२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं । इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपीन जोशीको भिडिओ प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।

यो घोषणा बुधबार बिहान होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।

विपीनको परिवारलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘गाजामा प्राप्त यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाउँछ ।’

 

विपीन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए । उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे ।

वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । उनको झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड फालिएको थियो । विपीनले एक ग्रेनेड समातेर बाहिर फालेका थिए, तर दोस्रो ग्रेनेड फाल्न नसक्दा त्यसको विस्फोटले उनका पाँच साथीहरू गम्भीर घाइते भए ।

द जेरुसेलम पोष्ट अनुसार विपीनलाई हमासले गाजामा अपहरण गरी एक समय शिफा अस्पतालमा राखेको थियो । उनी जीवित रहेको ठोस प्रमाण थिएन ।

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।

आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछिआफूलाई पायक पर्ने जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने सक्ने छन्।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि https://applyvr.election.gov.np/बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

received_702869168815491-1759922980.jpeg

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दर्ताका लागि विशेष अदालत पुगेको थियो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको हो ।

हेर्नुहोस् पत्र

काठमाडौँ। कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।

विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ।

त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ। सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् ।

झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ।

काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे ।

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षेति मची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सिरहा । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठुलो रूप लिँदा कल्याणपुर नगरपालिका-८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।

पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्कीसमेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।

प्रहरीले विवाद समाधान गर्न यही असोज १२ मा छलफल राखेको थियो । तर त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रवार दिउँसो करिब २ बजेतिर २०/२५ जनाको समूहले दलित बस्ती तहसनहस पार्‍यो ।

उक्त समूहले पाँच वटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । “तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर कसैले केही बोलेन । उनीहरूले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।

 

पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु. १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु. तीन हजार लुटिएको छ ।

त्यस्तै, खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैँचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पुर्‍याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँच वटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र अवस्थामा छ ।

घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगेका थिए । उनीहरूले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।

१३ जनाविरुद्ध जाहेरी
बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष राम किशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् । उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।

वडाध्यक्षसहित तीन जना पक्राउ
प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।

पीडित परिवारलाई नगरपालिकाको राहत
पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।

पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यवाहक नगर प्रमुख रेखादेवी यादवले भनिन्, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौँ, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”

मेष : दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीबाटसमेत काम लिनसक्ने सम्भावना देखिन्छ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा प्रगति हुनेछ। आज लामो यात्रा नगर्नु उचित हुन्छ। स्वदेशमा रोजगारीको विकल्प देखेर मन रमाउने छ।

सिंह : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भने प्रगति हुनेछ। विज्ञको सुझाव अनुसार मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफन्तको चरित्रले मन उदास हुनेछ। स्वास्थ्यमा भने सुधारको योग छ। राजनीतिमा तपाईंको योगदानको आवश्यकता महसुस हुँदै जानेछ।

तुला : दिन राम्रो छ। परिवारमा घुलमिल हुने दिन छ। तपाईंको प्रस्ताव राजनीतिक क्षेत्रमा पारित हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। मानिसले तपाईंको कुरा काट्ने खतरा देखिन्छ। राजनीतिक क्षेत्रमा भने तपाईंको प्रयास सफल बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। छिमेकीको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा अनावश्यक हुने जोखिम छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट व्यापारमा अम्दानी बढ्नेछ। दाम्पत्य जीनव सफल बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विभिन्न आरोप लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा परिवारको साथ लिनु उचित हुन्छ।

मीन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। अप्ठेरो काम बन्दै जानेछन्। शिक्षामा थप मिहिनेत गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारमा शंका गर्ने बानीले आफैलाई घाटा गर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।