
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरू भेटवार्ता भएको हो ।
भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका छन् । भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन लगायतको टिमलाई पार्टीमा प्रवेश गराएर बहुमत ल्याउने लक्ष्य सहित अगाडि बढेको देखिन्छ। यसका लागि पार्टीले वैकल्पिक शक्तिहरूसँग निरन्तर संवाद गरिरहेको छ।
‘आजको छलफलमा चुनावी सहकार्य र नयाँ शक्तिहरूबीच कसरी मिलेर अगाडि जाने भन्ने विषयमा छलफल भएको छ’ भेटवार्ताबारे जानकारी गराउँदै स्रोतले भन्याे, ‘करिब २ घण्टा लामो संवाद भएको छ । दुवै पक्षले एकता र सहकार्यको विषयमा सकारात्मक छलफल गरेको हामीलाई सूचना छ।’
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चारवटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ ।
सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृह मन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिएका हुन् ।
उनले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुनहरू संशोधन भइरहेको जानकारी दिए ।
उनकाअनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन समेत गरिएको छ ।
उनले संशोधन प्रस्तावमा मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प समेत समावेश गरिएको जानकारी दिए । उनले अन्तरजिल्लाबाट समानुपातिक, प्रत्यक्ष वा दुबैतर्फ मतदान गर्न सकिने व्यवस्था गरिने समेत जानकारी दिएका छन् ।
उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयनको चरण रहेको समेत जानकारी दिएका छन्।
काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका छन् ।
उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ११४ पुगेको छ ।
गत २०७९ सालको निर्वाचनमा ८७ दलहरूले निर्वाचनमा भाग लिएका थिए । उनले दलहरूको संख्या बढेको कारण निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिए । उनले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको जानकारी समेत दिएका छन्।
ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउने गरी काम भइरहेको उनले जानकारी समेत दिए । उनले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायतका सामग्रीका सम्बन्धमा अपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।
उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिए ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।
भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि साहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।
आयोग स्रोतका अनुसार करिब २ घण्टा आयोगले सालाई सोधपुछ गरेको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुँदा कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदवार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।
आयोगले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।
सरकारले सञ्चार मन्त्री जगदीश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ ।
सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।
चैत १५ गते भएको तीनकुने घटनामा प्रसाईँ लगायतका अभियन्ताहरूमाथि लगाइएको फौजदारी मुद्दाहरू फिर्ताको प्रक्रिया अघि बढाउनुपर्ने, भूमिहीन सुकुमबासी र कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म अहिलेको स्थानबाट नहटाउन सुनिश्चित हुनुपर्ने, बैंक, लघुवित्त, सहकारी लगायतका वित्तीय संस्थाहरूको समस्या समाधान हुनुपर्ने, किराँत, बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको सन्दर्भमा जनमत सङ्ग्रहको माध्यमबाट निर्णय लिनुपर्ने, चिकित्सा शिक्षा नर्सिङ, एमबीबीएस, एमडी िअध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने लगायतका मागलाई सरकारले प्राथमिकतामा राखेको छ ।
काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलो तारेख लिन सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा हाजिर हुने क्रममा उनले सञ्चारकर्मीसँगको छोटो कुराकानी गरे ।
त्यस क्रमममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर भएको बताएका छन् ।
‘गुण लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही तिर्न आइरहेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ’, उनले भने, ‘जिउभरी ठाउँ-ठाउँमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ।’
उनले शरीरमा विष अझै बाँकी रहेको बताए । उक्त विष झार्दै अघि बढ्न आफू तयार रहेको पनि बताएका छन् ।
एमाले अध्यक्ष ओलीले आइतबार मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रविलाई कयौँ गुण लगाए पनि अहिले आफैंलाई विरोध गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरेका थिए ।
काठमाडौँ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्त्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ ।
साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरिवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरिवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।
सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमी क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजीबाट मर्मत गरिने जानकारी दिए ।
उनकाअनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ, त्यससम्बन्धी सम्झौता आदानप्रदान पनि गरिएको छ । यो सम्झौता २ वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ । बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने खड्काले बताए ।
विष्टकाअनुसार धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ ।
एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले भने ‘एमसीए नेपालका दुई वटा आयोजना छन् । एउटा विद्युत् प्रसारण अर्को सडक मर्मत आयोजना छ । सडक मर्मतको २ ओटा कन्ट्रयाक्टको सम्झौता आज भएको छ । धानखोला लमहीको ४० किमी क्षेत्रमा फुल डेप्थ रिक्कलेमेसन टेक्नोलोजीबाट मर्मत गर्ने ठेक्का लगाएका हौँ । त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का छ, शुक्रवार त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यो सम्झौता आदानप्रदान गरिएको हो । यो सम्झौता २ वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्यसक्ने र मुग्लिन नारायणघाटको नयाँ टेक्नोलोजिअनुसार डिजाइन गर्ने, बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टर आउनेछ । जुन अहिले छैन । कन्ट्याक्टर आइसकेपछि उसले मुग्लिन नारायणघाटको ३६ किमी पनि मर्मत सम्भार गर्नेछ । उनीहरूले दिएको सेडुल अनुसार २४ महिनामा सकिनेछ । धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ । विद्युत् प्रसारण आयोजना निर्माणका लागि ६ वटा ठेक्कामा सम्झौता भइसकेको छ । जसमा ३ वटा प्रसारण लाइन र ३ ओटा सब स्टेसन लाइनको सम्झौता भइसकेको छ । आज भएको सम्झौता गरी अहिलेसम्म ७ ओटा ठेक्का भएको छ । कन्सल्टिङ ठेक्का लगाइसकिएको छ । एमसीए नेपालका प्रोजेक्टहरू सक्ने अवधि ५ वर्षको हो । २ वर्ष ४ महिना समय बितिसकेको छ । २ वर्ष ८ महिना अब बाँकी छ । यो अवधिभित्र सबै प्रोजेक्ट सक्नुपर्छ । अहिलेको सेड्युलअनुसार हामीले सक्छौँ ।’
विष्टले ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरू अघि बढेको समेत बताए । उनकाअनुसार २ वर्ष ४ महिना बितिसकेकाले बाँकी अवधिमा परियोजनाहरू सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरू सकिने बताए पनि आयोजनाहरूको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ ।
काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै स्कुलहरू बन्द भएका छन् ।
विभिन्न १८ बुँदे माग राखेर हडतालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कुलहरू बन्द गरिएको छ ।
जसका कारण स्कुल जान लागेका र स्कुल पुगी सकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्
काठमाडौं- माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन-जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।
तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् ।
आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गरे । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए । उनले अहिले क्रियाशील सदस्यको कामहरू पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए । उनले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेका छौँ । पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो ।’
महामन्त्री थापाले नियमित अधिवेशन हुनुपर्ने वा विशेष महाधिवेशन हुनैपर्ने बताए । महाधिवेशन बिना नेपाली कांग्रेस निर्वाचनमा नजाने उनको तर्क छ ।




