२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए ।

यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।

लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।

प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो ।

 

चितवन- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ । यसैक्रममा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी दाहाल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै उनी विकासका स्पष्ट एजेण्डासहित मत मागिरहेकी छन् ।

भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताइन् ।
भरतपुरमा बाटोघाटो, जंगली जनावर रोकथाम, मेसजाली फाउन्डेसन तथा नारायणी तटबन्धजस्ता ठूला योजना सम्पन्न भएको बताउँदै दाहालले भनिन्, “लगातार ९ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ, त्यसैले मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।”

उनले चितवन निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको स्पष्ट पारिन् । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने बताईन् ।

मतदातासँगको भेटघाटका क्रममा धेरै स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाहालको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना देखिएको छ,” उनले बताइन् । कतिपय मतदाताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेपछि दाहाल थप उत्साहित देखिएकी छन् ।

उनले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने योजनासमेत उनले अघि सारेकी छन् ।

चितवन–३ मा मत परिवर्तनको सम्भावना न्यून देखिएको र दाहालका पक्षमा माहोल बलियो बन्दै गएको ‘रेनु जिताउ’ अभियानमा सक्रिय सन्तोष देउजाले बताए ।

चुनाव नजिकिँदै जाँदा चितवन–३ मा उम्मेदवार दाहालको सक्रियता र जनसम्पर्क अभियानले थप ऊर्जा पाएको देखिन्छ । अब मतदाताको अन्तिम निर्णयले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

पोखरा । जिल्ला अदालत कास्कीले पनि रास्वपाका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश नितिश राईको इजलासले रविविरूद्धको मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको हो । इजलासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको इजलास अधिकृत गुरूदेव आचार्यले जानकारी दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । रविविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नलिने र सर्वोच्चको आदेशपछि मात्र मुद्दा पेश गर्न आदेश दिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको गोलधापबाट चुनावी अभियान सुरु गरेको छ ।

अभियानको उद्घाटन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले अब देश बचाउने हो भने राप्रपालाई मत दिनु पर्ने बताउनु भयो । मतदान गर्दा फेसबुक र सामाजिक सञ्जाल हेरेर दिने हो भने देश संकटमा पर्ने उहाँको धारणा थियो ।

गोलधापमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले प्रत्यक्ष र समानुपातिक दुवै भोट राप्रपालाई दिन आम मतदातालाई अपिल गर्नु भयो । आफुले आज सम्म एक पैसा हिनामिना नगरेको दावी गर्दै भ्रष्ट्राचारको समुल अन्त्य गर्न राप्रपालाई भोट दिनु पर्ने उहाँको तर्क थियो ।

आफुलाई काँग्रेस एमाले सबैको भोट आशिर्वादको रुपमा चाहिएको बताउनु भयो । राप्रपाको चुनावी अभियान अब देश ब्यापीरुपमा अगाडी बढ्ने लिङदेनले जानकारी दिनुभयो ।

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्र साहलाई उनले काठमाडौं महानगरपालिकामा खेलेको भूमिकालाई लिएर मतदाताले प्रश्न गरिरहेका छन् ।

गत माघ ४ गते काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर झापा ५ मा ओलीसँग भिड्न पुगेका बालेन्द्रलाई सुकुम्बासीदेखि फोहोर व्यवस्थापनसम्मका प्रश्न आइरहेका छन् ।

रास्वपा वरिष्ठ नेतासमेत रहेका बालेन सोमबार झापा क्षेत्र नम्बर ५ का मतदाता भेट्न घरदैलो गरिरहँदा एकजना प्राथमिक विद्यालयका शिक्षकले काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्याबारे प्रश्न उठाए ।

स्थानीय मतदाता, सुकुम्बासी र सर्वसाधारणलाई भेट्दै घरदैलो गरिरहेका उनले काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्याबारे जवाफका क्रममा विदेशी चलखेल भएको जिकिर गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल कति थियो । प्रधानमन्त्रीभन्दा के कुराको कमी थियो र, राजधानीको मेयरलाई’, उनले भने, ‘विदेशी चलखेलका कारण प्रधानमन्त्रीको समेत मलाई दबाब थियो । फोहोर व्यवस्थापनमै विदेशी चलखेल भएकाले मैले भनेजति व्यवस्थापन गर्न सकिनँ।’

