२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

दोलखा– गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै यकिन हुनसकेको छैन ।

आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनले भने,‘सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ ।’

त्यस्तै उनले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको पनि जानकारी दिए ।

काठमाडौँ । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा दुई उद्योगले विद्युत् नियमन आयोगमा उजुरी दिएका छन् ।

पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले बक्यौता रकमको ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा उजुरी दिएका हुन् ।

बक्यौता विवादमा नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न खोजेको र विद्युत् लाइन काटेकाले त्यो कार्य रोकी पाउँ भन्दै पञ्चकन्या समूहका दुई उद्योगले निवेदन दिएको आयोगले जनाएको छ ।

प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई उपत्यका बाहिर जान नदिने व्यवस्था मिलाउन भनेको हो ।

आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भएकाले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाएको जनाइएको छ ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान लिने कार्य सुरु गरेको छ । पहिलो दिन आयोगले नख्खु कारागारका जेलरसँग सोधपुछ गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहारमा २२ जनाको ज्यान गएको थियो । त्यसपछिका दिनहरूमा देशभर प्रदर्शन र आगजनी भएका थिए ।

काठमाडौं । नेपालमा सन् २०२५ को पहिलो १० महिनामा ९ लाख ४३ हजार ७१६ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार नेपाल आउने पर्यटक अक्टोबरमा मात्रै १ लाख २८ हजार ४४३ जना छन् ।

अक्टोबरमा नेपाल आएका पर्यटकमा १७ हजार भारतीय, १३ हजार अमेरिकी, ८ हजार बेलायती, ६ हजार चिनियाँ, ६ हजार नै जर्मनीका पर्यटक छन् ।

सन् २०२५ मा नेपाल आउनेमा उत्कृष्ट १० गन्तव्यमा भारतीय २ लाख ४३ हजार, अमेरिकी ९३ हजार, चिनियाँ ७८ हजार, बेलायती ४२ हजार छन् ।

बंगलादेशी ४५ हजार, अस्ट्रेलियन ३८ हजार, श्रीलंकन ३२ हजार, जर्मनी २४ हजार, थाइल्यान्डका ११ हजार र उत्तर कोरियाका १९ हजार पर्यटक पछिल्लो १० महिनामा नेपाल आएका छन् ।

नेकपा एमालेले एघारौं महाधिवेशनमा १० लाख संगठित सदस्य पुर्‍याउने संकल्प गरे पनि करिब ७० प्रतिशत लक्ष्य मात्रै हासिल  गरेको छ। अहिले एमालेको संगठित सदस्य लक्ष्यभन्दा ३० प्रतिशत कम देखिएको छ। चार वर्षअघि चितवन सम्पन्न दसौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा एमालेमा आठ लाख बढी संगठित सदस्य थिए।

चार वर्षमा एक लाख ३० हजार कार्यकर्ताले पार्टी सदस्यता नवीकरण नगरेको पाइएको छ। अहिले एमालेमा ६ लाख ६७ हजार ६ सय ३० संगठित सदस्य छन् । अहिले यही संख्यालाई आधार मानेर एघारौं महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोट हुँदै छ। दुई वर्षअघि एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा पार्टी रहेको उल्लेख गरेका थिए। अधिकारीले पार्टी सदस्यता घटेको नभएर विगतको त्रुटि सच्याउने काम भएको भन्दै १० लाख पुर्‍याएर मात्र महाधिवेशनमा जाने बताएका थिए।

‘दसौं महाधिवेशनताकाको त्रुटिलाई सच्याउन खोजिएको छ। त्यतिबेला कायम सदस्यहरूमा एकातिर नेकपा एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् थियो भने अर्कातिर नेकपाकालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठुलो संख्या पनि त्यसमा पर्न गयो,’ अधिकारीले त्यतिबेला जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

दसौं महाधिवेशनमा एमालेले पार्टी सदस्य आठ लाख पुगेको जनाएको थियो तर त्यो संख्या वास्तविक नरहेको प्रस्ट्याउँदै एमालेले आगामी महाधिवेशनमा सदस्यता बढाउने संकल्प गरेको थियो। ‘यसअघि एउटा महाधिवेशन भएपछि अर्को महाधिवेशनमा मात्रै सदस्यता नवीकरण गरिन्थ्यो। त्यसो गर्दा निष्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे,’ वक्तव्यमा भनिएको थियो, ‘नेतृत्वका आकांक्षीहरूले कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराउनेजस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो।’

संगठन विभागबाट त्यो वक्तव्य जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि ११औं महाधिवेशनमा १० लाख सदस्य पुर्‍याउने भन्दै पटकपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अघिल्लो पटक माओवादी केन्द्रदेखि विभिन्न समूहहरू राखिएका कारण संगठित सदस्यको संख्या आठ लाख पुगेको बताए।

उनले विगतको भन्दा अहिले सदस्य संख्या बढेको जिकिर गरे। ‘२०८१ सालमा पाँच लाख दुई हजार थियो, अहिले ६ लाख ६७ हजार पुगेको छ। यो घटेको होइन, बढेको हो,’ उनले भने, ‘लक्ष्य अहिले पनि १० लाख पुर्‍याउने नै छ। त्यसका लागि हामी लागेका छौं।’

तर यतिबेला मंसिरमा एघारौं महाधिवेशन गर्न तम्सेको एमालेमा संगठित सदस्यता लिनेको संख्या घटिसकेको छ। संगठित सदस्यताको संख्यालाई आधार मानेर प्रतिनिधि छनोट हुने गरी एमालेले क्षेत्र विभाजन गरेको छ। जसअनुसार प्रदेश कमिटीबाट ४५ जना, संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट नौ सय ७० जना, विशेष जिल्लाबाट ४७ जना, दलितबाट ८१ जना, ट्रेड युनियनबाट ४९ जना, प्रवासबाट ३० जना, केन्द्रीय विभाग र कार्यालयबाट ३३ जना, जनसंगठनबाट एक सय २७ जना, कुल प्रतिनिधि संख्याको ५ प्रतिशत मनोनीत र पदेन संख्यासहित करिब २१ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ ।

 

विभागले विज्ञप्ति जारी गर्दै आइतबार साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जानकारी दिएको हो । विद्युतीय राहदानी आपूर्तिका लागि विभागले नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको छ ।

उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको बताइएको छ ।

 

नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।

 

उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ ।

राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।

मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

वृष : दिन सामान्य छ । साना कुराले झन्झट थपिनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन् । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ ।

मिथुन : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ । बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ । धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ । विपक्षीले पनि प्रशंसा गर्नेछन्।

तुला : दिन सामान्य छ । विरोधी साथीसँग सचेत बन्नुपर्नेछ । परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ । पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह थपिने छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा हरेक कुरामा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ । हरेक क्रियाकलापमा अवरोध हुनसक्छ । काम गर्दा अग्रजको सुझाव लिनुपर्ने समय छ । औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । विपक्षी भनेका साथीको साथ मिल्नेछ । शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ ।

कुम्भ : दिन राम्रो छ । बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ । स्वास्थ्यको उपचार हुनेछ । शिक्षाका क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ ।

मीन : दिन राम्रो छ । संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ । औषधी नियमित गर्नुपर्ने दिन छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।