२०८२ मंसिर २७ गते शनिबार
२०८२ मंसिर २७ गते शनिबार

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकको पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको चर्चा सुरु भएको छ। वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ आउँदो २६ कात्तिकमा अनिवार्य अवकाशमा जाने भएकाले कार्की बलियो प्रत्याशीका रूपमा देखा परेका छन्।

मुख्यगरी बसन्त कुँवरसहित तीन जना अधिकारी खापुङको पालाबाट वरिष्ठताको आधारमा चर्चामा आएका थिए। राजनीतिक रूपमा संक्रमणकालीन अवस्थामा कार्कीले प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्तिका रूपमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। वरिष्ठताको क्रममा उनी पहिलो नम्बरमा रहेका कारण अबको एक महिनाभित्रै संगठनको नेतृत्वमा पुग्ने अपेक्षा गरिन्छ।

संगठनभित्र अत्यन्त रुचाइएका, व्यावसायिक र स्वच्छ छविका धनी एआईजी कार्कीले राजनीतिक विवादबाट सधैं आफूलाई टाढा राखेका छन्, जसले नेतृत्वमा पनि उनको राम्रो छवि निर्माण गरेको छ।

कार्कीले राजधानी काठमाडौं, प्रमुख पर्यटकीय नगरी पोखरा, कपिलवस्तु र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सफल कमाण्ड गरिसकेका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानमा संलग्न अधिकारीमध्ये एक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख हुँदा कार्कीले उक्त प्रकरणमा उच्च तहसम्मका व्यक्तिलाई कानुनी दायरामा ल्याएका थिए। संगठनमा व्यापक राजनीतीकरण र आन्तरिक गुटबन्दीले प्रहरीको छवि धुमिल भएको बेला कार्कीले यस अनुसन्धानमार्फत संगठनको साख जोगाएका थिए।

प्रहरीको केन्द्रीय प्रवक्ता तथा मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका कार्की ठूला जनसभा, आन्दोलन वा विपद् व्यवस्थापनजस्ता संवेदनशील अवस्थामा पनि आफ्नो चतुर निर्णय क्षमताका कारण संगठनभित्र निर्विवाद अधिकारीका रूपमा परिचित छन्। उदाहरणका लागि भदौ २४ गतेको जेनजी आन्दोलनको समयमा कार्कीको नेतृत्वमा सयौँ प्रहरीको ज्यान जोगिएको थियो।

त्यसैगरी, दशैँपछिको निरन्तर वर्षा र बाढी–पहिरोको विपद्मा कार्की फिल्डमै सक्रिय थिए। जेनजी विद्रोहका कारण प्रहरीको मनोबल खस्किरहेका बेला उनी आफैं छाता ओढेर फिल्डमा निस्किए र काठमाडौं उपत्यकाबासीलाई सुरक्षित राख्न रणनीति अवलम्बन गरे। यस कारण काठमाडौं उपत्यकामा जनधनको क्षति न्यून भयो।

जेनजी आन्दोलनको सन्दर्भमा अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले अनिवार्य अवकाश पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय भदौ १९ गतेदेखि प्रमुखबिहीन थियो। विकल्पमा नायब महानिरीक्षक ओम रानाले कमाण्ड सम्हालिरहेका थिए। भदौ २३ गते मन्त्रिपरिषद्को निर्णय अनुसार अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा खटाइएको थियो।

कार्कीले बल प्रयोगभन्दा पनि संवाद, तथ्य र रणनीतिक संयोजनमार्फत भीड नियन्त्रण र समस्याको समाधानमा ध्यान दिए। यसले काठमाडौं उपत्यकामा थप जनधनको क्षति हुनबाट जोगाएको छ। हालको अवस्थामा प्रहरीका भौतिक संरचना, लत्ता–कपडा र खाने गास जलेर नष्ट भए पनि नेपाल प्रहरी आफ्नो काममा जिम्मेवारीपूर्वक खटिरहेको देखिन्छ।

