
काठमाडौँ । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् ।
नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट) का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ‘ग्लोबल र्याङ्किङ’मा ३१ जना नेपाली वैज्ञानिकहरु समावेश भएका हुन् ।
‘स्ट्यानफोर्ड युनिभर्सिटीले हरेक वर्ष यस्तो सुची तयार गर्छ, अध्ययन अनुसन्धानका आधारमा उहाँहरुले प्रकाशन गर्नुभएको पुस्तक र ‘साइटेशन’ का आधारमा यो तयार गर्छ, सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरुको सूचीमा उहाँहरु पर्नुभएको हो ।’ सचिव ढकालले भने ।
उनकाअनुसार नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीले सार्वजनिक गरेको सूची अनुसार त्रिभुवन विश्वविद्यालयका सातजना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का दुई/दुई जना वैज्ञानिकहरु समावेश छन् ।
जसमा त्रिभुवन विश्वविलालयका अजय भट्टराई, रमेशप्रसाद अधिकारी, भीष्म कार्की, नीरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह छन् ।
त्यसैगरी बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल तथा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अरूणभक्त श्रेष्ठ र फिलिप वेस्टर शीर्ष वैज्ञानिकहरूको सूचीमा समावेश छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा नीरञ्जन कोइराला पनि सूचीमा छन् ।
काठमाडौँं इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाटको नाम सो सूचीमा उल्लेख छ ।
ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेशन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्ट्च्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा त्रिविका हरि (थर उल्लेख नभएको) छन् ।
सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झाको नाम पनि समावेश छ । त्यसैगरी ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल, काठमाडौंँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवाल छन् ।
बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया छन् ।
सो सूचीमा नेपालका वैज्ञानिकहरु समावेश हुनुले अन्तरराष्ट्रियस्तरमा नेपालका वैज्ञानिकहरुको क्षमताको उत्कृष्ट मूल्याङ्कन भएको नाष्टका सचिव ढकालले बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल चुनाव जित्नको लागि मात्रै आफूहरूले एकता नगरेको बताएका छन्।
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर भएको जिकिर गरे।
उनले भने, ‘इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ। त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन।’
जेन जेड आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन् ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गरे ।
आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरूलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।
‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘होस् हवास गुमेको हुनुपर्छ । होस् गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईँहरूले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रस्ताव पास गर्नुस् । धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’
उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ।

करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पुल शिलान्यास स्थलमा बिहानैदेखि नै स्थानीय बासिन्दाहरूको भीड लाग्नुका साथै उत्साह, उमङ्ग र हर्षोल्लासको वातावरण देखिन्थ्यो।

स्थानीयका अनुसार गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो। वर्षायाममा आवत–जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो। “हामीले यो पुलका लागि वर्षौँदेखि माग गर्दै आएका थियौं, आज त्यो सपना पुरा हुँदैछ,” स्थानीयले खुसी व्यक्त गरे।

पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ। पुल बनेपछि करिब हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्।

राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले खुलेर व्यक्त गरे।

सो अवसरमा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए भने प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु गर्ने बताइन्।

आफ्नै आँखै अगाडि प्रतीक्षित संरचना निर्माणको शुरुवात देख्न पाएका स्थानीयहरू खुसी र आशावादी देखिन्थे। नौमती बाजाको सुरिलो धुन र फूलमालाको स्वागतबीच सम्पन्न कार्यक्रमले आज पथरीशनिश्चरेमा विकासको नयाँ आशा फेरि एकपटक प्रबल रूपमा गुञ्जियो।
काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईँको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ ।
सरकार र प्रसाईँ समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले जानकारी दिए ।
प्रसाईँ समूहले नेपालको संविधान खारेज गरी हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, लघुवित्त र सहकारीको २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गर्नुपर्ने, देशमा नै रोजगारी सिर्जना गर्नुपर्ने, विदेशबाट फिर्ता भएका युवाहरूलाई ३ प्रतिशत सहुलियत व्याजमा ३० लाख रुपैयाँसम्मको विनाधितो प्रोजेक्ट ऋण उपलब्ध गराउनुपर्ने, कृषि ऋण २ प्रतिशत व्याजमा उपलब्ध गराउनुपर्ने, बैंकको कालोसूचीमा रहेका ६ लाख नेपालीको नाम हटाउनुपर्ने, प्लस टु भन्दा माथिको उच्च शिक्षाको लागि विदेश जान बन्द गरी नेपालमा नै पढाउने व्यवस्था गर्नुपर्ने, निजामती, कर्मचारी, शिक्षक, सेना प्रहरीको मासिक तलब १ लाख रुपैयाँ पुर्याउनुपर्ने, नेपालमा एनजिओ, आईएनजिओ खारेज गर्ने लगायतका माग राखेको छ । गृहमन्त्री ओम प्रकाश अर्यालले सरकारले आफ्नाहरूका मागलाई विशेष ध्यान दिएर अगाडी बढ्ने आवश्वासन दिएको प्रवक्ता कल्पितले बताए ।
उनले सरकारसँग वार्ता पनि जारी राख्ने र आन्दोलन पनि जारी रहने जानकारी दिए । प्रसाईँ समूहले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलन अगाडी नै आफूहरूको माग सरकारले पूरा गरेमा भने आन्दोलन नगर्ने प्रवक्ता कल्पितले जानकारी दिए । सरकारसँगको वार्तामा प्रसाईँ भने सहभागी भएनन् । प्रसाईँको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी थिए ।
काठमाडौँ। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच ७ बुँदे सहमति भएको छ ।
घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारीबारे आपसी सहमतिमा गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरु सहमतिमा नै तयार पार्ने पत्रमा उल्लेख छ ।

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानमा युवा वर्गको उत्साहजनक सहभागिता देखिएको छ । अभियान सुरु भएयता हालसम्म २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएका छन्, जसमध्ये १ लाख २२ हजार ७४० जना पुरुष, ८६ हजार ७८५ जना महिला र २७ जना अन्य रहेका छन् ।
विशेषगरी ‘जेनजी’ समूहलाई लक्षित गरी असोज ९ गतेदेखि सुरु भएको यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ । आयोगका अनुसार १८ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाका दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ताको व्यवस्था मिलाइएको छ ।
मतदाता नामावली दर्ता स्थलहरूमा सेवाग्राहीको अत्यधिक चापलाई दृष्टिगत गर्दै आयोगले सेवा प्रवाहलाई थप सहज बनाउन विशेष व्यवस्था गरेको छ । दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अब ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा सञ्चालन हुनेछ ।
यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन गृह मन्त्रालयमा पत्राचार गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
नयाँ मतदाता दर्तासँगै विवाह भई अन्यत्र गएका वा बसाइँसराइ गरेका मतदाताहरूले पनि आफ्नो नाम ठाउँसारी गर्न सक्नेछन् । साथै, मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा कुनै त्रुटि भएमा सच्याउने अवसर पनि आयोगले प्रदान गरेको छ ।
काठमाडौँ । मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।
सोमबारबाट आन्दोलनरत रहेका प्रदेशका सात दलले आज पनि धर्ना, विरोध, नाराबाजी शुरु गरेको हो ।
मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।
मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।
वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।
मिथुन : दिन राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ ।
कर्कट : दिन सहज छ । आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।
सिंह : हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
कन्या : दिन राम्रो छ । संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ ।
तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।
वृश्चिक : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।
धनु : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ ।
कुम्भ : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्र्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।
मीन : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।




