काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद पुनर्स्थापनाको मुद्दामा असहमति जनाएको छ ।
सभामुख देवराज घिमिरेले बुधबार बोलाएको बैठकमा उपस्थित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ८ बुँदे सुझाव प्रस्तुत गर्दै संसद पुनर्स्थापनाको मुद्दामा नअल्झन आग्रह गरेका छन् ।
शाहीले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न उपयुक्त हुने सुझाव दिएका हुन् ।
प्रवक्ता शाहीले संसदलाई निरन्तरता दिने वा पुनस्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताए । शाहीले ८ बुँदे संरचनागत सुधारको खाका बैठकमा राखेका थिए ।
यस्तो छ शाहीले प्रस्तुत गरेका सुझाव
१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।
२) प्रदेश संरचना खारेज : राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने। संघीयतालाई केन्द्र र ’बलियो स्थानीय तह’ मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने ।
३) गैर दलीय स्थानीय तह : स्थानीय स्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैर दलीय ९दलगत राजनीतिमुक्त० स्थानीय तहको अवधारणा लागू गरिनुपर्ने ।
४) संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने ।
५) राष्ट्रिय एकता कायम गर्न देशमा राष्ट्रिय एकता सद्भावको वातावरण बनाउने ।
६) भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुनस् भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने ।
७) प्रतिनिधि सभा उम्मेदवारको उमेर हद घटाउने : १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको । प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने ।
८) अनलाइन मतदान प्रणालीको व्यवस्था : विदेशमा रहेका करोडौँ नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाउनुपर्ने ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् ।
बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘देशमा अहिले अप्रत्याशित रुपमा प्रतिक्रान्ति भएको छ । देश अधोगतितिर धकेलिएको छ । हामीले अविलम्ब रोक्न सकेनौँ भने देश अझ अधोगतितिर जानेछ’ ओलीले भने, ‘हामी प्रहारको अरुभन्दा बढी निशानामा छौँ । हामीले नराम्रो काम गरेर, हाम्रा नीति नराम्रा भएर हामीमाथि प्रहार भएको होइन । राष्ट्रका निम्ति राम्रा काम गरेर बढी प्रहार भएको हो ।’
उनले लोकतन्त्र मन नपराउने, राष्ट्रियता मन नपराउने शक्तिहरू रहेको उल्लेख गर्दै एमालले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लिएको अडानका कारण आफूहरूमाथि प्रहार भएको जिकीर गरे ।
ओलीले एमाले सत्ताबाट हट्दैमा सधैँको लागि नहटेको जिकीर पनि गरे ।
‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’
सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।
आफ्नो पालामा देशको विकास र सार्वभौमिकता रक्षाको लागि राम्रा काम गरेको ओलीको दाबी छ ।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा केन्द्रीय कमिटीबैठक गरेको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि बिग्रिएको दाबी गरेका छन्।
बुधवारदेखि जारी एमालेको १०औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूलाई अझै सप्रिनुपर्छ भन्नेहरूलाई भनेका छन्, ‘ओली अझै सप्रिएन’ भन्छन् । केपी ओली बिग्रिएको भए पो सप्रिनु । सप्रिनलाई देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको मार्ग छोड्नुपर्ने हो भने, त्यो केपी ओलीले कहिल्यै छोड्दैन।’
उनले पार्टीभित्र छलफल नगरी बाहिर विरोधीको लहैलहैमा लागेर हल्ला फैलाउनेहरू नै सप्रिनुपर्ने बताएका छन्। साथै उनले वर्तमान सरकारलाई ‘अवैध’ भन्दै सुशीला कार्की नेतृत्वको सरकार आसन्न निर्वाचन गराउने दिशामा नरहेको आरोप लगाए।
‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ,’ओलीले भने, ‘चुनाव हुनेवाला छैन, सरकारले त्यसको तयारी गरेको छैन। यो अवैध सरकार हो।’
ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयास भएको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीशहरूमार्फत संसद् विघटनको योजनाबद्ध प्रयास भएको उल्लेख गर्दै संविधानको उल्लंघन भइरहेको जिकिर गरे।
‘असंवैधानिक ढङ्गले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैँले संसद् विघटन गर्नुभयो । यसले देखाउँछ– यो योजनाबद्ध प्रतिगमन हो,’ उनले भने ।
