आधुनिक र सक्षम बनाउन प्रविधिको प्रयोग, तालिम, नीतिगत सुधार र कल्याणकारी सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै नवनियुक्त आईजीपी खापुङलाई साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्वको रुपमा विश्वास व्यक्त गरे । साथै, आफ्नो कार्यकालमा सहयोग पुर्‍याएका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा आईजीपी थापाले आफ्नो कार्यकालमा हासिल उपलब्धि तथा संगठनमा सञ्चालनमा रहेका कार्यक्रम समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आईजीपी खापुङलाई हस्तान्तरण गरे ।

यस अवसरमा आईजीपी खापुङले सेवा निवृत्त अधिकारीहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे । उनले विगतका असल अभ्यासलाई आगामी रणनीति तथा कार्ययोजनामा समेटी संगठनलाई अझ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, एआईजी सुदिप गिरी र एआईजी टेक बहादुर तामाङले पनि आफ्नो सेवा यात्राका अनुभव सुनाउँदै सहकर्मीहरूको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापा लगायतका पदाधिकारीहरूलाई समेत बिदाइ गरिएको थियो । भने श्रीमती संघकी भावना श्रेष्ठ खापुङले शुभकामना सहित बिदाइ गरिन । समारोहमा अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, अन्य वरिष्ठ अधिकृत तथा प्रहरी जवानहरूको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पनि पूर्वआईजीपी थापालाई गृह मन्त्रालयमा बिदाइ गरेका थिए । मन्त्री लेखकले थापाको दीर्घ सेवाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे ।

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बिहीबारदेखि नेपाल प्रहरीको ३२औँ महानिरीक्षकका रूपमा कमान्ड सम्हाल्नेछन् ।

नेपाल प्रहरी ऐनअनुसार ३० वर्ष सेवा पूरा गरेका प्रहरी अधिकारी अवकाश हुने प्रावधान छ । यही प्रावधानअनुसार थापाले आजदेखि औपचारिक रूपमा अवकाश पाएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध र बहिष्कार गर्न थालेको सय दिन पूरा भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने माग राखेर दुवै दलले गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध तथा बहिष्कार गर्दै आएका हुन् ।

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्न दिएका दलहरूले त्यसपछिका केही बैठकमा उठेर नाराबाजी, रोस्टम घेराउ, निलो स्कार्फ लगाएर बैठकमा जाने लगायतका गतिविधि गरे । त्यसपछि बैठकको शुरूमा बोल्न समय मागेर आफ्ना कुरा राख्ने र बैठकबाट बाहिरिने गर्दै आएका छन् ।

उनीहरूको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् ।

आज सय दिनमा पनि दुवै दलले आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका छन् । आजको बैकमा बोल्दै रास्वपाका सांसद हरि ढकालले सत्तापक्षले विरोधी आवाज दमन गर्न खोजेको आरोप लगाउँदै यसबाट लोकतन्त्र बलियो नहुने बताए ।

यस्तै बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केही समयपछि नेपाल रवि लामिछानेभन्दा पनि मनपरी बोल्ने दुर्गा प्रसाईँ स्कुलिङका मान्छेहरूको हातमा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्चको जापान अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले काँग्रेस,एमाले,माओवादी जस्ता दलहरूमा लोकतन्त्र नहुँदा गालीगलौज र घृणा फैलाउने व्यक्तिहरू राजनीतिमा हाबी हुन लागेको बताए ।

भुसालले भने–एमाले, काँग्रेस, माओवादीहरूको कुरा छाडौँ अब रविजी भन्दा बढी गाली गर्नेहरूको दिन आउँछ । रवि लामिछानेको पछि लागेर सोसल मिडियामा मनपरी बोल्नेभन्दा दुर्गा प्रसाईँहरू त्यतिखेरका अब्बल पोलिटियसन हुनेछन् । दुर्गा प्रसाईँहरूको स्कूलिङबाट आउनेछन् । त्यो बेला कस्तो होला ? मुलुकमा आजको संविधानले काम गर्दैन ।’

