२०८२ आश्विन ५ गते आईतवार
२०८२ आश्विन ५ गते आईतवार

जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशभरका कारागार र बाल सुधारगृह तोडफोड हुँदा भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३५७ जना फरार छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार फरारमध्ये ७ हजार ७५३ जना विभिन्न कारागारबाट र ६२२ जना बाल सुधारगृहबाट छन् ।

आन्दोलनको दिन २८ कारागार र ९ बाल सुधारगृहबाट गरी १४ हजार ५५५ कैदी भागेका थिए । हालसम्म ६ हजार १७९ जना पक्राउ वा स्वेच्छाले फर्किएका छन् ।

बाँकीलाई नियन्त्रणमा लिन खोज्दा १० जनाको मृत्यु भएको विभागले जनाएको छ । मृतकहरूमा रामेछापका ३, धादिङका २ र नौबस्ता बाल सुधारगृहका ५ जना छन् ।

आन्दोलनअघि देशभर ३० हजारभन्दा बढी कैदीबन्दी थिए, जसमा आधाभन्दा बढी २४ भदौमा भागेका थिए ।

काठमाडौं । गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ ।

आन्दोलनबाट निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सबै स्टोरहरू पुनः सञ्चालनमा ल्याउने दृढता व्यक्त गरेका छन् । उनले उपत्यकाभित्रका स्टोरहरू चार महिनाभित्र र उपत्यका बाहिरका स्टोरहरू १० महिनाभित्र सञ्चालनमा ल्याइसक्ने बताएका छन् ।

गुरुङले भने, ‘हामी खरानीबाटै भए पनि माथि उठ्छौँ, हाम्रा सबै स्टोरहरू खडा गरेरै छाड्छौँ। हामीसँग जोडिएका कसैको रोजीरोटी गुम्न दिँदैनौँ । स्टोरहरू सञ्चालनमा नआउन्जेल पनि उहाँहरूको रोजगारी गुम्दैन । ऋण नै गरेर पनि दसैँ मनाउने व्यवस्था पनि गर्छौँ ।’

भाटभटेनीमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् । कम्पनीले सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम मिलाएर उनीहरूको रोजगारी सुनिश्चित गर्ने जनाएको छ । गत आर्थिक वर्षमा भाटभटेनीले २७ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको थियो ।गुरुङले सधैँ जनता र राष्ट्रको सेवामा काम गरेको भए पनि निशानामा परेकोमा दुःख व्यक्त गरेका छन् ।

देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन् । यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन् ।

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर लुटिएका हतियारहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ । हतियारको विवरण सङ्कलन गर्ने समितिको नेतृत्व अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीले गरेका छन् ।

काठमाडौं उपत्यका र उपत्यका बाहिरका युनिटबाट लुटपाट र आगजनीका कारण करिब ११ सय थान हतियार हराएको आईजीपीले गृहमन्त्रीलाई रिपोर्टिङ गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा ११ सय थान हतियार हराएको उल्लेख गरेका छन् ।

लुटिएका हतियारमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका रहेका छन् । लुटिएका हतियारमा काठमाडौंबाट धेरै रहेका छन् ।

हराएका हतियारको विवरण तयार गर्ने काम भइरहेको छ । लुटिएका मध्ये १६० थान हतियार भेटिएको छ । आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । सशस्त्र प्रहरी बल र प्रहरीबाट लुटिएको हतियार सेनाले पनि बरामद गरेर बुझाएको छ । अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ । मनभवनमा स्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको सशस्त्रको बेसबाट करिब २० थान एसएलआर र सटगन लुटिएको जनाइएको छ ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको बेसबाट पनि केही हतियार लुटिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधनमा आगजनी गरिएको थियो ।

जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ ।

सैनिक अस्पतालमा उपचाररत देउवाको अवस्था भने खतरामुक्त रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले शुक्रबार भने, गर्धनमाथि गम्भीर चोट लागेको छ । १२ वटा टाँका लगाइएको छ । उठ्दा रिंगटा लाग्ने र  धेरैबेर बोल्दा असहज हुने भएकाले केही दिन अस्पतालमा राखेर उपचार गर्ने डाक्टरको सल्लाह छ ।’

