
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पूर्वी नेपालका विभिन्न जिल्लामा केन्द्रित राजनीतिक भेटघाट तथा पार्टीगत गतिविधि पूरा गरी काठमाडौँ फर्किएका छन्।
उनको भ्रमण साविक मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा केन्द्रित रहेको पार्टी स्रोतले जनाएको छ। यस क्रममा उनले स्थानीय कार्यकर्ता, उम्मेदवार तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका थिए।
बालेन्द्र शाहले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएपछि भोलिपल्ट काठमाडौँस्थित निवासमा आएका शुभेच्छुकहरूसँग छलफल गरेका थिए। माघ ८ गते बिहान इलाम पुगेका उनले त्यहाँ पार्टीका उम्मेदवार र स्थानीय नागरिकसँग संवाद गरेपछि पाँचथर र ताप्लेजुङ पुगेर समर्थक तथा शुभचिन्तकसँग भेटघाट गरेका थिए।
शुक्रबार बिहान पाथिभराको दर्शनपछि उनी तेह्रथुम हुँदै म्याग्लुङ बजार पुगेका थिए। सचिवालयका अनुसार मध्यपहाडी लोकमार्ग आसपासका विभिन्न बजारमा स्थानीय बासिन्दासँग भेटघाट गरिएको थियो। शनिबार बिहान म्याग्लुङमा संक्षिप्त छलफलपछि उनी संखुवासभाको चैनपुर पुगेका थिए।
चैनपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मिङ्मा शेर्पासहित पार्टी पदाधिकारी र स्थानीय व्यक्तिहरूसँग छलफल गर्दै शाहले पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए। सो अवसरमा उनले पूर्वी नेपाल पर्यटन, कृषि र पूर्वाधार विकासका दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले यी क्षेत्रमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
फर्किने क्रममा उनले धनकुटामा पनि संक्षिप्त भेटघाट गरेका थिए। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा समेटिएको भ्रमण पूरा गरी उनी शनिबार साँझ विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानमार्फत काठमाडौँ फर्किएका हुन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारकाविरुद्ध उजुरी परेका छन् ।
निर्वाचन आयोगले शनिबनर जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ९७ मा नाम रहेका सिरहाका चन्दे्रश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ३७ मा नाम रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ ।
विज्ञप्तिमा मण्डल आदिवासी तर्फको व्यक्ति भएकाले उनको नाम मधेसी समुदायमा राख्न नमिल्ने भनी पिपरा गाउँपालिका–१ महोत्तरीका सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ ।
यस्तै, ललितपुरका लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्ग भनिएको उल्लेख गरिएको भनी तेमाल–२ काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी गरेका हुन् ।
धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनी पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित पक्षले आ–आफ्नो सबुद प्रमाणसाथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ ।
आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरेबमोजिम हुने जनाइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ व्यवहार गरिएको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा आफूमाथि सुन तस्करझैँ चेकिङ गरिएको बताए ।
उनले विमानस्थलमा आफूलाई चेकिङ गरेर हैरान पारेको उल्लेख गरे । उनले माथिको आदेश भन्दै विमानस्थलमा आफूलाई हेपिएको पनि आरोप लगाए ।
‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ । सुन तस्करझैँ चेकिङ गरेर हैरान पारेको छ ।’, उनले भने, ‘हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भनेर सोध्दा माथिको आदेश छ रे ।’
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाली टोलीले जिम्बाब्वेलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १९.३ ओभरमा केवल चार विकेट गुमाएर एक सय ३३ रन बनायो । नेपाली टोलीको जितमा उप–कप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय रनको योगदान गरिन् । यसक्रममा उनले ५० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले पनि टोलीको जितमा २२ रनको योगदान गरिन् ।
ओपनर विन्दु रावलले टोलीको खातामा १५ रन थपिन् । उनले १७ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भइन् । सीता राना मगर ११ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिएकी थिइन् ।
उनले १५ बलमा एक चौका प्रहार गरिन् । रुविना क्षेत्री दुई रनमा अविजित रहिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि २१ रन पायो । नेपाली टोलीको भने ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना कायमै छ । जारी छनोट प्रतियोगितामा नेपालले अझै एक खेल खेल्न बाँकी छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन निर्वाचनसम्बन्धी आम्दानी-खर्चका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
आयोगका अनुसार संवत् २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ ले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत् खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।
आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन खर्चका लागि आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र ती पदाधिकारीको नाम-नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ। त्यस्तै, राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था छ।
पच्चिस हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने, नगद रूपमा स्वेच्छिक सहयोग लिँदा बुझेको रसिद वा भर्पाई अनिवार्य रूपमा दिनुपर्ने र दलका नाममा प्राप्त सहयोग दलकै खातामा तथा उम्मेदवारका नाममा प्राप्त सहयोग उम्मेदवारकै खातामा जम्मा गर्नुपर्ने प्रावधान पनि आचारसंहितामा उल्लेख छन्।
यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा निर्वाचन सम्पन्न भई आयोगबाट बन्द गर्न निर्णय नभएसम्म सञ्चालन हुने गरी छुट्टै खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई आग्रह गरेको हो। आयोगले यसका लागि आफ्नो मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा प्रत्येक राजनीतिक दलका लागि एक-एक वटा र प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोल्ने व्यवस्था गर्नुपर्ने स्पष्ट पारेको छ।
निर्वाचन आयोगले उक्त व्यवस्थाले निर्वाचन अभियानसँग सम्बन्धित आम्दानी र खर्चको निगरानी सुदृढ भई निर्वाचन प्रक्रिया थप पारदर्शी हुने विश्वास व्यक्त गरेको छ।
नेपाली कांग्रेसले चुनावी अभियान मधेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गरेर चुनावी अभियानको औपचारिक सुरुवात गर्ने भएको हो ।
जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले उपसभापति शर्मालाई चुनावी प्रचार-प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
सभाको तयारी तथा समन्वय केन्द्रीय तहबाट उपसभापति शर्माले गर्ने भएका छन् । मधेश प्रदेशमा हुने तयारीका विषयमा प्रदेश समिति स्तरमा छलफल हुन लागेको छ ।
मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार सभाको तयारीका लागि शनिबार प्रदेश समितिको बैठक बस्ने तय भएको छ । ‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौँ मान्छे सहभागी हुन्छन्।’
कांग्रेस सभापति थापा सर्लाही-४ बाट उम्मेदवार बनेका छन् । यस पटकको निर्वाचनमा विभिन्न दलहरूले मधेशलाई केन्द्र बनाएर चुनावी गतिविधि तीव्र बनाएका छन् ।
यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी सभा आयोजना गरेको थियो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेको तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका नेता तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकलाई पार्टीबाट हटाउने निर्णय गरिएको जनाइएको छ ।
विज्ञप्तिअनुसार सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्कासन गरिएको हो ।




