
यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला।
दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे। त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो। हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो।
जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण गर्यो।
इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल-हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ। विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो।
कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपिनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए। सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए।
विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो।
विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। भुजेल घाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेल घाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए।
राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टिसम्म सहभागी भयो। विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ।
शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।
सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक घाइतेलाई रु २० हजारका दरले वितरण गर्न सो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको गृह मन्त्रालयले जनाएको छ ।
प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेको वर्गीकरणका आधारमा उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत् रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो ।
हालसम्म स्वास्थ्य मन्त्रालयले दुई हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ । गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दुई हजार ८७६ परिचयपत्र पठाएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाट वितरण गरिएको छ ।
घाइते व्यक्तिको पुनः उपचारका लागि अस्पतालहरू तोकी ती अस्पतालमा जेन–जी क्लिनिक सञ्चालनमा ल्याइएको छ । यसरी पुनः उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।
घाइतेको उपचारकै लागि स्वास्थ्य मन्त्रालयले ‘हटलाइन’को व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्तिसमेत तोकिदिएको छ । घाइतेको अवस्थाका आधारमा वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन गरिँदै छ । यस समितिमा घाइतेका प्रतिनिधि पनि सामेल हुनेछन् ।
सरकारले जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार गरिरहेको छ । अहिलेसम्म रु एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटासहितको टोलीलाई बोलाएर घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए।
मन्त्रिपरिषद्को गत भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । घाइतेलाई दीर्घकालीन पुनस्र्थापनाका विषयमा पनि सरकारी निकायबीच छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
मृतक ५३ परिवारलाई पठाइयो राहत
गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ५३ परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च पठाएको छ । तीमध्ये ४९ जनाका परिवारले प्राप्त गरिसकेको र चार जनाका परिवारलाई बुझाउने प्रक्रिया अघि बढेको छ । सहिदका आफन्तबीच सहमति कायम गरी बाँकी चार जनालाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ ।
गत भदौ ३० कै मन्त्रिपरिषद् बैठकले मृतक नेपाली नागरिकका परिवारलाई रु १० लाख आर्थिक सहायता र पाँच लाख रुपैयाँका दरले काजकिरिया तथा अन्य खर्चका लागि वितरण गर्ने निर्णय गरेको छ । आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो रकम वितरण गरिने छैन ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । जसमा नेपाल प्रहरी तीनसहित पहिचान खुलेका नागरिक ५३ जना छन् । १२ जनाको अझै पहिचान खुल्न सकेको छैन । कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जना कैदीको मृत्यु भएको थियो । एक जना विदेशीको पनि ज्यान गएको थियो ।
सहिद घोषणा प्रयोजनका लागि मृतकहरुको पुष्टयाइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण संकलन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न सरकारले न्यायिक आयोग गठन गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले तीव्रताका साथ काम अघि बढाएको जनाएको छ ।
काठमाडौँ। इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौँ ल्याइपुर्याइएको थियो । काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
राति अबेर घरमा शव ल्याइपुर्याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरू गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।
तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरूको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।
जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।
काठमाडौं : मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका निर्वाचन आयोगले जनाएको छ ।
अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ ।
निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।
सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो ।
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि नयाँ निर्वाचनको घोषणा गरिएको छ । नयाँ निर्वाचनको घोषणा हुँदै गर्दा ठूलो संख्यामा युवाको नाम मतदाता नामावलीमा नरहेको आकलन गरेर कानुनमा संशोधन गरेर विशेष व्यवस्था गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जामन्त्री बनेपछि आफ्नो अभियान कार्यान्वयन गरेका हुन् ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर महशुल तिर्न आनाकानी गर्दै आएका ६ वटा उद्योगको लाइन प्राधिकरणले मंगलबार बिहानै काटेको छ ।
प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ।
जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ छ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए।
उनले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने बताए।
जेनजी आन्दोलनपछि बनेको सरकारमा ऊर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले आफ्नो पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने गरेका थिए ।
यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा देवमणि भट्टराईका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो ।
यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।
इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।
त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
दुई वर्षअघिसुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।
तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा इमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययन वा कामलाई प्रविधिको प्रयोगबाट सहज बनाउन सकिनेछ । खानपान, यात्रा, तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । परिवारका साथ खानपान, यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले चाडबाड लक्षित सामानको व्यापारमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा स्वादिष्ट भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोल बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित र चाडबाड लक्षित सामानको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । चाडबाड लक्षित सामानको लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । परिवारका साथ यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । तर पनि विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । परिवारमा साथ खानपान, मनोरञ्जन तथा किनमेलमा केही समय खर्च हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । औषधीजन्य, दैनिक उपभोग्य सामान तथा चाडबाड लक्षित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।