विश्वकर्माले देउवाको सबै नेताहरूसँग कुरा भइरहेको र केही दिनमा सार्वजनिक हुने बताए ।

जेन–जी विद्रोहको क्रममा सभापति देउवामाथी आक्रमण भएको थियो । सो क्रममा देउवालाई गर्धनमाथिको भागमा चोट लागेको थियो । विश्वकर्माका अनुसार देउवाको स्वास्थबारे उपसभापति पूर्णबहादुर खड्काले आजको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

‘उहाँको टाउको १२ टाका लागेको र बोल्दा अहसज हुने, उभिँदा चक्कर लाग्ने भएकाले डाक्टरले डिस्चार्ज नगरेको र अझै केहीदिन अस्पतालमै बस्ने बिफ्रिङ भएको छ,’ विश्वकर्माले भने ।

काठमाडौं । भ्रष्टाचारविरुद्ध देशैभर ‘आगो सल्कँदा’ समेत कर्मचारीले घुस खान नछोडेको उदाहरण बनेका छन् दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की ।

लेखा अधिकृत कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरेको हो।

डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

काठमाडौं । शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका हुन् ।

शुक्रवार (आज) मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ ।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् । निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयकाअनुसार कार्यदललाई पाँच दिनभित्र ठोस कार्यान्वयन कार्ययोजना सहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

पाण्डेयले पुँजीबजारमा देखिएका विसङ्गति अध्ययन गरी लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले प्रणालीगत र प्रक्रियागत सुधारका लागि यो कदम चालिएको बताएका छन् ।

जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीवार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको थियो । बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।
दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भएको थियो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुगेको थियो ।

त्यससँगै बिहीवारका लागि कारोबार नै बन्द हुन पुगेको थियो । सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएपछि अर्थमन्त्री खनालले चासो देखाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छिन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

 

उनले जेन जी पुस्ताको आन्दोलनले संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य र सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा आफूहरू खरो उत्रिन नसकेको परिणाम भएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनबारे जानकार युवापुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरू यथार्थमै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको बताइन् ।

उनले भनिन्, ‘यी एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ। मैले कुनै शासकीय आकांक्षा बोकेर वा पदको लालसा लिएर प्रधानमन्त्री बनेको होइन । देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री बनेको हुँ ।’

 

प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको बताउँदै यो केबल उत्सव मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको उल्लेख गरिन् ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।

उनले संविधानलाई केवल पुस्तकको पानामा सीमित नगरी जनताको मनमा जीवित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार फेसबुकमा लेख्दै भनेका छन्- ‘जबसम्म संविधान नागरिकको जीवनस्तरमा न्याय, अवसर र समानताको अनुभूति गराउन सक्दैन, तबसम्म संविधान दिवस औपचारिक चाड मात्र हुनेछ। संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ। संविधान दिवसको शुभकामना’

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।

संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जेनजी आन्दोलनमा घाइते भइ उपचाररत व्यक्तिहरूसँग अस्पतालले रकम नलिएको स्पष्ट पारेको छ।

अस्पतालले सोमबार विज्ञप्ति प्रकाशित गरी घाइते आन्दोलनकारीसँग रकम लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कसैले कुनै शिर्षकमा रकम लिएको भए सक्कल बिल ल्याएर फिर्ता गर्न आग्रह गरेको छ।

अस्पतालले औषधि बाहेक कुनै शुल्क नलिएको बरु बिरामीलाई निशुल्क खाना खुवाएको बताएको छ।

घाइतेका परिवारहरूको उपचारसँग सम्बन्धित कुनै गुनासो भएमा अस्पताल प्रशासनको सम्पर्क नं. ९८०२३३५१३० मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ। 

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सो अस्पतालमा ८१ जना घाइते भर्ना भएकोमा २ जनाको तत्कालै मृत्यु भएको र २२ जना उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ। 

५७ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।