२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

एडभाइजरीमा भनिएको छ,“सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।”

इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयको अनुरोध छ ।

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा सरकारसँग अनुरोध गरिएको जनाएको हो ।

निर्वाचनको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) र अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) सवारीसाधन पास आवश्यक नपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी, हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्करी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन, नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (सो परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन÷पर्यवेक्षणका लागि प्रयोग हुने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनका लागि पनि पास आवश्यक नपर्ने आयोगले विगले जनाएको हो ।

आयोगले विज्ञप्तिमा भनेको छ, “निर्वाचन आयोग, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’ निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको व्यहोरासमेत जानकारी गराइन्छ ।”

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।

प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको जानकारी दिए ।

‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ भुल भन्छन्, ‘हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकोले हामीले खबर पर्खिरहेका छौँ । दोहा चाहिँ बन्द नै भयो ।’

काठमाडौँ । खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।

इरानले पनि इजरायली आक्रमणको जवाफमा प्रतिआक्रमण सुरू गरेको छ ।

 

इजरायलले इरानविरुद्ध हमला गरेको छ । इरानले हमला गर्न सक्ने भन्दै इजरायलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।

आफ्नो आक्रमणको बदलामा अब निकट भविष्यमा इजरायलमा क्षेप्यास्त्र हमला हुन सक्ने अपेक्षा गरिएको पनि उसले बताएको छ । बिहानै विज्ञप्ति जारी गरी इजरायली रक्षामन्त्री इजरेल क्याट्जले देशमा “विशेष तथा स्थायी सङ्कटकाल“को घोषणा गरिएको जनाएका छन् ।

इजरायलमा मानिसहरूलाई इरानबाट क्षेप्यास्त्र हमला हुन सक्ने भनेर सावधान गराइएको छ । इजरायलभरि हवाई हमलाबारे सावधानी अपनाउन साइरन बजाइएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन् ।

काठमाडौँ। मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो ।

आज बिहान ९:०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो ।

बेलीब्रिज भाँचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।

यसमार्ग हुँदै मकालु बेसक्याम्प जाने आउने गरिन्छ । पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवा मतदान केन्द्रमै उपलब्ध गराउन निर्देशन दिएको छ ।

उक्त दिन देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुँदैछ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलगायत मतदातालाई आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने भएकाले पूर्वतयारी गर्न आयोगले सरोकारवालालाई आग्रह गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ। निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको पनि जनाइएको छ।

आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि पत्राचार गरेको जनाएको छ। साथै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाइएको जानकारी दिइएको छ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारसहित सरोकारवाला निकायसँग सहकार्य जारी रहेको आयोगले जनाएको छ। मतदाताको सहभागिता सुनिश्चित गर्न मतदानको दिनअगाडि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भइसकेको उल्लेख गरिएको छ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार र सरोकारवालासँग समन्वय गरिएको छ। मतदान केन्द्र कायम भएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि फागुन २१ गतेसम्म उपयोग गर्न मिल्ने व्यवस्था गर्न सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगले जनाएको छ। यससम्बन्धी पत्राचार गृह मन्त्रालयमार्फत भइसकेको उल्लेख छ।

आयोगले आफ्नो निर्णयअनुसार आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा अघि सारिएकाहरूबीच फागुन १८ गते काठमाडौंको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ ।

कांग्रेसले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले त्यस्तो प्रस्ताव गरेका हुन् ।

‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले सोधे, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ?’

उपसभापति शर्माले सम्बोधनका क्रममा आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए । उनले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रूपमा लिन नहुनेसमेत बताए ।

निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए ।

उनले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ । हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’

उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।