
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । सरकार, निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ।
आजै मात्र प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, आयोगसहितसँग सर्वपक्षीय छलफल आयोजना गरेकी छिन भने आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि विकसित घटनाक्रममा भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई प्रतिनिधि सभाको विघटन भएको थियो । सरकारले निर्वाचन सम्पन्न गर्ने कामलाई एक मुख्य कार्यभारका रूपमा लिएको छ ।
यसअघि गत मङ्सिर १४ गतेसम्ममा निर्वाचनमा भाग लिने एक सय २० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् । यही मङ्सिर १ गतेदेखि १० गतेसम्मका लागि निवेदन दिने समय दिइएकामा नयाँ दल सरोकारवालाको सुझावका आधारमा चार दिन समय थप गरी उक्त सङ्ख्याका दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् ।
निर्वाचनको वातावरण तयार भई नसकेको र संसद् पुनः स्थापनाको माग गर्दै आएको दल नेकपा (एमाले) लगायत प्रमुख दल र नयाँ दलले आयोगमा निवेदन दिएका छन् । आयोगले सो अघि खुला गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आठ लाख नयाँ मतदाता थपिएका छन् । ती नयाँ मतदाताको आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ ।
निर्वाचनका लागि आयोगले करिब रु. सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत सुनिश्चित गरिसकेको छ भने सरकार र आयोगको परामर्शमा एकीकृत निर्वाचन सुरक्षा योजना लागू भइसकेको छ । आयोगले निर्वाचनका लागि आवश्यक सामग्री र उपकरण खरिद प्रारम्भ गरिसकेको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षण गर्ने संस्थाहरूलाई आवेदन माग गरेको छ । निर्वाचनमा विदेशमा रहेका मतदाताको मताधिकार र अन्तर जिल्ला मतदानबारे अध्यादेशबाट कानुन संशोधनको कार्य निर्णय हुन बाँकी रहेको छ ।
आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिवारदेखि सुरु हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको छ ।
आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।
आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको तयारी पनि गरिरहेको छ ।
आयोगले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी सुझाव मागेको छ भने सुझाव समेटेर आगामी माघको पहिलो साता जारी गर्ने तयारी गरेको छ । आयोग र सरकारबीच मतदान स्थल र केन्द्रका पुनः मूल्याङ्कनपछि म्यादी प्रहरी (निर्वाचन सुरक्षा प्रहरी) को भर्ना प्रक्रिया सुरु गर्ने तयारी भएको छ । यी तयारीसँगै आयोगले मतदाता शिक्षा, सूचना सम्प्रेषण, प्रेस अफिस तथा मल सेन्टरको सञ्चालनलगायतका काम गर्नेछ ।
काठमाडौ – मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।
सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री यादवको शपथ शनिबार बिहान हुने प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।
शुक्रबार अपरान्ह सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ।
यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।
प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।
काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो।
लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन्। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन्।
आजको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टाएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन हिर्काएका छन्। बलिङमा जनकपुरका सङ्गीथ कुरेले तीन विकेट लिए।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको थियो।
जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरेका छन्। लुम्बिनीका कप्तान पौडेल र शेर मल्लले समान दुई/दुई विकेट झारे।
काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।
यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौं- मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।
दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।
गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री पदको शपथ लिएर विवादित बनेका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।
तर उनले विश्वासको मत लिन नसक्ने भएपछि १७ मंसिरमा राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख कर्णले नयाँ सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न चार बजे बस्न लागेको हो ।
बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागि हुने बताइएको छ ।