भुसालले केपी शर्मा ओली र ‘प्रचण्ड’को कुर्सी हल्लिएपछि एमाले र माओवादी संकटमा परेको दाबी समेत गरे । जनार्दन शर्माले आत्मसमिक्षाको कुरा गर्दा उनीमाथि ‘प्रचण्ड’ले आक्रमण गरिरहेको भुसालको आरोप छ ।

काठमाडौँ । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ ।

मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार ठुलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको हो ।

 

त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् ।

उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

उक्त रकम र सुनचाँदीसहित पक्राउ परेका व्यक्ति मिटरबाजी रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौँ महानगरपालिका-२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।

ठुलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौं– नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज सुन तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै महँगो हो।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सामान्यतया जब कुनै देशको सर्वोच्च नेता अर्को देशमा जान्छ, उसले यात्राको सबैभन्दा छिटो र आरामदायी विकल्प रोज्छ, जुन हवाईजहाज हो, तर किम जोङ उन भने यस मामिलामा फरक छन् ।

उत्तर कोरियाका शासक किम जोङ उन सोमबार आफ्नो बख्तरबंद रेल चढेर मंगलबार चिनियाँ सीमामा प्रवेश गरे । रेलले उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङसम्म लगभग १३ सय किलोमिटरको दूरी पार गरेको थियो । बुधबार चीनको राजधानी बेइजिङमा ‘विजय दिवस’ परेड आयोजना हुँदैछ । किम जोङ उन चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य विश्व नेताहरूसँग यसमा भाग लिदैछन् ।

 

दक्षिण कोरियाको योनहाप एजेन्सीका अनुसार यो रेल भारी सुरक्षा व्यवस्थाले सुसज्जित छ, त्यसैले यो ढिलो गतिमा चल्छ । उत्तर कोरियाको रेलवे नेटवर्क धेरै पुरानो छ, त्यसैले यो रेलको सुस्त गतिको कारण पनि हुन सक्छ ।

उत्तर कोरियाली नेता किम जोङ उन रेलबाट यति लामो दूरी यात्रा गर्नु नयाँ होइन । किम जोङ उनभन्दा पहिले उनका बुबा र हजुरबुबाले पनि यो धेरै पटक गरिसकेका छन् । यो परम्परा उनका हजुरबुबाले सुरु गरेका थिए । यो परम्परालाई किम जोङ उनका बुबा किम जोङ इलले अगाडि बढाएका थिए । किम जोङ इललाई विमानबाट यात्रा गर्न डर लागेको बताइएको छ ।

नोभेम्बर २००९ मा, एक दक्षिण कोरियाली समाचार आउटलेटले यो बुलेटप्रुफ रेलमा ९० कोचहरू रहेको उल्लेख गरेको थियो । पहेंलो धर्का भएको यो गाढा हरियो रेलमा सम्मेलन कक्ष, दर्शक कक्ष, शयनकक्ष, उपग्रह फोन र फ्ल्याट स्क्रिन टेलिभिजनहरू छन् । केही अन्य तस्बिरहरूमा, यस रेलको कोचहरूमा रातो छालाको कुर्सीहरू देख्न सकिन्छ ।

बीबीसीले उत्तर कोरियाको शीर्ष नेताको विशेष रेलको गति प्रति घण्टा ५० किलोमिटर मात्र रहेको बताएको छ । यस रेलको नाम तायेङहो हो । कोरियाली भाषामा, यो शब्दको अर्थ सूर्य हो, जुन उत्तर कोरियाका संस्थापक किम इल सुङको प्रतीक मानिन्छ ।

लामो दूरीको यात्राको लागि रेल प्रयोग गर्ने परम्परा किम इल सुङले सुरु गरेका थिए । किम जोङ उनका हजुरबुबा किम इल सुङ त्यतिबेला भियतनाम र पूर्वी युरोपमा रेलबाट यात्रा गर्थे । यस रेलको सुरक्षा उत्तर कोरियाली सुरक्षा एजेन्टहरूले सम्हाल्छन् । तिनीहरूले बम वा अन्य खतराहरूलाई ध्यानमा राखेर रेल मार्ग र आगामी स्टेशनहरू स्क्यान गर्छन् । रेलमा यात्रा गर्नु उत्तर कोरियाली नेताहरूका लागि नयाँ कुरा नभएको बताइन्छ । यी नेताहरू सामान्यतया विमानबाट यात्रा गर्दैनन्, किनभने उनीहरूले यसलाई सुरक्षित पाउँदैनन् ।

