
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन् ।
आगलागीबाट गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार अपरेशन गरी बायाँ हातको कुहिनादेखि तलको भाग काटिएको पारिवारिक स्रोतले जनाएको छ ।
भदौ २४ गते घरमै भएको आगलागीमा परेर गम्भीर घाइते भएकी चित्रकारको उपचार बर्न अस्पतालको आइसियुमा भइरहेको छ ।
आगोले शरीरका अन्य भागहरू पनि जलेको र संक्रमण फैलन नदिन हात काट्नु परेको चिकित्सकले बताएका छन् ।
चित्रकारको अहिले निमोनिया समेत देखिएको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।
आगलागीको कारणबारे भने अनुसन्धान जारी रहेको जनाइएको छ ।
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् । आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएका दुष्प्रचारहरुको उनले तथ्यपरक र तार्किकरुपमा खण्डन गरिन् ।
निकै भावविव्हल देखिएकी श्रृंखलाले मुुलतः आफूले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे आफ्नो भनाइ राखेकी थिइन् । आफू एउटा ‘सेल्फ मेड’ व्यक्ति भएको आफ्नै क्षमताबाट यहाँसम्म आइपुगेको उनले बताइन् ।
‘मैले करदाताको पैसा दुरुपयोग गरेको आरोप लगाइएको छ, तर मैले आफूले कमाएको पैसा खर्च गरेर अमेरिकामा पढेको हुँ’, उनले भनिन् ।
श्रृंखलाका अनुसार उनले मिस नेपाल भएपश्चात ब्रान्डहरुबाट मात्रै तीन करोड १२ लाख कमाएकी थिइन् भने हार्वर्डमा पढ्दा एक करोड ४० लाख रुपैयाँ खर्च भएको थियो ।
श्रृंखलाले भनिन्, ‘मिस नेपाल हुनुपूर्व त मेरो जीवनमा कुनै हिसाबको विलासिता (लक्जरी) थिएन । एकदम सामान्य (अर्डिनरी) र साधारण (सिम्पल) जीवन बाँचिरहेकी केटी थिएँ । म पढेका स्कुलहरु, मैले लगाउने लुगाहरु, मेरो लवाइखवाइ सबै हेर्दाखेरि, अहिले पनि इन्स्टाग्राममा खुला छ, कुनै पनि हिसाबको विशेषाधिकार प्राप्त हुर्काइ मेरो थियो जस्तो मलाई लाग्दैन ।’
लाइक र भ्यूजको दौडमा मानवता गुमेको महसुस भएको श्रृंखलाले बताइन् ।
‘आफूभित्रको घृणा र नेपालभरिको फ्रस्टेसनममाथि पोख्नुभयो । कुनै महिलालाई बोक्सीकोउ आरोप लगाएकोभन्दा कम छैन यो’, उनले भनिन्, ‘तपाईंहरुले लगाएका आरोपहरु सबै अनुमानित मात्रै छन्, कुनै पनि प्रुफ छैन । एकपटक आफैंलाई प्रश्न गर्नुस । के लाइक र भ्यूज नै सबैथोक हो ? तपार्इंंहरु लाइक र भ्यूजको दौडमा मानवता गुमाइरहनुभएको छ ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताए । सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताए ।
२३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरे ।
उनले भने ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौँ । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु । देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको छ ।’
जेन–जी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भए पनि त्यस अवसरबाट जेन जी चुकेको बताए । उनले जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको बताए । शासकीय स्वरूप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ ।
उनले भने ‘जेन–जी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिन्थ्यो । देशका अरू आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो ।’
अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको दाबी गरे । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गरे । घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको बताए ।
लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएको जिकिर गरे । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गरे ।
उनले भने ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौँ । देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुनेछन् । हाम्रो स्पष्ट मत छ, संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्केर हामी समाधानमा होइन, थप संकटमा पुग्छौँ । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ । संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य हो । यो दिन त्यो कर्तव्यको सङ्कल्प गर्ने दिन हो । संविधान दिवसका अवसरमा म पुन सबैमा हार्दिक शुभकामना ।’
अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंस जेन जीको काम नभएको बताए । प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताए । देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र बलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरूले बचाएको नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भीर प्रश्न खडा भएको बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाको लागि नेपाली सेनाले नियन्त्रणमा लिएका ओली लामो समयपछि सार्वजनिक रूपमा बाहिरिएका हुन् ।
गत २४ भदौदेखि सैनिक ब्यारेकमा रहेका ओली बिहिबार बिहान बाहिरिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी हाल भक्तपुरको गुण्डुमा सरेका छन् । त्यहाँका लागि ओलीका निम्ति भाडाको घर लिइएको छ ।
ओलीको बालकोटस्थित निवास जेनजी आन्दोलनका प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सक्रियतामा ओलीलाई गुण्डु सारिएको जनाइएको छ ।
स्रोतका अनुसार गुण्डुस्थित घरमा ओलीको आवतजावत गोप्य राखिएको छ र स्थानीयस्तरमा पनि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ ।
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा क्षति पुगेका कम्पनीहरुले धमाधम बिमा दाबी माग गर्न थालेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म लघुबिमासहितका १८ वटा निर्जीवन बिमा कम्पनीहरुमा २० अर्ब ७० करोड बराबरको १ हजार ९ सय ८४ वटा बिमा दाबी परेको हो ।
जसमा सबैभन्दा धेरै दि ओरियन्टल इन्स्योरेन्समा दाबी परेको छ । सबैभन्दा धेरै क्षति पुगेको भाटभटेनी सुपरस्टोरको बिमा यही इन्स्योरेन्समा भएका कारण पनि अन्यको तुलनामा ओरियन्टलको बिमा दाबी सबैभन्दा धेरै देखिएको हो ।
यो कम्पनीमा कुल ५ अर्ब ४१ करोडबराबरको ४० वटा दाबी माग गरिएको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ । यो कम्पनमिा ४ अर्ब ९३ करोडको २ सय ५८ वटा दाबी पर्दा शिखर इन्स्यारेन्समा २ अर्ब ३९ करोडको ३ सय ६६ वटा दाबी परेको हो ।
योबाहेक आईजीआई प्र्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सको १ अर्बमाथिको दाबी पर्दा अन्य ११ वटा बिमा कम्पनीमा भने अर्बभन्दा थोरै मात्र बिमा दाबी परेको छ ।
जेनजी प्रदर्शनमा सरकारी कार्यालयसँगै देशभरका अधिकांश ठूला निजी व्यवसायहरुमा आगजनी गरिएको थियो । जसमा अधिकांश पूर्णरुपमा क्षति पुगेको छ । सरकारी कार्यालयहरुको बिमा नभएको हुँदा कुल २० अर्ब ७० करोडको दाबी निजी क्षेत्रको मात्रै रहेको प्राधिकरणले जनाएको छ ।
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ।
उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।
डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ। उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए।
काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौं ले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकका लागि विभिन्न आकर्षण छन् ।
सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण पाउनेछन् भने अरूले हात खालि नजाने उपहार प्राप्त गर्नेछन् । साथै, सबै ग्राहकलाई छुट, ग्यारेन्टी तथा निःशुल्क सेवा सुविधासमेत उपलब्ध गराइनेछ ।
थाइल्यान्ड भ्रमणको विशेष अवसर
सोफा हब काठमाडौंले ल्याएको अफर अन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई चिठ्ठामार्फत थाइल्यान्ड भ्रमण गर्ने अवसर प्रदान गरिनेछ । कम्पनीले यो योजनाले दशैँ–तिहारलाई अझ रमाइलो र स्मरणीय बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । थाइल्यान्ड भ्रमणको अवसरलाई कम्पनीले आफ्नो ‘ग्राहकलाई सम्मान गर्ने नीति’ को हिस्सा भनेको छ । गुणस्तरीय उत्पादन खरिदसँगै विदेशी यात्रा गर्ने अवसर पाउनु उपभोक्ताका लागि अभूतपूर्व अनुभव हुने कम्पनीको दाबी छ ।
‘Scratch Card’ मार्फत हात खाली नहुने व्यवस्था