उनलले अहिले झापामा कोही विदेशी नरहेको र चलखेल पनि नहुने बताए । ‘अहिले यहाँ विदेशी त हुनु हुन्न, नेपाली जनता नै हुनुहुन्छ’, उनले भने, ‘राजधानीमा अन्तर्राष्ट्रिय चलखेलकै कारण भनेजति परिणाम दिन सकिनँ ।’

त्यसपछि ती शिक्षकले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएको प्रसंग झिके । तर जवाफमा बालेन्द्रले कुनै सुकुम्बासी बस्तीमा डोजर नचलाएको जवाफ दिए । तर उनले महानगरका प्रहरी र नेपाल प्रहरीसहित थापाथलीका सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा कडा प्रतिकार भोग्नुपरेको थियो ।

उनले सुकुम्बासीलाई धनीपुर्जा दिन पनि संघीय सरकार अस्थिर हुँदा नसकेको बताए । ‘धनीपूर्जा दिलाउन महानगरले सम्झता गरेको थियो । तर तर तीन तीन महिनामा सरकार परिवर्तन भएर सम्भव भएन’, उनले अगाडि भने ।

ती शिक्षकले काठमाडौंका सुकुम्बासीलाई सार्वनजिक सम्पत्ति हडप्ने राष्ट्रघाती भन्दै झापाको समस्या पनि सुनाउँछन् । उनले भने, ‘मेची पुल अलपत्र छ, औद्योगिक पार्क अलपत्र छ। सुकुम्बासीले लालपुर्जा पाएका छैनन् ।’

बालेन्द्रले शिक्षकबाट कडा प्रश्न सामना गर्नुपरेपछि शिक्षकलाई उल्टै प्रतिप्रश्न गरे । ‘तपाईंको स्कुलमा वार्षिक कति प्रतिशत पास हुँदैछन् ?’, उनले प्राविका ती शिक्षकलाई सोधे । जवाफमा उनले भने, ‘७० देखि ८० प्रतिशत पास भइरहेका छन् ।’

शिक्षकले पनि अहिले ७० देखि ८० प्रतिशत पास हुने गरेको र सतप्रतिशत पास हुन समय लाग्ने बताएको जवाफमा बालेन्द्र भन्छन्, ‘विद्यार्थी पास गराउन समय लागेजस्तै सुकुम्बासीलाई लालपुर्जा दिन पनि समय लाग्छ।’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे ।

केही समयअघि कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३-४ लाख कमाउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे । अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औंल्याए ।

थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्रै करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे। उनको योजनामा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ।

यसका लागि उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक-निजी साझेदारीको मोडल अघि सारेका छन्। अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। सरकारले पनि स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । 

आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आफ्नो निर्वाचन क्षेत्र झापा जिल्ला–५ मा केन्द्रित भएका छन्।

निर्वाचन अभियानअन्तर्गत सोमबार बिहानदेखि नै उनीहरू मतदातासँग प्रत्यक्ष संवाद तथा घरदैलो कार्यक्रममा सहभागी भएका छन्। अध्यक्ष ओली दिनभर दमक नगरपालिकाका विभिन्न स्थानमा आयोजना गरिने भेटघाट कार्यक्रममा व्यस्त रहने निर्वाचन परिचालन पक्षले जनाएको छ।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका ओलीले स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि उनले क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका, कमल गाउँपालिका तथा गौरिगञ्ज गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरिसकेका छन्।

नेता साह पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट तथा घरदैलो अभियानमा सक्रिय रहेका छन्। उनी निर्वाचन क्षेत्रका कार्यक्रमसँगै देशका विभिन्न स्थानमा हुने अभियानमा समेत संलग्न हुँदै आएका छन्।

एमालेले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सारेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले साहलाई प्रमुख उम्मेदवारका रूपमा प्रस्तुत गरेपछि झापा-५ को प्रतिस्पर्धा राजनीतिक रूपमा चासोको विषय बनेको छ।

निर्वाचन क्षेत्रका गतिविधि व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम समन्वयका लागि स्थानीय प्रशासन र सरोकारवाला निकाय सक्रिय रहेको जनाइएको छ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ ।

निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बढेपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल र डिजेलरमट्टितेलको मूल्य वृद्धि गरिएको हो ।

रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।

सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ’सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए । सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।

आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
चुनाव हुनु भन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने छ ।

निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।