२०५४ चैत १८ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका कार्की अहिलेसम्म एकपटक पनि दसैंमा घर गएको छैनन्। यसले उनको सेवाप्रतिको कर्तव्यनिष्ठता प्रष्ट देखाउँछ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ मा जन्मेका कार्की बाल्यकालदेखि नै लगनशील र मेहनती थिए। विद्यालय जीवनमा जिज्ञासु र मेधावी विद्यार्थीका रूपमा चिनिएका उनी पढाइसँगै अतिरिक्त गतिविधिमा पनि सक्रिय थिए। सुरुमा कूटनीतिक सेवामा जाने सोच बनाए पनि पछि नेपाल प्रहरीको निरीक्षक पदमा नियुक्त भए। उनको ब्याचबाटै नेपाल प्रहरीमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुरु भएको हो।

संगीत क्षेत्रमा पनि विशेष रुचि राख्ने एआईजी कार्कीले हालसम्म तीन–चार वटा गीत बजारमा ल्याइसकेका छन्, जसमा पछिल्लो गीत प्रहरी संगठनसँग सम्बन्धित छ।

काठमाडौँ । नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

आइसिसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटबाट नेपाल टी–२० विश्वकपमा छनोट भएको हो ।

एसिया र इस्ट एसिया प्यासिफिक छनोटका दुई खेल अगाबै नेपाल विश्वकपमा छनोट भएको हो ।

आज भएको खेलमा युएईले सामोआलाई पारजित गरेसँगै नेपाल दुई खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो । नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

आजै भएको खेलमा कुवेतले जापानलाई हराएको थियो । त्यसपछि यूएईले सामोआलाई हराए नेपाल र ओमान विश्वकपमा छनोट हुने समिकरण बनेको थियो ।

युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनोट भएका हुन् । नेपाल र ओमान पनि आजै खेल्दै छन् ।

काठमाडौं- चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा संसद् विघटनविरुद्धका सबै रिट दर्ता भएका छन्।

सर्वोच्च अदालतमा मंगलबार पेस भएका नौ रिट बुधबार संवैधानिक इजलासमा दर्ता भएका हुन्। जेन–जी आन्दोलनमा दमन गर्नेमाथि कारबाहीको मागसहित परेको अर्को एक रिट पनि बुधबार दर्ता भएको छ।

जेन–जी आन्दोलनपछि सर्वोच्च अदालतले रिट तथा निवेदन दर्ता गर्न सुरु गरेको पहिलो दिन मंगलबार १४ रिट पेस भएका थिए। तीमध्ये १० वटा प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटनविरुद्ध तथा आन्दोलनका दमनकारीमाथि कारबाही माग गरिएकोसम्बन्धी छन्।

१० वटै रिटको पेसी कात्तिक १२ गतेलाई तोकिएको छ।

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौँमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो ।

उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद पुनर्स्थापनाको मुद्दामा असहमति जनाएको छ ।

सभामुख देवराज घिमिरेले बुधबार बोलाएको बैठकमा उपस्थित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ८ बुँदे सुझाव प्रस्तुत गर्दै संसद पुनर्स्थापनाको मुद्दामा नअल्झन आग्रह गरेका छन् ।

शाहीले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न उपयुक्त हुने सुझाव दिएका हुन् ।

प्रवक्ता शाहीले संसदलाई निरन्तरता दिने वा पुनस्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताए । शाहीले ८ बुँदे संरचनागत सुधारको खाका बैठकमा राखेका थिए ।

यस्तो छ शाहीले प्रस्तुत गरेका सुझाव

१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।

२) प्रदेश संरचना खारेज : राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने। संघीयतालाई केन्द्र र ’बलियो स्थानीय तह’ मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने ।

३) गैर दलीय स्थानीय तह : स्थानीय स्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैर दलीय ९दलगत राजनीतिमुक्त० स्थानीय तहको अवधारणा लागू गरिनुपर्ने ।

४) संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने ।

५) राष्ट्रिय एकता कायम गर्न देशमा राष्ट्रिय एकता सद्भावको वातावरण बनाउने ।

६) भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुनस् भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने ।