ग्राहकलाई हात खाली नहोस् भन्ने उद्देश्यले यसपालि ‘Scratch Card योजना’ ल्याइएको छ । ३५ हजार रुपैयाँको सोफा खरिद गर्दा सोही मूल्य बराबरको फ्रिज उपहार दिइनेछ । त्यस्तै, Scratch कार्ड मार्फत फ्रिज, बिजुलीको केतली, भात पकाउने भाँडो, हिटर, तातो–चिसो दुवै पानी राख्ने बोतल लगायतका उपहार जित्ने अवसर पनि ग्राहकलाई हुनेछ । यस योजनाले सामान्य खरिदलाई विशेष बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत सोफा जित्ने मौका
सोफा हब काठमाडौंलाई टिकटक, फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सामाजिक सञ्जालमा पछ्याउने मध्य एक जना भाग्यशाली विजेताले रु. ६५ हजार बराबरको सोफा निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले यस योजनामार्फत सामाजिक सञ्जालमा आफ्ना ग्राहकसँग अझ नजिक हुने र ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेको जनाएको छ ।
छुट, ग्यारेन्टी तथा अन्य सुविधा
दशैँ–तिहार अवधिभर कम्पनीले ग्राहकलाई थप आकर्षक सुविधा दिने घोषणा गरेको छ । नेपालभर निःशुल्क सामान पुर्याउने व्यवस्था सोफा तथा फर्निचरका सामग्रीमा ५० प्रतिशतसम्म छुट खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी ग्यारेन्टी अवधिभित्र समस्या देखिएमा सोफा मर्मत वा प्रतिस्थापन सुविधा कम्पनीले लामो समय टिक्ने उत्पादन मात्र नभई खरिदपछि पनि ग्राहकलाई सहज हुने गरी सेवा–सुविधा दिने गरेको दाबी गरेको छ ।
आधिकारिक शाखाबाट मात्र खरिद गर्न आग्रह
हाल सोफा हब काठमाडौंका नेपालभर १० वटा शाखा सञ्चालनमा रहेका छन् । कम्पनीले ग्राहकलाई आधिकारिक शाखाबाट मात्र खरिद गर्न अनुरोध गरेको छ । कम्पनीका अनुसार सबै शाखामा एउटै चिन्ह प्रयोग गरिएको भए पनि चितवन शाखामा भने चिन्ह केही फरक छ । त्यसैले ठगीबाट जोगिन चिन्ह अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ ।
यसरी, ग्राहकलाई सजग रहन र आधिकारिक शाखाबाट मात्र खरिद गर्न कम्पनीले निरन्तर सचेतनामूलक सन्देश दिँदै आएको छ। नेपालकै विश्वासिलो ब्रान्ड स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझ नेपालकै विश्वासिलो ब्रान्ड बनेको छ ।
देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ। यसैका आधारमा सोफा हब काठमाडौंले बजारमा आफ्नो स्थान मजबुत बनाएको छ ।
कम्पनीका अनुसार यसपटकको ‘दशैँ–तिहार झटका अफर’ उपभोक्तामुखी योजनामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो तथा आकर्षक योजना हो ।
कञ्चनपुर । हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।
विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।
परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिए ।
‘साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ’, उनले भने, ‘पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।’
थापाले दसैँको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए ।
थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन् ।
‘हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ’, उनको भनाइ थियो,‘भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।’
लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए । ‘पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ’, उनले भने ।
गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए ।
‘बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ’, उनले भने ।
भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।
काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ‘जेनजी आन्दोलन’ पश्चात् संगठनभित्र व्यापक हेरफेर गर्दै ९० जना डीएसपी र ४८ जना एसपीको एकसाथ सरुवा गरेका हुन् ।
सरुवा हुने अधिकारीहरूमा काठमाडौँ उपत्यकाका विभिन्न वृत्त, जिल्ला प्रहरी कार्यालयहरू र अन्य महत्त्वपूर्ण एकाइका प्रमुख तथा इन्चार्जहरू समावेश छन् । केही जिल्ला, इलाका र वृत्तहरूमा नेतृत्व परिवर्तन भएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, सरुवा भएका डीएसपी र एसपीहरूलाई यथाशीघ्र नयाँ जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । यस व्यापक सरुवाले प्रहरी संगठनमा नयाँ ऊर्जा प्रवाह हुने र जनतामा प्रहरी प्रतिको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ ।
डीएसपी को कहाँ ?
एसपी को कहाँ ?
मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा चासो ल्याउनेछ । अत्यधिक भावुकता वा घरपरिवारमा मनोवैज्ञानिक चापको सम्भावना देखिन्छ । पारिवारिक सन्तुलन र धैर्य कायम राख्नु उपयुक्त हुनेछ ।
वृष : सञ्चार, लेखन, भाइबहिनी सम्बन्ध, साहस र सृजनात्मक क्षमतामा वृद्धि गर्नेछ । छोटो दूरीको यात्रा वा महत्वपूर्ण संवादका माध्यमबाट लाभ प्राप्त हुने दिन हो ।
मिथुन : पारिवारिक सुख, आहार-विहार, वाणी माधुर्य र सम्पत्तिमा केन्द्रित तुल्याउँछ । आजको दिन आत्मीयता र मितव्ययिता दुवै अपनाउनु लाभदायक हुनेछ । आर्थिक निर्णयमा सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ ।
कर्कट : आत्मविश्लेषण, भावुकता र संवेदनशीलताको वृत्ति बढ्नेछ । गृहस्थ सुख, आत्मीय सम्बन्ध र मनोबलमा विशेष प्रभाव देखिनेछ । महत्त्वपूर्ण निर्णयहरूमा स्थायित्व र परिपक्वता आवश्यक हुनेछ । आत्मिक शान्तिको लागि ध्यान वा ध्यानगर्भी क्रियाकलाप लाभदायक बन्न सक्छ ।
सिंह : मानसिक थकान, खर्चको अधिकता वा टाढाको यात्रा सम्भावित छ । गोप्य योजना वा अध्यात्मिक अभ्यासमा मन जाने सम्भावना छ । अनावश्यक चिन्ताबाट बच्न ध्यानाकर्षण केन्द्रित गर्नुहोला ।
कन्या : सामाजिक क्षेत्रमा सम्मान, आर्थिक लाभ र योजनागत सफलता दिनेछ । पुराना सम्पर्कहरू सक्रिय हुनेछन् । साथीभाइ वा समर्पित सहयोगीहरूबाट लाभ मिल्ने सम्भावना छ । आजको दिनले पुरस्कार, सम्मान वा पदोन्नतिको अवसर ल्याउन सक्छ ।
तुला : कार्यक्षेत्रमा विशेष व्यस्तता रहनेछ । कर्तव्यबोध, उत्तरदायित्व र नेतृत्व क्षमताको परिक्षा हुने दिन हो । वरिष्ठ व्यक्तित्वको सहयोग र सल्लाहले सफलता प्राप्त हुनसक्छ । योजनाबद्ध कार्यले दीर्घकालीन लाभ दिलाउने सम्भावना देखिन्छ ।
वृश्चिक : आध्यात्मिक चिन्तन, धार्मिक क्रियाकलाप तथा यात्राको सम्भावना छ । गुरु वा ज्येष्ठ व्यक्तिहरूसँगको संवाद लाभदायक हुनेछ । भाग्य वृद्धि तथा नयाँ ज्ञान प्राप्तिको सम्भावना प्रबल रहन्छ ।
धनु : मानसिक अशान्ति, पारिवारिक गोप्यता वा स्वास्थ्यसंग सम्बन्धित विषयमा सचेत रहनुपर्ला । गहिरो अनुसन्धान, तपस्या वा आत्मचिन्तनमा समय दिनु उपयुक्त हुने छ । अनावश्यक वादविवादबाट जोगिनु श्रेयस्कर हुनेछ ।
मकर : साझेदारी, दाम्पत्य सम्बन्ध वा सार्वजनिक जीवनमा स्थिरता ल्याउने प्रयास सफल हुनेछ । व्यावहारिक दृष्टिकोण र भावनात्मक समझदारीद्वारा सम्बन्धहरू मजबुत पार्न सकिने दिन हो ।
कुम्भ : प्रतिस्पर्धा, रोग वा ऋणसम्बन्धी विषयहरूमा सफलता दिलाउने योग छ । आलोचकहरूको प्रभाव कम हुनेछ, कामप्रति लगाव र परिश्रमको प्रतिफल पाउन सकिनेछ । स्वास्थ्यप्रति ध्यान दिनु श्रेयस्कर हुनेछ ।
मीन : सन्तान सुख, शिक्षा तथा प्रेम सम्बन्धी विषयहरूमा ध्यान केन्द्रित हुनेछ । भावनात्मक निर्णयमा विवेक प्रयोग गर्न आवश्यक देखिन्छ । सिर्जनात्मक कार्य वा कलात्मक प्रयासमा सफलता प्राप्त हुनसक्छ ।