
विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भयो ।
विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि टिमको हार टार्न पर्याप्त भएन । डे लाङ र प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।
यस्तै साम हिजलेटले २२ रन जोडे । विराटनगरका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विराटनगरलाई अलआउट गर्न चितवनका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजन एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।
यस्तै कमल सिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शुभम रन्जानले एक विकेट लिएका थिए ।
सुरुवाती लगातार तीन खेल जित्दै सानदार सुरुवात गरेको विराटनगरको पहिलो हारपछि ४ खेलबाट ६ अंक छ । चितवनले दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको छ ।
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको‘ हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।
अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को ‘उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिन्हमा चुनाव लड्ने भएका हुन् ।
कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइट’ चुनाव चिन्ह निर्वाचन आयोगबाट लिएका थिए ।
तर प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि साझा चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरु मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको बताए ।
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।
जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।
बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुनेगरी खारेज गरेको स्रोतले बताएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीले २६ जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो ।
जेनजीहरूसमेतको दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय संख्या घटाएकी हुन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन थपेको छ। राजनीतिक दल दर्ताका लागि चार दिन थप गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
दल दर्ताको समय आज सकिँदै थियो। आयोगले समय थप गरेसँगै अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ।
मधेश प्रदेश सरकारले बेरोजगार युवालाई लाई मासिक २ हजार भत्ता दिने भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने बताए । बेराजगार भत्ता वितरणको प्रक्रिया अगाडि बढाएको उनको भनाई छ ।
‘प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।
उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।
यस्तै, खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने मुुख्यमन्त्रीले बताए ।
उनले भने, ‘किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’
यसै वर्ष लामो समय खडेरीको मारमा परेका मधेश प्रदेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए । मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका जिल्लाहरुलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।
यसरी किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।
काठमाडौं– नेकपा एमालेको महाधिवेशनको उद्घाटनस्थल सरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भनिएको ११औँ महाधिवेशन अब भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने भएको छ ।
महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय गरिएको एमाले नेता डा. भिष्म अधिकारीले जानकारी दिए।
महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको हो ।
एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ। महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय भएको अधिकारीले बताए।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए।
महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्ने टुंगो यसअघि नै लागेको थियो।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको विरोधमा नोभेम्बर ३० सम्म देशव्यापी आन्दोलन र ‘प्रतिरोध मार्च’ गर्ने भएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले उक्त घोषणा गरेको हो ।
नोभेम्बर १७ मा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिनालाई तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमलसँगै मानवता विरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिना हाल भारतमा छिन्, गृहमन्त्री कमल पनि देशमै लुकेर बसेको विश्वास गरिन्छ ।
आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ ।
पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउनेछन् ।
आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूका लागि मङ्सिर १० गतेसम्म दर्ता गर्न समयसीमा निर्धारण गरेको थियो ।
आयोगका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो ।
आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मङ्गलवारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।





