
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ ।
ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो । विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच आज राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए ।
“अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उनले भने “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ ।” उनले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताए ।
स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ ।
सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए ।
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ५७ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका छन्। त्यस्तै, नेपाली काँग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४-४ जना सांसद निर्वाचित भएका छन्।
निर्वाचनमा समावेशतर्फ महिला सांसदको संख्या ८२ रहेको छ। आयोगले दलहरूले पेश गरेको बन्द सूची अनुसार सिट बाँडफाँट गरी सो परिणाम सार्वजनिक गरेको जनाएको छ।
काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभाग अन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले चालु आर्थिक वर्षको ८ महिनामा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको जनाएको हो ।
विभागका अनुसार फागुन महिनामा मात्रै कुल ३० वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यसबाट कुल ३८ करोड ६० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । जसमध्ये, स्वचालित मार्ग मार्फत २६ वटा परियोजनाका लागि १८ करोड ७० लाख रुपैयाँ र स्वीकृति मार्ग मार्फत ४ वटा परियोजनाका लागि १९ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । फागुन महिनामा स्वीकृत यी उद्योगहरूबाट २५९ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि फागुनसम्मको अवधिमा कुल ५५४ वटा विदेशी लगानी परियोजनाहरू स्वीकृत भएका छन् । यस अवधिमा कुल ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । यी परियोजनाहरुबाट कुल २१ हजार ४९५ जनालाई रोजगारीको अवसर सिर्जना हुने प्रतिबद्धता रहेको छ ।
आर्थिक वर्ष २०८२-८३ मा लगानी प्रतिबद्धता रकमका आधारमा कृषि तथा वन पैदावार उद्योगमा सबैभन्दा धेरै आकर्षण देखिएको छ ।
कृषि क्षेत्रमा जम्मा १४ वटा परियोजना मार्फत २१ अर्ब ९० करोड ८० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । परियोजना सङ्ख्याको आधारमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै ३०७ वटा परियोजना स्वीकृत भएका छन्, जसको लगानी प्रतिबद्धता १ अर्ब ३० करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
पर्यटन क्षेत्रमा १५५ वटा परियोजना मार्फत ११ अर्ब २ लाख ५० हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सेवामूलक क्षेत्रमा ३८ परियोजना मार्फत ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ ।
उत्पादनमूलक क्षेत्रमा ३७ वटा परियोजना मार्फत २ अर्ब ५२ करोड ५६ लाख ४४ हजार २५२ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा १ र खनिज क्षेत्रमा २ वटा परियोजना स्वीकृत भएका छन् भने पूर्वाधार क्षेत्रमा कुनै पनि लगानी आएको छैन ।
फागुन महिनामा विदेशी लगानीकर्ताहरुले ३५ करोड २० लाख ५५ हजार ११९ नेपाली रुपैयाँ बराबरको रोयल्टी फिर्ता लगेका छन् । त्यस्तै, सोही महिनामा २६ करोड ५६ लाख २५ हजार ५८१ नेपाली रुपैयाँ बराबरको लाभांश पनि फिर्ता लगिएको विभागको तथ्यांकमा उल्लेख छ ।
काठमाडौँ। दक्षिण कोरियाले ‘रुट इन्डस्ट्रि’ अन्तर्गत वेल्डिङ क्षेत्रमा नेपाली कामदार लैजान आवेदन प्रक्रिया सुरु गर्ने भएको छ। इच्छुक उम्मेदवारले भोलिदेखि चैत ८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इपीएस कोरिया शाखाका अनुसार आवेदन दिएका उम्मेदवारले रुपन्देहीको बुटवलस्थित कोरिया-नेपाल बहुप्राविधिक शिक्षालयमा २४० घण्टाको तालिम लिनुपर्नेछ। तालिमअन्तर्गत १२० घण्टा वेल्डिङसम्बन्धी प्राविधिक प्रशिक्षण र १२० घण्टा कोरियन भाषा अध्ययन समावेश गरिनेछ।
भाषा प्रशिक्षणमध्ये ७५ घण्टा अनिवार्य कक्षामा सहभागी भई भाषा परीक्षा दिनुपर्नेछ भने बाँकी ४५ घण्टा पूर्व-अभिमुखीकरण तालिमका क्रममा पूरा गरिने जनाइएको छ। उक्त तालिमको खर्च प्रशिक्षार्थीले स्वयं व्यहोर्नु पर्नेछ। आवासीय सुविधा नलिनेको हकमा न्यूनतम ५५ हजार ५०० रुपैयाँ र आवासीय सुविधा लिनेको हकमा न्यूनतम ८८ हजार रुपैयाँ शुल्क लाग्नेछ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोरियन भाषा परीक्षामा पनि सहभागी हुनुपर्नेछ। तालिम अवधिमा कम्तीमा ८० प्रतिशत उपस्थिति कायम गर्ने, अभ्यास परीक्षामा औसत ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने तथा भाषा परीक्षामा उच्च अंक ल्याउनेमध्ये उत्कृष्ट ५० जनालाई अन्तिम योग्यताको सूचीमा राखिने व्यवस्था गरिएको छ।
आवेदनका लागि कक्षा १२ उत्तीर्ण भएको, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको तथा अन्य देशमा रोजगारीका लागि जान कुनै कानुनी अवरोध नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रका आधारमा भट्टलाई पक्राउ गरिएको हो । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि सोही आधारमा उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जनाएको छ। केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।
अन्तर्वार्तापछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए।
उक्त अभिव्यक्ति निराधार, कपोलकल्पित र चरित्रहत्या गर्ने मनसायले दिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको थियो। यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको थियो। चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाइने पनि मन्त्रालयले जनाएको थियो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताएका थिए। साथै उनले भट्टमाथि कानुनी कारबाही गर्न माग गरेका थिए।
बालिका ईनिशा बिक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।
पीडित परिवारकोतर्फबाट ईनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।
साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौनहिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।
ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका अपराधिक घटना र अवाञ्न्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।
गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका ईनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी दिएका थिए ।
सो जानकारीपश्चात् चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको सूचना अधिकारी बुढ्थापाले बताए ।
तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरूबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ ।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने । म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’
उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’
सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।
त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।
सप्तरी-२ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए । जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन । अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् ।
दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाे ड्रोन आक्रमणबाट इन्धन ट्याङ्कीमा आगलागी हुँदा उडान सेवा अस्थायी रूपमा बन्द गरिएकाे छ ।
आक्रमणपछि सुरक्षाका कारण उडान सेवा बन्द गरिएकाे हाे , जसले यात्रुहरूलाई मर्कामा परेका छन् ।
ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो । दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै नागरिक रक्षा टोलीहरू घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएका छन् ।
‘ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा क्षति पुगेको थियो, जसलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ,’ मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ । उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ । विमानस्थल बन्द भएपछि दुबई आउने र यहाँबाट बाहिरिने सयौँ उडानहरू प्रभावित भएका छन् ।
यो घटना कसले र किन गराएको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । अधिकारीहरूले ड्रोन आक्रमणको प्रकृति र यसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।