उत्तर कोरियाली नेताहरूले रेलमा यात्रा गर्छन् किनभने उनीहरू यसलाई सुरक्षित पाउँछन् । किम जोङ उनका बुबा रेलबाट यात्रा गर्थे । उनका हजुरबुबा कहिलेकाहीं विमानबाट यात्रा गर्थे, तर मुख्यतया रेललाई प्राथमिकता दिन्थे । यो रेल उनको आफ्नै, विशेष हो र उनको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो ।

२००१ मा, किम जोङ उनका बुबा किम जोङ इलले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न दस दिनको लागि मस्कोको यात्रा गरेका थिए । किम जोङ उनका बुबा र हजुरबुबाले पनि सीमित संख्यामा यात्राको लागि रेललाई प्राथमिकता दिन्थे । यो एक गोप्य देश हो र यसको नेताको रूपमा, उनी आफ्नो जीवनलाई पनि गोप्य राख्न चाहन्छन् । उनी के खान्छन्, के गर्छन् भनेर कसैलाई थाहा दिँदैनन् । उत्तर कोरियाली नेताले आफूले अभ्यास गर्ने राजनीतिलाई हेर्दा, देश भित्र र बाहिर केही खतरा महसुस गरेको हुनुपर्छ ।

यद्यपि, किम जोङ उन आफ्ना बुबा जस्तै उडान गर्न डराउँदैनन् किनभने उनी आफ्ना धेरै यात्राहरूको लागि रूसी-निर्मित निजी जेटहरू प्रयोग गर्दै आएका छन् ।

२००१ मा उत्तर कोरियाली नेता किम जोङ इलसँग एउटै रेलमा यात्रा गर्ने रूसी सैन्य कमाण्डर कन्स्टान्टिन पुलिकोभस्कीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘त्यो रेलमा रूस, चीन, कोरिया, जापान र फ्रान्सबाट कुनै पनि परिकार अर्डर गर्न सकिन्छ ।’

रुसी कमाण्डरले भ्लादिमिर पुटिनको निजी रेलमा पनि किम जोङ इलको रेल जत्तिकै आराम नभएको दाबी गरेका छन् । अर्का रुसी राजदूत जर्जी टोलोरायाले २०१९ मा उही रेल यात्राको बारेमा लेखेका थिए । उनले यो रेलमा विभिन्न प्रकारका मासु र पेय पदार्थहरू कसरी दिइन्थ्यो भनेर सम्झे । रुसी मानक भोड्का पनि रेलमा उपलब्ध रहेको उनले बताएका थिए । उत्तर कोरियाको राज्य सञ्चालित मिडियाले २०११ मा यही रेलमा यात्रा गर्दा किम जोङ इलको हृदयघातबाट मृत्यु भएको रिपोर्ट गरेको थियो ।

दोस्रो विश्वयुद्ध पछि कोरियाली युद्ध भयो र दुई छुट्टाछुट्टै स्वतन्त्र देशहरू गठन भए । त्यसपछि शीतयुद्ध सुरु भयो र दुवै देशहरू फरक(फरक गुटमा सामेल भए । उत्तर कोरिया सोभियत संघमा सामेल भयो र दक्षिण कोरिया अमेरिकामा सामेल भयो । उत्तर कोरियाको सिमाना पहिले सोभियत संघ (अहिले रूस) र चीनसँग थियो र यी सबै देशहरूको विचारधारा पनि एकअर्कासँग मेल खान्छ । विश्वका ठूला शक्तिहरूले यी देशहरूलाई विभाजित गरेका थिए र तिनीहरूको विभाजन भारत र पाकिस्तानको विभाजन भन्दा फरक थियो ।

