२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन् ।

 

अध्यक्ष ओलीले संविधानअनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिएपनि सडक प्रदर्शनमा उत्रन सचेत गराएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिएपनि केही फरक नपर्ने जिकिर गरे ।

 

अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरूले सक्ने भएपनि स्वीकृति नभएपनि नडराई प्रदर्शनमा उत्रनुपर्ने बताए । उनले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताए ।

अध्यक्ष ओलीले भने, ‘युवाहरूले सरकारलाई यो कुरा भन्न लजाउनु पनि पर्दैन, डराउनुपनि पर्दैन । धक मान्नु पनि पर्दैन खुलेर भन्नुस्–शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो । हामी नाजायज विरोध गर्दैनौं । जायज विरोध हाम्रो अधिकार हो भन्नुस् । र प्रदर्शनमा जानकारी दिनुहोस् । प्रशासनलाई जानकारी दिनुहोस् । हामीलाई लुकेर गर्नु छैन । जानकारी दिनुस् । अहिले पनि हामी यसरी गर्दै छौ स्वीकृति दिनुस् भनेर भन्नुस् । स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडक उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन । सिडियोको आदेशले संविधान काट्दैन । के भएर बन्नुभयो प्रधानमन्त्री ? संविधानले त दिँदैन । प्रधानमन्त्री पनि असंवैधानिक, सिडियोका कुरा पनि असंवैधानिक । मन्त्रीका कुरा पनि असंवैधानिक । यस्तो हुनु हुँदैन ।’

अध्यक्ष ओलीले सरकारले जेन–जी आन्दोलनका अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट नहटाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले सार्वजनिक निकायका पदाधिकारीहरूलाई करारमा स्वकीय सचिव दिने व्यवस्था हटाएपछि आयोगले ती कर्मचारीलाई पदमुक्त गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्मका लागि करार अवधि रहेका कर्मचारीलाई यथास्थानमा राख्न आदेश दिएको हो ।

अदालतले सरकारको निर्णयले करार कर्मचारीको अधिकार प्रभावित हुन सक्ने देखिएकाले अन्तिम टुंगो नलागेसम्म उनीहरूलाई पदबाट नहटाउन निर्देशन दिएको हो ।

यसअघि सरकारले विभिन्न आयोग र निकायमा स्वकीय सचिवका रूपमा कार्यरत करार कर्मचारीहरूको पद खारेज गर्ने निर्णय गरेको थियो, जसको विरोधमा प्रभावितहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

काठमाडौँ- नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवन भत्काउने क्रममा संरचना खस्दा तीन जना मजदुर ग्म्भीर घाइते भएका हुन्। भवन भत्काउने क्रममा थिचिएका मजदुरलाई प्रहरीलगायत स्थानीयवासीले उद्धार गरेका थिए।

उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत गर्ने क्रममा भत्काउनका लागि १७ जना मजदुर खटिएका थिए।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।

काठमाडौं । संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको सरकार गठन र संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो ।

सो निष्कर्षका आधारमा प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित न्यायालयमा जाने तयारी स्वरूप हस्ताक्षर अभियान सुरु गरिएको कांग्रेस स्रोतले जनायो ।

यता, कांग्रेसका निवर्तमान सांसद श्यामकुमार घिमिरेले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । तर, अहिले नै संसद् पुनस्र्थापनाका लागि पहल गर्ने भन्ने विषयमा अन्तिम निर्णय नभएको बताए ।

‘नेपाली कांग्रेसले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरिसकेको छ । त्यसैले त्यसको विरोधमा न्यायालयको ढोका ढकढक्याउन हामीले हस्ताक्षर अभियान थालेका हौं’ उनले भने ।

उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले संकलन गरेको हस्ताक्षर सूची पार्टी नेतृत्वलाई बुझाइनेछ । ‘हामीले यो सिग्नेचर पार्टीमा बुझाउनेछौं,’ उनले भने, ‘निर्णय पार्टीले एकताबद्ध भएर गरोस् भन्ने हाम्रो आग्रह हो ।’

यसअघि प्रमुख विपक्षी दल नेकपा (एमाले) ले पनि संसद् पुनस्र्थापनाको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

संसद् पुनस्र्थापनाका लागि हालसम्म सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् । तीमाथि प्रारम्भिक सुनुवाइ भई कारण देखाउ आदेश जारी भइसकेको छ ।

प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको थियो । त्यसअघि २३ र २४ भदौमा व्यापक जनआन्दोलन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

ओलीको राजीनामापछि नयाँ सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

काठमाडौं । २३ र २४ भदौको जेनजी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ । हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको हो ।

 

फ्रन्टको केन्द्रीय विभागीय जनसम्पर्क समिति सदस्यमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिमा संविधान प्रसाईले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, प्रदेशस्तरीय सम्पर्क व्यक्ति क्रमशः कोशी प्रदेशमा रोहन दंगाल, मधेशमा मो. नजरे आलम, बागमतीमा सचिन चापागाईं, गण्डकीमा साबिज मिया, लुम्बिनीमा सौरभ न्यौपाने, कर्णालीमा बिनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन बिष्ट तोकिएका छन् ।

 

फ्रन्टले सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताको विरुद्धमा अभियान सञ्चालन गरिरहेको पनि जनाएको छ । यसमार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने बताइएको छ ।

दाङ । दाङको गढवा गाउँपालिका-४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा-४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा-४ रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो ।

प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शव परीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले ‘पोस्टमार्टम रिपोर्ट’ आएपछि थप कुरा प्रस्ट हुने उल्लेख गरे । उनले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिए । 

काठमाडौँ । एकीकृत समाजवादीले घनश्याम भुसाललाई संयोजक तोकेको छ । 

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजक तोकेको हो।

 

अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए।

बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ। यसैगरी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।