७) प्रतिनिधि सभा उम्मेदवारको उमेर हद घटाउने : १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको । प्रतिनिधि सभाको उम्मेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने ।

८) अनलाइन मतदान प्रणालीको व्यवस्था : विदेशमा रहेका करोडौँ नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाउनुपर्ने ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् ।

बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘देशमा अहिले अप्रत्याशित रुपमा प्रतिक्रान्ति भएको छ । देश अधोगतितिर धकेलिएको छ । हामीले अविलम्ब रोक्न सकेनौँ भने देश अझ अधोगतितिर जानेछ’ ओलीले भने, ‘हामी प्रहारको अरुभन्दा बढी निशानामा छौँ । हामीले नराम्रो काम गरेर, हाम्रा नीति नराम्रा भएर हामीमाथि प्रहार भएको होइन । राष्ट्रका निम्ति राम्रा काम गरेर बढी प्रहार भएको हो ।’

उनले लोकतन्त्र मन नपराउने, राष्ट्रियता मन नपराउने शक्तिहरू रहेको उल्लेख गर्दै एमालले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लिएको अडानका कारण आफूहरूमाथि प्रहार भएको जिकीर गरे ।

ओलीले एमाले सत्ताबाट हट्दैमा सधैँको लागि नहटेको जिकीर पनि गरे ।

‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’

सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।

आफ्नो पालामा देशको विकास र सार्वभौमिकता रक्षाको लागि राम्रा काम गरेको ओलीको दाबी छ ।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा केन्द्रीय कमिटीबैठक गरेको हो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि बिग्रिएको दाबी गरेका छन्।

बुधवारदेखि जारी एमालेको १०औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूलाई अझै सप्रिनुपर्छ भन्नेहरूलाई भनेका छन्, ‘ओली अझै सप्रिएन’ भन्छन् । केपी ओली बिग्रिएको भए पो सप्रिनु । सप्रिनलाई देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको मार्ग छोड्नुपर्ने हो भने, त्यो केपी ओलीले कहिल्यै छोड्दैन।’

उनले पार्टीभित्र छलफल नगरी बाहिर विरोधीको लहैलहैमा लागेर हल्ला फैलाउनेहरू नै सप्रिनुपर्ने बताएका छन्। साथै उनले वर्तमान सरकारलाई ‘अवैध’ भन्दै सुशीला कार्की नेतृत्वको सरकार आसन्न निर्वाचन गराउने दिशामा नरहेको आरोप लगाए।

‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ,’ओलीले भने, ‘चुनाव हुनेवाला छैन, सरकारले त्यसको तयारी गरेको छैन। यो अवैध सरकार हो।’

ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयास भएको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीशहरूमार्फत संसद् विघटनको योजनाबद्ध प्रयास भएको उल्लेख गर्दै संविधानको उल्लंघन भइरहेको जिकिर गरे।

‘असंवैधानिक ढङ्गले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैँले संसद् विघटन गर्नुभयो । यसले देखाउँछ– यो योजनाबद्ध प्रतिगमन हो,’ उनले भने ।

 
 
 
 
 
 
 

काठमाडौँ । सरकारले रु. तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भए पनि हुने व्यवस्था गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख)को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रूपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ ।

 

काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाभित्र पनि सोही व्यवस्था बमोजिम नै घरजग्गाको कारोबार हुने जनाइएको छ ।

घरजग्गाको कारोबार गर्ने क्षेत्रफल जतिसुकै भए पनि हुने र एक पटकमा रु. तीन करोडभन्दा माथिको कारोबार गर्दा अनुमति लिनुपर्ने भएको हो । त्यसका लागि भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई सम्बद्ध अधिकारी तोकिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सोमबार राजपत्रमा सूचना प्रकाशित भएको जानकारी दिए । यस्तै, मन्त्रालयले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र सो आदेश बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लामा गठन भएका समिति समेत खारेज गर्ने निर्णय भएको जानकारी दिए।

नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता छन् । उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए ।

काठमाडौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

 

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।

मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

 

आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।

सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो ।

इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो ।

परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।