
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक उर्जामन्त्री कुलमान घिसिङबिच तीन घण्टादेखि एकता प्रक्रियाका विषयमा छलफलमा भइरहेको जनाइएको छ।
काठमाडौँमा आज नै सहमति गर्ने तयारीसहित छलफल भइरहेको कुलमान निकट स्रोतले जानकारी दिएको छ।
एकताबारे छलफल गर्न पहिलोपटक तीन नेता एकै ठाउँमा जुटेका हुन् । साँझ ६ बजेदेखि बालेन र कुलमान वार्तामा थिए भने अहिले रवि पनि पुगेको स्रोतले जनाएको छ।
वार्तास्थल भने खुलाइएको छैन । यद्यपि, बालेन नेतृत्वको समूहले भने अब आधिकारिक धारणा आउने भएकोले अहिले आफूहरुले केही भन्न नसक्ने बताएका छन् ।
सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन्। चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन्। होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन्।
महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाका अनुसार प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी थिए।
प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अङ्क प्राप्त गर्दै तेस्रो भइन्।
यसै गरी होटल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्यांकन गरिन्छ। सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उनले जानकारी दिए। ‘विशेष गरी माउतेले दिएको आदेश हात्तीले कत्तिको पालना गरेको छ, माउते–हात्तीबीचको समन्वय, अनुशासनलगायत पक्षमा अंक प्रदान गरी अन्तिम निर्णय गरिन्छ,’ डा. सडौलाले भने।
क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ। महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको छ।
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि नेपाली काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । काँग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेका थिए । उनले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरे । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ ।
केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यवहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।
पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गीन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रीत रहेको उनले बताए ।
उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेको जिकिर गरे ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ ।
प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए ।
यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
रवि लामिछाने सभापति र चुनाव पछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) हुने गरी वैकल्पिक शक्ति एक ठाउँमा आउने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेलगत्तै कुलमान घिसिङ बालुवाटार पुगेका छन् ।
त्यहाँस्थित एक घरमा कुलमान र मेयर बालेन शाहबीच भेटवार्ता भइरहेको छ । उनीहरूबीच शनिबार बिहान पनि भेट भएको थियो । तर, कुलमानले बालेन र रवि लामिछानेबीच भइरहेको एकताको प्रस्ताव अस्वीकार गरेपछि फेरि उनीहरूबीच छलफल भइरहेको हो ।
शक्ति बाँडफाँडको विषयमा कुरा नमिलेकाले रवि र बालेनबीचको वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन । बालेनले रास्वपासँग उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसमेत समेटिने गरी सहमति गर्न खोजेका थिए । त्यसका लागि बालेन पक्षले ५० प्रतिशत हिस्सा खोजिरहेको छ ।
तर, रास्वपा सभापति लामिछाने त्यसका लागि तयार देखिएका छैनन् । शनिबार अपराह्न घिसिङले पनि रवि–बालेन गृहकार्यलाई अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बालेन नै पार्टीमा आउने सम्भावना बढेपछि लामिछाने कारागारमा छँदा पार्टीमा भित्र्याउने छलफल अघि बढाइएका कुलमानसँग रास्वपा नेताहरुले दूरी बढाएका थिए । अहिले रास्वपा पक्षले बालेनको टिम र जेन–जीलाई मात्र भित्र्याउने गरी प्रस्ताव गरेका थिए ।
काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा थप ६ जना कामदार घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार विष्फोटमा परेर कटहरिया नगरपालिका–९ का अन्दाजी ४० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
विस्फोटमा परेर अन्य ६ जना कामदार घाइते भएका हुन् । केही गम्भीर घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ भने केहीको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।
पूर्वमन्त्री एवम् रौतहटका पूर्व सांसद प्रभु शाहले घटना हुनुमा मिल सञ्चालकको लापरवाही देखिएको बताएका छन् । उनले घटनाको छानबिनको माग समेत गरेका छन् ।
शाहले फेसबुकमा लेखेका छन्, ‘मिल संचालकको लापरवाहीले भएको यस दुःखद घटनाको निष्पक्ष छानबिनसहित पीड़ितलाई क्षतिपूर्तिको माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् ।
यस्तै, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ ।
सो समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् ।
यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ ।
निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् । छलफल निर्वाचनकेन्द्रित हुने बताइएको छ ।
प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग आज छलफल गर्नु लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए ।