त्यस्तै उत्तर कोरियाली नेताहरू धेरै कम यात्रा गर्थे र यो पहिले पनि कम वा कम उस्तै थियो । कोरिया सानो देश थियो । १९१०–१९४५ को बीचमा, कोरिया जापानको औपनिवेशिक देश थियो । यस्तो अवस्थामा उत्तर कोरियाका नेताहरू पहिले सोभियत संघ र पछि रुस वा चीनको भ्रमण गर्थे र त्यो पनि रेलबाट ।

काठमाडौं : अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।

 

अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो। राहदानी नभएकाहरूलाई वासिङटनडिसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइ दिएको छ। निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी,विश्वकर्मा,बोहरा, बुढाथोकी,छिनाल,डाँगी,कुँवर,खत्री र शाह थर भएका एक/एकजना छन्। यसैगरी दुईजना चौधरी,दुईजना कँडेल,दुईजना खड्का,छजना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्।

यस्तै आचार्य, पुन, विके,गौतम, शेर्पा,सिंह,सुवेद,तामाङ र ठाडा थर भएका एक/एकजना पनि भोलि नेपाल आइपुग्नेछन्।

अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो। पछिल्लो पटक अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू धमाधम निष्काशन हुन थालेका छन्। अवैध ढंगबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ। जसको मारमा नेपालीहरू पनि पर्न थालेका छन्।

तम्घास। मंगलवार बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भने, ‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन्। आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?’ त्यतिबेला विद्यालयमा मिटिङ चलिरहेको थियो। शिक्षक भुसालले यो विषय मिटिङमा जानकारी गराए। त्यसपछि विद्यालयका चार जना शिक्षक घटना भएको भनिएको ठाउँ ककेदेउराली नजिकै पुगे। शिक्षकले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देखे।

विद्यार्थीले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपरहरण गरेको बताए। त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षक बोलाए। शिक्षक घटनास्थलमा पुग्दा पनि विद्यार्थीहरू रुने, काम्ने तथा डराउने गरिरहेका थिए। त्यसै विद्यालयका कक्षा ४ मा पढ्ने विद्यार्थी अपहरणमा परेको कुरा अन्य विद्यार्थीले बताएपछि सबै मिलेर विद्यार्थीको खोजीमा लागे।

करिब आधा घण्टापछि एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए। प्रहरी, विद्यालय र स्थानीयलाई अबको चुनौती अपहरणकारी खोज्नु थियो। बालक अपरहणमा परेको सूचना छिनभरमै राष्ट्रियस्तरमा मिडियमा फैलियो। पहाडी इलाकामा विद्यार्थी अपहरणमा पर्नु निकै दुर्लभ घटना मानिन्छ। अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायत ठाउँका छ समूहमा २० जना प्रहरी खटिए।

त्यसैगरी विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका करिब १५० जना छात्रहरू, स्थानीय, पालिकाका कर्मचारी गरी करिब ३०० भन्दा बढी नागरिक अपरहरणकारी खोज्नका लागि परिचालन भए।

घटनाका विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकले विद्यार्थीलाई छुट्टछुट्टै सोधखोज गरिरहेका थिए। आठैजना विद्यार्थीले घटनाका विषयमा फरकफरक तर्क गरेपछि प्रहरीलाई घटनाका विषयमा शंका लाग्न थाल्यो। पछि बुझ्दै जाँदा विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा परेको बहाना बनाएको खुलासा भयो।

‘पहिले बालक पत्ता लगाउन र त्यसपछि अपहरणकारी पत्ता लगाउनुपर्ने दबाब आयो’, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुले भने, ‘साना बालबालिकाले यसरी बहाना बनाउलान् भन्ने सोच नै आएन।’

उनले पत्रकार प्रेम सुनारबाट घटनाको जानकारी आएपछि जिल्लाभित्र र छिमेकी जिल्लाका प्रहरीमा समन्वय गरेको बताए। विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटनाबारे विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताए।

