
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
साथै, एल.पी. ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखी एल. पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताएका छन् ।
पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पारे । उनले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएकोसमेत उल्लेख गरे ।
‘पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना र गुनासो आएको छ । अन्तिम घडीमा बुझाइएकाले केही समस्या हुनसक्छ । रास्वपासँग विधि छ, विधि भन्दा बाहिर कुनै हालतमा जाँदैनौँ, ‘राइट टु रिकल’को व्यवस्थासमेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन’, उनले भने ।
सभापति लामिछानेले युवाहरूको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिवर्तनको झिल्कोको रूपमा उनीसँग सहकार्य गरेर प्रधानमन्त्रीको रूपमा अघि सारिएको बताए । उनले भने, ‘युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुभयो । उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।’
काठमाडौं- पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो ।
विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएका छन् ।
भृकुटीमण्डपको आज अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने ‘कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।’
मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारे ।
उनले भने ‘सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।’
बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ ।
भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताए ।
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्काउन आफूलाई प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले फोन गरेको दाबी गरेका छन् ।
बुधबार राप्रपासँगको पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको अवस्थामा आफूलाई प्रमुख दलका दुई शीर्ष नेताले टेलिफोन गरेर राजसंस्था पुनर्स्थापनाको प्रयास गर्न भनेको उनले बताए । उनका अनुसार भदौ २४ गते मध्यराति ११ बजे दुई शीर्ष नेताले फोन गरेर राजसंस्था पुनर्स्थापनाको प्रयास थाल्न आग्रह गरेका हुन् ।
जेनजी आन्दोलनलगत्तै राजसंस्था फकाउन थालिएको चर्चा भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले दलीय लिखित सहमतिविना आफू नफर्कने बताएको चर्चा भएको थियो ।यी चर्चाका बिच बुधबार अध्यक्ष थापाले जेनजी आन्दोलनपछि देश संकटमा परेको भन्दै प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले टेलिफोन गरेर राजसंस्था पुनर्स्थापनको प्रयास गर्न आफूलाई आग्रह गरेको दाबी गरेका हुन् ।
ती दुई शीर्ष नेताले देश जोगाउनुपर्ने भन्दै राजसंस्था फर्काउने प्रयास गर्न आग्रह गरेको दाबी गरेका थापाले यसका लागि आवश्यक वातावरण बनाउने ती दुई शीर्ष नेता तयारसमेत भएका बताए । तर, उनले ती दुई शीर्ष नेता को हुन् ? भन्नेबारे केही खुलाएनन् । आवश्यक परेको खण्डमा नाम सार्वजनिक गर्ने अध्यक्ष थापाको भनाइ छ ।
‘भदौ २४ गते राति ११ बजे अहिलेका राजनीतिक दलमध्येका प्रमुख दलका दुईजना नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ कुनै बेला आवश्यक पर्यो भने भनौँला,’ अध्यक्ष थापाले भने ।
बुधबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबिच एकता भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति कुलमान घिसिङले समाचार र चर्चामा आएका व्यक्ति आफ्नो ‘भान्जा’ र ‘ससुरा’ नभएको स्पष्ट पारेका छन् ।
आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् ।
उनले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले लेखेका छन् ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’
उनले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको बताए ।
उनले थप लेखेका छन् ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्द सूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु।’
उनले आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जबाफदेहितामा दृढ रहेको बताए । उनले यस्ता भ्रामक समाचार र टीकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेका छन् ।
जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्ण यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपेका छन् ।
श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको छ ।
राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपणियताको सपथ लिएका छन् ।
मध्यविन्दु (नवलपरासी), १६ पुस । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो ।
दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
“अहिलेको समस्या दाउन्नेको पश्चिम खण्डमा शीतलहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसकेर सडक अवरुद्ध भएको हो”, उनले भने, “विस्तारै सवारी पास गराउने काम भइरहेको छ, तर तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको छ ।”
दाउन्नेमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताए । “अहिले पनि दुम्कीवास बजारदेखि नै सवारीसाधनको जाम कायम रहेको छ”, उनले भने, “सडक निर्माणका कारण एकतर्फी रहेको राजमार्गमा लामो समय सवारी जाम हुँदा सञ्चालन गराउन निकै समस्या भएको छ ।”
नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा अझ धेरै सवारी चाप रहेको बताए । “हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र अवस्था सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ”, उनले भने ।
तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)ले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्ने खण्डमा एकातिर सडक निर्माण र मर्मतको काम, अर्कोतिर शीतलहरले सडक हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको आयोजनाले जनाएको छ ।




