२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्ने अपेक्षा गरेको छ। आयोगले आज विज्ञप्ति प्रकाशित गरी प्रत्यक्षतर्फ अब १० सिटको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेको छ।

यस्तै, समानुपातिकतर्फ पनि ५० लाख मतगणना भइसकेको आयोगको भनाई छ। ‘हालसम्म प्रत्यक्ष तर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोली दिउसो सम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ’ आयोगले भनेको छ, ‘समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हालसम्म ५० लाख (करिब ४६ प्रतिशत) को मतगणना सम्पन्न भएको छ। पर्सी फागुन २७ गते बिहान सम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको छ।’

समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने छ।

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्ने आयोगले जनाएको छ।

दलहरूले बन्द सूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रुजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य गर्नेछ।

यही चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको स्पष्ट पारेको छ।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४५ लाख ३० हजार ९१३ मत गणना सम्पन्न भएको छ। जसको झण्डै आधा मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ। जुन हालसम्म गणना भएको मतको ४९.४३ प्रतिशत हो। यसैगरी नेपाली काँग्रेसले सात लाख ६० हजार ४८५ (१६.७८ प्रतिशत) र नेकपा एमालेले ६ लाख ४६ हजार ७७० (१४.२७ प्रतिशत) मत पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले तीन लाख चार हजार ६२ समानुपातिक मत पाएको छ। जुन गणना भएको कुल मतको ६.७१ प्रतिशत हो।

काठमाडौँ- सर्लाही- ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाकी पत्नी अञ्जना थापा केसीले गगनलाई ढाडस दिएकी छन्।

बिहीरबार भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अमरेश सिंहसँग भारी मतले पराजित भएका गगनको माग जनमाझमा झन बढेको भन्दै उनले सामाजिक सञ्जालमार्फत ढाडस दिएकी हुन्।

‘यो एउटा निर्वाचनको हार मात्र हो, तिम्रो विचार र तिम्रो भिजनको हार होइन,’ उनले फेसबुकमा लेखेकी छन्,’गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन। तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ। हिजो तिमी एक्लै थियौ होला, आज तिमीसँग तिम्रो विचार र भिजनले बाँधिएका लाखौँ मनहरू छन्। विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ। तिम्रो निष्ठा र तिम्रो अजेय यात्रामा मलाई सधैँ गर्व थियो, छ र सधैँ रहनेछ। तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले छेक्न सक्दैन।’

आइतबार बिहान आएको परिणाम अनुसार सर्लाही- ४ मा रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन् भने गगनले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।

प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले घटनामा गल्ती गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको बताए। उनका अनुसार प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको रहेको छ र त्यसमा विभिन्न अनुसूचीहरू पनि समावेश छन्।

आयोगले भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका घटनाबारे छुट्टाछुट्टै विश्लेषण र सुझाव दिएको छ। भदौ २३ मा नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घटनास्थल तथा उपचारका क्रममा २१ जनाको मृत्यु भएको थियो। उक्त घटनामा आयोगले केन्द्रीय स्तरमा तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला स्तरमा काठमाडौँ जिल्ला सुरक्षा समितिका अध्यक्षलाई जिम्मेवार ठहर गर्दै फौजदारी कानुनअनुसार कारबाही अघि बढाउन सुझाव दिएको हो।

आयोग स्रोतका अनुसार काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि पनि गोली चलाउने आदेश दिएको आरोपका आधारमा कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको छ। त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने सुझाव आयोगले दिएको बताइएको छ।

त्यसबेला गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ थिए। प्रदर्शनकारीहरूले संसद् भवन घेरेपछि प्रहरी महानिरीक्षक खापुङले वाकीटकीमार्फत गोली चलाउन निर्देशन दिएको दाबी फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले गर्दै आएका छन्।
आयोगले भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई पनि सम्बन्धित फौजदारी कसुरअनुसार अभियोजन गर्न सरकारलाई सिफारिस गरेको छ।

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच मङ्सिर २४ गते भएको १० बुँदे सम्झौताअनुसार प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग गर्नेहरूबारे निष्पक्ष छानबिन गरी कानुनी कारबाही सिफारिस गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको आयोगले जनाएको छ।

सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निकै पछाडि पार्दै ३५,७४१ मत प्राप्त गरी ऐतिहासिक जित दर्ता गराएका हुन् ।

