काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले पशुपतिनाथ क्षेत्रमा बस्दै आएका ८४ वर्षीय साधु मनोहर गिरीको उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरेका छन्।
करिब ५२ वर्षदेखि पशुपतिमा बस्दै आएका गिरीको स्वास्थ्य समस्या देखिएपछि शर्मा आफैं एम्बुलेन्ससहित पशुपतिनाथ परिसर पुगेका थिए। गिरीको प्रोस्टेटको अपरेशन गर्नुपर्ने बताइएको छ ।

उद्धारपछि डा. शर्माले गिरीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारका लागि लगेका छन्।
शर्माले अस्पतालले समाजका अति विपन्न, सहयोगविहीन तथा कठिन अवस्थामा परेकाहरूका लागि सधैं तत्पर भएर सेवा प्रदान गर्ने बताए।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण तयार भइसकेको बताएका छन्।
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रतिनिधिसभा निर्वाचनका लागि सबै राजनीतिक दल तयार भइसकेको र सरकारले आवश्यक तयारी पूरा गरिरहेकाले अब निर्वाचनप्रति आशङ्का नराख्न आग्रह गरे। उनका अनुसार निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेका कारण प्रक्रिया सहज रूपमा अघि बढ्ने वातावरण बनेको छ।
मन्त्री खरेलले मतदाता नामावली सङ्कलनको अवस्थाले जनता पनि निर्वाचनका लागि सक्रिय भइसकेको देखिएको उल्लेख गरे। सुरक्षा रणनीति तयार भएको भन्दै उनले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा निर्माण भएकाले प्रधानमन्त्रीले जेनजी युवालाई प्राथमिकतामा राखेको बताए। सोमबार व्यस्तताका कारण प्रधानमन्त्रीले जेनजी युवासँग सिंहदरबारमा भेट गर्न नसकेको उनको भनाइ थियो । उनले जेनजीलाई कुनै प्रकारको बेवास्ता नगरिने स्पष्ट पारे।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराए । साथै मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका पूर्वाधार विकाससम्बन्धी विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा ‘मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति’ गठन गर्ने निर्णय भएको पनि उनले बताए।
काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको तयारीबीच उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिलाएरै छाड्ने बताएका छन् ।
उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने स्पष्ट प्रतिबद्धता जनाएका हुन्।
सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको दाबी गरेका छन् ।
भण्डारीले चार दशकभन्दा बढी समय पार्टी निर्माणमा दिएको योगदानलाई सम्मान गर्नुपर्ने पनि बताएका छन् । ‘अब उहाँलाई पार्टीमा फर्कने वातावरण बनाउनु नेतृत्वको जिम्मेवारी हो’, उनले भने, ‘यसबारेमा पार्टीमा निर्णय गराएरै छाड्ने कुरामा म प्रतिबद्ध छु ।’
पोखरेलले पार्टीलाई वैचारिक रूपमा सुदृढ, संगठनात्मक रूपमा एकताबद्ध र नेतृत्व हस्तान्तरणको संस्कृतिले चलायमान बनाउने लक्ष्य पनि लिएका छन् । उनले महाधिवेशनमा अध्यक्षका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अब केपी शर्मा ओलीसँग भिडन्त हुने भएको छ।
पोखरेलले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको परिस्थितिमा एमालेले संविधान, लोकतन्त्र र संगठन सुदृढीकरणमा निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौं हुँदैछ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्त्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए।
उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ। एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ। नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत्ति हाबी हुनेछ। ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ। साथै विचार, सिद्धान्त, रणनीति र कार्यक्रमले मात्रै होइन समाजवादको उद्देश्यले पनि एकताबद्ध होऔँ। नेपाली जनताको आशाको केन्द्रको रूपमा यो पार्टीलाई कसरी बढाउन सकिन्छ भन्ने सन्देश पनि दिने हो।’
यस्तै, उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए।
‘नयाँ पार्टी बनेको छ। हामी पुरानो पार्टीबाट मुक्त हुनुपर्छ। यसमा प्रशिक्षणको पनि आवश्यकता छ। पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। संगठन मेरो वा अर्को संगठन अरूको भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ। अब एउटै जसरी पार्टी भएको छौ त्यसैगरी सबै जनसंगठनलाई पनि एकताबद्ध गराउनु पर्नेछ।’
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रूपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु ।’
उनले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन-जीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ ।
एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरूले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।
आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।
रौतहट। मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको छ ।
विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा उल्लेख छ।प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागू हुने उनले जानकारी दिए।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि मधेश प्रदेश सहित देशभरी नै मनाइँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।
यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
यता, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।
अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ । समान दुई अंक भएका काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा छन् ।
जनकपुर र पोखराले भने दुई खेल खेल्दासमेत अंक जोड्न सकेका छैनन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।