
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।
सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाँही ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथिहरुले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पु¥याएर देखाइदिन्छौं ।’
यसैगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए ।
काठमाडौं । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ ।
सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने रकम बुझाउन पनि स्वीकृत दिएको छ । सन् २०२४ को वार्षिक योगदान दुई लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरिएको मन्त्री खरेलले जानकारी दिए ।
नेपालले भूकम्पबाट पीडित म्यानमारको पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिए । सरकारले वित्तीय क्षेत्रविकास रणनिति २०८२÷८३ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले मानव वेचविखन विरुद्धको राष्ट्रिय निति २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थाको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् ।
खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन् ।
‘नेपाली काँग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ,’ उनले भनेका छन्,’यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र आज हुँदै छ।बन्द सत्र बिहान १० बजेदेखि शुरु हुनेछ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो
आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको बताइएको छ। कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महाधिवेशन पक्षधरको दाबी छ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।




