२०८२ कार्तिक ४ गते मंगलवार
२०८२ कार्तिक ४ गते मंगलवार

नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेप्रति प्रश्न उठाएका छन्।

आइतबार सम्पादकहरूसँगको छलफलमा ओलीले आफू प्रधानमन्त्री हुँदा देउवामाथि भएको कुटपिटको औचित्यमा प्रश्न गरेका हुन्।

‘म प्रधानमन्त्री थिएँ, शेरबहादुर देउवा किन कुटिनुभयो? ८० वर्षको मान्छे कुटिनु शोभनीय कुरा हो?’ ओलीले भने, ‘त्यत्रो उमेरको व्यक्तिमाथि खुकुरी प्रहार गर्नेहरू यही समाजको सभ्यता सिकेकाहरू हुन्?’

ओलीले देउवाले कार्यवाहक प्रधानमन्त्री तोकेको विषयलाई लिएर आफूमाथि उठाइएका प्रश्नहरूप्रति पनि प्रतिक्रिया जनाए।

‘शेरबहादुर देउवाले कार्यवाहक दिनुभयो । उहाँ उपचारका लागि जानुभयो त कार्यवाहक दिनुहुन्न ? म कहीँ जाने भए भने नदिएर जान्छु होला ?’ ओलीले प्रतिप्रश्न गरे, ‘म यहीँ छु भने किन दिने कार्यवाहक ?’

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले ‘विशेष अपरेशन’ सञ्चालन गर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरूबारे समीक्षा भएको बताए।

बैठकले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई मुख्य जिम्मेवारी दिने निर्णय गरेको छ । गृहमन्त्रीका अनुसार निर्वाचनको तयारीसँग सम्बन्धित रणनीतिक योजनाहरू सिडिओमार्फत कार्यान्वयन गरिनेछ र अब प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुनेछ।

यसै गरी, आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरूलाई फिर्ता ल्याउन सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायहरूको संयुक्त गस्ती (जोइन्ट पेट्रोलिङ) गर्ने कुरालाई पनि अगाडि बढाइने गृहमन्त्रीले जानकारी दिए।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा समेत जोड दिएका छन्।

काठमाडौं । पूर्वसचिव डा.संगीता कौशल मिश्रसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी स्वास्थ्य मन्त्री नियुक्त हुने चर्चा थियो । सरकारमा सहभागी हुन सचिव पदबाट राजीनामा दिएकी उनै मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।

यसअघि सरकारले विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि असन्तुष्ट उनी विदामा बसेकी थिइन् । जेनजीको आन्दोलनपछिमात्रै उनी मन्त्रालय जान थालेकी हुन् ।

मन्त्री बन्ने चर्चा भएपछि नै आयोगले उनीमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको र मुद्दा दायर गर्ने जानकारी गराएपछि उनको नियुक्ति रोकिएको थियो ।

मिश्रसहित १४ जना विरुद्ध स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राफी मेसिनको खरिद प्रक्रियामा हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीहरु सबैजनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

डा.मिश्रवाहेक विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा.श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्र प्रसाद चौरासिया, निर्देशक डा.विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलक रामा ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पभ्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निर्देशक संजय कुमार साह, म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका प्रमुखको रुपमा काम गर्ने सुन्दर भुसालविरुद्ध मुद्दा दायर गरिएको हो ।

काठमाडौँ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

 

बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिए ।

उनका अनुसार ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरिएको उनले बताए ।

आज गरिएको उक्त निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास गरिएको महानिर्देशक अधिकारीले उल्लेख गरे । उनका अनुसार बैठकमा सहभागी वायुसेवा कम्पनीलाई उक्त निर्णयहरू आजैदेखि लागू गर्न निर्देशन दिइएको छ । सोहीअनुसार सम्बन्धित सबै आन्तरिक वायुसेवा कम्पनीले तत्काल निर्णय कार्यान्वयनमा लैजानुपर्ने प्राधिकरणले जनाएको छ ।

यस योजनाले ज्येष्ठ नागरिकको हवाई यात्रालाई सहज, सुलभ र किफायती बनाउने विश्वास प्राधिकरणले लिएको छ । विशेषगरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि यो निर्णय प्रभावकारी हुने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गरे ।

उनले भने ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ ।’

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार आइतबारसम्म कोषमा ६ करोड १० लाख रुपैयाँ जम्मा भइसकेको छ। सरकारले प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि उक्त कोष स्थापना गरेको हो।

सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघ संस्था तथा दातृ निकायलाई कोषमा योगदान गर्न आग्रह गरेको छ। साथै कोषमा दिइने आर्थिक सहयोग रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणनामा कट्टी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा खाता खोलिएको छ। कोषमा योगदान गर्ने व्यक्तिहरूको विवरण चाँडै सार्वजनिक गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ।

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समिति समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गर्दै उक्त कुरा बताएका हुन्।

कांग्रेस विधानअनुसार पदाधिकारीहरुको कार्यविभाजन भएको तर समयमै आआफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले औंल्याएका छन्।

‘निर्वाचन सम्पन्न गर्न पहिलो विषय नै क्रियाशिल सदस्यता नवीकरण, वितरण र व्यवस्थापन भएकाले आजसम्म उक्त कार्य सम्पन्न गर्न नसक्दा महाधिवेशन समयमै नहुनेहोकि भन्ने संसय पैदा भएको छ। त्यसैले अब महाधिवेशनको मिति तय गर्न ढिला गर्नु हुँदैन’, उनले भने।
सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रुपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा एथासक्य चाडो आउनु पर्ने उनले बताए।

यस्तै उनले कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन्। जेनजीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताएका हुन्।

‘हामी नेतृत्व लिन सक्षम छौं। कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौं। हामी कांग्रेसको शीष नेतृत्व सम्हाल्न सक्छौं। हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाक्न सक्ने क्षमता विस्तार गरिसकेका छौं,’ उनले भने।

त्यसका लागि कांग्रेसले जनतामाझ परीक्षण हुन बाँकि र सक्षम युवा नेताहरुलाई अवसर दिने बेला आएको र जेनजीहरुको माग पनि यही रहेको उनको धारणा छ। ‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरु, पूर्व र वर्तमान पदाधिकारीहरु, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरु र केपी शर्मा ओलीको नेतृत्वमा बसेकाहरुले एक पटक कुलिङमा बस्नुपर्छ,’ उनले भने।

कांग्रेसमा अवसरको न्योचित वितरण भएन भन्ने ठूलो असन्तुष्टि रहेकाले त्यसलाई पार्टीले सम्बोधन गर्न सक्नु पर्ने उनले बताए। ‘हामी ११ जना केन्द्रीय सदस्यले पहिले नै गठबन्धनको सरकार निर्माण गर्नु हुँदैन भनेर कांग्रेस बैठकमा फरक कुरा राखेका थियौं। माओवादीसँगको गठबन्धन लामो जान्छ भन्ने प्रस्ताव पदाधिकारी तहबाटै आएको थियो। तर, गठबन्धन लामो समय जान सकेन। यस्ता विषयको आकलन गर्न नसक्नु पनि नेतृत्वको कमजोरी हो,’ उनले भने। यस्ता परिस्थितिको नेतृत्वले बेलैमा आकल गर्न सक्नु पर्ने उनले बताए।

महरले देश र कांग्रेस बनाउने हुटहुटी नेतृत्वमा नपुगिकन कार्यान्वयन गर्न सहज नहुने भएकाले आफू त्यसका लागि सक्षम र तयार रहेको बताएका छन्। ‘म पार्टीभित्रको जुनसुकै जिम्मेवारीका लागि पनि तयार र सक्षम छु,’ उनले भने।

सुदूरपश्चिमका लागि तपाईं देउवाको अबको उत्तराधिकारी हो भन्ने पत्रकारको प्रश्नमा महरले भने, ‘म त्यसका लागि सक्षम छु। मैले आफु भन्दा सिनियर सबैको सहयोग र सदभाव पाउने अपेक्षा पनि गरेको छु। शिर्ष नेतृत्वको सम्मान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने क्षमता विस्तार हामीले गरिसकेका छौं।’

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

 

सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पा तथा दमौलीले चार/चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक/एक गरी ५० वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।

 

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको छ । ७३ वर्षीय साहको बिहान २ बजेतिर हत्या भएको हो ।

गाउँको पूर्वपट्टि रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात समूहले सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा गोलीका दुईवटा खोका फेला परेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको जानकारी दिए ।

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।

तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।

सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । ‘पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन’, तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए ।

बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।

पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । 

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ। यहाँ कागको ठूलो मूर्ति बनाइएको छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।