निर्वाचनको रोचक प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा रहिन् । उनले २७,२४९ मत प्राप्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६,१८५ मतमा सीमित भए ।

नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३,९७० मत मात्र प्राप्त गर्न सफल भए ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा- ५ बाट भारी मतका साथ विजयी भएका रास्वपाका वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्लेले झापाबासीलाई धन्यवाद दिएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूलाई माया, साथ र हौसला दिने सबैप्रति धन्यवाद व्यक्त गरेकी हुन्।

‘देशभरी नै यति धेरै उल्लास छाइरहँदा झापा ५ प्रति विशेष कृतज्ञता र नमन छ। धन्यवादका पात्रहरू धेरै छन्। एक एकलाई समेट्न गाह्रो छ। तर यो लेखिरहँदा हरेक अनुहारहरू मेरो मानसपटलमा मुस्कुराइरहेका छन्। यस क्षेत्रको संगठनका जोशिला साथीहरूलाई धेरै धेरै धन्यवाद। कति असहजताका बाबजुद पनि दिन रात नभनी तपाईँहरूले मेहनत गर्नुभयो। तपाईँहरूको मेहनत आज संसारले देखिरहेको छ। प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिनु भएका सबै साथीहरूलाई धन्यवाद,’ उनले समाजिक सञ्जालमा लेखेकी छन्।

झापामै माइती भएकी काफ्लेले आफूले झापामा माइतीसँग नयाँ घर पनि पाएको बताएकी हुन्। ‘संस्थामा औपचारिकता हुन्छ, मेहनत हुन्छ, गन्ती हुन्छ, मापन हुन्छ । तर परिवारमा प्रेम हुन्छ, प्रार्थना हुन्छ, आस्था हुन्छ, आशीर्वाद हुन्छ । म एउटा सचेत नागरिक हुँ भन्दै झापा छिरिरहँदा यो ठाउँले मलाई छोरी मान्यो, चेली मान्यो । यी सबै स्वागत, सम्मान र स्पर्शमा मैले माया देखेँ । आफ्नो उम्मेदवार प्रतिको विश्वास र आस्था देखेँ । उम्मेदवारले विजय प्राप्त गर्नु भयो तर मैले फेरि अर्को घर पाएँ, माइती पाएँ जसले मलाई दृढता र आत्मविश्वास सिकाएको छ ।’

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर रहेका बालेनले झापा- ५ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेकाच अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका हुन्। यसअघिका निर्वाचनमा भारी मतका साथ विजयी भएका ओलीलाई पराजय गर्नु बालेनका लागि चुनौतिका रुपमा हेरिएको थियो।

बालेनले ओलीलाई शाहले ओलीलाई ४९ हजार ६ सय १४ मतले पराजित गरेका हुन्।

काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएकी छन् ।

सरकारले गत असोज पाँचमा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्य विज्ञानराज शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिए ।

आयोगले भदौ २३ र २४ गते देखेका कुराहरू पत्ता लगाउने प्रयास गरेको बताए । उनले आयोगले कारबाहीको सिफारिस गरेको बताएपनि कसकसलाई कारबाहीको सिफारिस गरिएको भन्ने कुरा भने खुलाएनन् । शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने काम सरकारको भएको बताए ।

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा (एमाले)माथि फागुन २१ गते सम्पन्न चुनावमा ठुलो झड्का लागेको हो ।

अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस र एमालेका सभापति र अध्यक्षसहित सबै पदाधिकारी पराजित भएका छन् । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता डा. अमरेशकुमार सिंहसँग १२ हजार बढी मतान्तरले पराजित भएका छन् ।

उता एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग करिब ५० हजार मतान्तरले पराजित भएका छन् ।

त्यसैगरी कांग्रेका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित हुँदा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेलसमेत रास्वपासँगै पराजित भएका छन् ।

यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र एक्लो जित निकाल्ने शीर्ष नेता बनेका छन् । उनका सहयात्री एवम् नेकपाका सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत पराजित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत पराजित हुँदा काठमाडौं उपत्यकामा सधैभर आफ्नो जित निकाल्दै आएको भक्तपुर १ को नेपाल मजदुर पार्टीलेसमेत आफ्नो गढ छोड्नु परेको छ । लगातार संसदमा देखिँदै आएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रास्वपासँगै पराजित भएका छन्।

 

सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।

त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ ।

खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्। उनले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीर काजी राईले १२ हजार ७१४ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका देवविक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।