
ठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन् ।
आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन् । नयाँ मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन् । उनी हालसम्म स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव थिइन् र मन्त्री बन्ने सम्भावना देखिएसँगै आइतबार पदबाट राजीनामा दिएकी हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेलको नाम सिफारिस गरिएको छ । इमेज मिडिया ग्रुपका समाचार प्रमुख रहेका खरेल सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि मदन परियार सिफारिस भएका छन् । उनी विगतमा पनि सामाजिक अभियान र नीतिगत क्षेत्रमा संलग्न रहँदै आएका थिए ।
त्यस्तै, उद्योग तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिने निर्णय भएको छ । सिन्हा यसअघि सर्वोच्च अदालतका न्यायाधीश भइसकेका छन् र अब कार्यकारी भूमिकामा ल्याइँदैछ ।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमार्फत प्राविधिक, पेशागत र अनुभवी व्यक्तिहरूलाई समावेश गर्दै सरकारलाई कार्यक्षम र परिणाममुखी बनाउने रणनीति अघि सारेकी देखिन्छन् ।
नयाँ मन्त्रीहरूको शपथपछि सरकारको नयाँ संरचना स्पष्ट हुने र आगामी चुनाव, नीति तथा सेवा प्रवाहमा तीव्रता आउने अपेक्षा गरिएको छ ।
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी छन् ।
आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेकी हुन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल गरिदिन आग्रह गरिन् ।
बहिनी पुष्पाले पनि आफ्नो दाई निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशिघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गरिन् । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाईको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिवद्धता दिएको बताइन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीको पहलमा दाई घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताइन् । जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुगेकी थिइन् ।
काभ्रेपलाञ्चोक । गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक कैदीले आइतबार आफ्नो घर पुगेर पत्नीको हत्या गरेका छन् ।
काभ्रेको पनौती नगरपालिका-१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा सजाय काटिरहेका थिए ।
उनले जेनजी आन्दोलनका क्रममा सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य ७ सय कैदीसँगै कारागारबाट भागेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पहिराे पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिराेकाे कारण अवरुद्ध सडक ४५ घण्टापछि सुचारु भएकाे हाे ।
शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।
काठमाडौँ । (संयुक्त अरब इमिरेट्स) युएईले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिएको छ ।
यसअघि युएईले नेपाली खेलाडीलाई भिसा दिएको थिएन । अन्ततः आइसिसी र युएई क्रिकेट बोर्डसँगको सहकार्यपछि नेपाली खेलाडीले भिसा पाएका हुन् ।
अब नेपाली टोली भोली नै युनिटी कप खेल्न युएई प्रस्थान गर्ने भएको छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।
उनले दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको दावी गरेका हुन् ।
प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएको परिणाम कांग्रेस–एमालेले मात्र नभइ सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ छ ।
मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कूशासनका मतियारहरुले लिनुपर्ने उनको धारणा छ ।
जेनजी आन्दोलनको मौका छोपेर अध्यक्ष प्रचण्डसहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्पापित गराउने कोसिस गरिरहेको भन्दै उनले आपत्ति समेत जनाए । अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उनको तर्क छ ।
अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए ।
काठमाडौं । आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । बालुवाटार स्रोतका अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ ।
जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। सो घटनाको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ । यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो ।
यता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् ।
छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसै गरी बाढी पहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन् ।
बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा–सिस्नेरी–सुरुङ मार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुने गरी ठूला भारबहन सवारीसाधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त सडक खण्डका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरू ढुवानी गर्ने सवारीसाधनहरूलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।
मुलुकभरका मुख्य सडकहरूलाई चुस्त–दुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्हरूको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न/गराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।
आम नागरिकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । मुलुकभरिको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न/गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो ।
पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उनले दाबी गरे । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छभने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
अलपत्र यात्रुलाई निःशुल्क खाना
यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए ।
पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ ।
तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन।
समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् ।
आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने छ।
चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन्। तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन्।
वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन। तर, सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ।