‘सुरुमा सबैलाई डर भयो, दिनभर पढाइ पनि भएन’, उनले भने। प्रधानाध्यापक क्षेत्रीले भनभनेबाट आठ जना विद्यार्थी पुर्कोट दहमा पढ्न आउने र उनीहरूमध्ये कक्षा ५ मा पढ्ने छात्रा आयुष्मा ताम्राकारले अपहरणको योजना बनाएको बताए। उनीहरूको योजनाबद्ध रूपमा अपहरणको बहाना बनाएको थाहा पाएपछि विद्यार्थीलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ। बुधबारदेखि विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ।

मेष : भाग्यको प्रबल साथ रहने दिन हो । धर्म, दर्शन, उच्च अध्ययन तथा गुरुसँग सम्बन्ध प्रगाढ बन्ने सम्भावना छ । विदेश गमन वा लामो दूरीको यात्राको योग बन्न सक्छ । पितासँग सम्बन्धमा सुधार देखिनेछ ।

वृष : शारीरिक कमजोरी वा मानसिक असहजता अनुभव हुन सक्छ । आकस्मिक खर्च वा पारिवारिक वादविवादको सम्भावना छ । संवेदनशील विषयमा सतर्क रहनु आवश्यक छ ।

मिथुन : दाम्पत्य जीवनमा मधुरता ल्याउने प्रयास गर्नुपर्ने दिन हो । वैवाहिक वा साझेदारी सम्बन्धमा विचार-विमर्श जरुरी हुन्छ । व्यापारमा नयाँ प्रस्ताव आउन सक्छ, तर निर्णय सोचविचारपछि मात्र गर्नु उपयुक्त हुनेछ ।

कर्कट : रोग, ऋण र शत्रुजस्ता समस्यामा सुधार देखिने समय छ । प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ । स्वास्थ्यमा सुधार आउनेछ । व्यावसायिक दायित्व कुशलतापूर्वक पूरा गर्न सकिनेछ ।

सिंह : सन्तान, शिक्षा वा प्रेमसम्बन्धी विषयमा सामान्य उतारचढाव आउनेछ । भावनात्मक प्रतिक्रिया नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ । साहित्य, कला वा सृजनात्मक क्षेत्रका लागि मध्यमफलदायी दिन छ ।

कन्या : घर-परिवारमा सामान्य असन्तुलन देखिन सक्छ । माताको स्वास्थ्य वा पारिवारिक निर्णयमा चाप आउने सम्भावना छ । शान्त वातावरण सिर्जना गर्नु आवश्यक छ । मानसिक तनाव बढ्न सक्ने देखिन्छ ।

तुला : सञ्चार, यात्रा तथा भाइबहिनीसँगको सम्बन्धमा प्रगति देखिने दिन हो । साहस र आत्मबल बढ्नेछ । योजना अघि बढाउने सही समय हो । रचनात्मक अभिव्यक्तिमा सफलता मिल्न सक्छ ।

वृश्चिक : वाणी संयमित बनाउनु आवश्यक छ । पारिवारिक कुराकानीमा स्पष्टता जरुरी छ । आर्थिक पक्ष केही अस्थिर भए पनि नियन्त्रणमा ल्याउन सकिनेछ ।

धनु : व्यक्तित्वमा तेज, आत्मविश्वास र आत्मविश्लेषणको झल्को देखिने दिन हो । नयाँ योजना वा स्वाभिमानको विषयमा केन्द्रित हुने समय छ । यद्यपि अलिकति हठ बढ्न सक्छ, जसमा सन्तुलन जरुरी हुनेछ ।

मकर : थकान, अनावश्यक खर्च वा निद्रामा समस्या देखिन सक्छ । विदेश-सम्बन्धी कार्यमा केही सकारात्मक पहल हुने सम्भावना छ । मानसिक रूपमा एक्लोपन महसुस हुन सक्छ ।

कुम्भ : धनलाभ, आकांक्षा पूर्ति तथा नयाँ सम्पर्क बन्ने समय छ । सामाजिक क्षेत्र वा संस्थागत कार्यमा प्रशंसा प्राप्त हुने योग छ । मित्रबाट सहयोग मिल्नेछ ।

मीन : पेशा, प्रतिष्ठा वा नेतृत्व क्षमतामा वृद्धि हुने समय हो । उच्चपदस्थ व्यक्तिसँग सल्लाह लिनु लाभदायक हुनेछ । कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।