काठमाडौँ । सरकारले रु. तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भए पनि हुने व्यवस्था गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख)को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रूपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ ।
काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाभित्र पनि सोही व्यवस्था बमोजिम नै घरजग्गाको कारोबार हुने जनाइएको छ ।
घरजग्गाको कारोबार गर्ने क्षेत्रफल जतिसुकै भए पनि हुने र एक पटकमा रु. तीन करोडभन्दा माथिको कारोबार गर्दा अनुमति लिनुपर्ने भएको हो । त्यसका लागि भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई सम्बद्ध अधिकारी तोकिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सोमबार राजपत्रमा सूचना प्रकाशित भएको जानकारी दिए । यस्तै, मन्त्रालयले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र सो आदेश बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लामा गठन भएका समिति समेत खारेज गर्ने निर्णय भएको जानकारी दिए।
नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता छन् । उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।
चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।
भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए ।
काठमाडौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।
मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।
आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।
सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो ।
इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो ।
परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा चासो ल्याउनेछ । अत्यधिक भावुकता वा घरपरिवारमा मनोवैज्ञानिक चापको सम्भावना देखिन्छ । पारिवारिक सन्तुलन र धैर्य कायम राख्नु उपयुक्त हुनेछ ।
वृष : सञ्चार, लेखन, भाइबहिनी सम्बन्ध, साहस र सृजनात्मक क्षमतामा वृद्धि गर्नेछ । छोटो दूरीको यात्रा वा महत्वपूर्ण संवादका माध्यमबाट लाभ प्राप्त हुने दिन हो ।
मिथुन : पारिवारिक सुख, आहार-विहार, वाणी माधुर्य र सम्पत्तिमा केन्द्रित तुल्याउँछ । आजको दिन आत्मीयता र मितव्ययिता दुवै अपनाउनु लाभदायक हुनेछ । आर्थिक निर्णयमा सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ ।
कर्कट : आत्मविश्लेषण, भावुकता र संवेदनशीलताको वृत्ति बढ्नेछ । गृहस्थ सुख, आत्मीय सम्बन्ध र मनोबलमा विशेष प्रभाव देखिनेछ । महत्वपूर्ण निर्णयहरूमा स्थायीत्व र परिपक्वता आवश्यक हुनेछ । आत्मिक शान्तिको लागि ध्यान वा ध्यानगर्भी क्रियाकलाप लाभदायक बन्न सक्छ ।
सिंह : मानसिक थकान, खर्चको अधिकता वा टाढाको यात्रा सम्भावित छ । गोप्य योजना वा अध्यात्मिक अभ्यासमा मन जाने सम्भावना छ । अनावश्यक चिन्ताबाट बच्न ध्यानाकर्षण केन्द्रित गर्नुहोला ।
कन्या : सामाजिक क्षेत्रमा सम्मान, आर्थिक लाभ र योजनागत सफलता दिनेछ । पुराना सम्पर्कहरू सक्रिय हुनेछन् । साथीभाइ वा समर्पित सहयोगीहरूबाट लाभ मिल्ने सम्भावना छ । आजको दिनले पुरस्कार, सम्मान वा पदोन्नतिको अवसर ल्याउन सक्छ ।
तुला : कार्यक्षेत्रमा विशेष व्यस्तता रहनेछ । कर्तव्यबोध, उत्तरदायित्व र नेतृत्व क्षमताको परिक्षा हुने दिन हो । वरिष्ठ व्यक्तित्वको सहयोग र सल्लाहले सफलता प्राप्त हुनसक्छ । योजनाबद्ध कार्यले दीर्घकालीन लाभ दिलाउने सम्भावना देखिन्छ ।
वृश्चिक : आध्यात्मिक चिन्तन, धार्मिक क्रियाकलाप तथा यात्राको सम्भावना छ । गुरु वा ज्येष्ठ व्यक्तिहरूसँगको संवाद लाभदायक हुनेछ । भाग्य वृद्धि तथा नयाँ ज्ञान प्राप्तिको सम्भावना प्रबल रहन्छ ।
धनु : मानसिक अशान्ति, पारिवारिक गोप्यता वा स्वास्थ्यसँग सम्बन्धित विषयमा सचेत रहनुपर्ला । गहिरो अनुसन्धान, तपस्या वा आत्मचिन्तनमा समय दिनु उपयुक्त हुने छ । अनावश्यक वादविवादबाट जोगिनु श्रेयस्कर हुनेछ ।
मकर : साझेदारी, दाम्पत्य सम्बन्ध वा सार्वजनिक जीवनमा स्थिरता ल्याउने प्रयास सफल हुनेछ । व्यावहारिक दृष्टिकोण र भावनात्मक समझदारीद्वारा सम्बन्धहरू मजबुत पार्न सकिने दिन हो ।
कुम्भ : प्रतिस्पर्धा, रोग वा ऋणसम्बन्धी विषयहरूमा सफलता दिलाउने योग छ । आलोचकहरूको प्रभाव कम हुनेछ, कामप्रति लगाव र परिश्रमको प्रतिफल पाउन सकिनेछ । स्वास्थ्यप्रति ध्यान दिनु श्रेयस्कर हुनेछ ।
मीन : सन्तान सुख, शिक्षा तथा प्रेमसम्बन्धी विषयहरूमा ध्यान केन्द्रित हुनेछ । भावनात्मक निर्णयमा विवेक प्रयोग गर्न आवश्यक देखिन्छ । सिर्जनात्मक कार्य वा कलात्मक प्रयासमा सफलता प्राप्त हुनसक्छ ।