
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन् ।
रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले आग्रह गरे ।
पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेका उनले बताएका छन् । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताए । मिडियामा धेरै देखिने र नदेखिने दुवै थरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उनले बताएका छन् ।
उनले भने, ‘तपाईहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला । पार्टीले क्याबिनेटमा को–कसलाई पठाउँछ भन्ने निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं । पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन । हामीलाई तपाईहरूको विज्ञता र क्षमता थाहा छ ।’
उनले चुनावको बेला जनतासँग गरिएको ‘करार’ (प्रतिबद्धता पत्र) का अक्षर–अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिँदै मन्त्री बन्ने दौडमा भन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित हुन निर्देशन दिए ।
खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो । अवतरणपछि अस्थायी हेलिप्याडबाट माथिल्लो कान्लामा सर्ने क्रममा हेलिकप्टर पल्टिएको हो ।
माथिल्लो कान्लाबाट तल्लो कान्लामा खसेको हेलिकप्टर टुक्रा टुक्रा भएको छ। तर यो दुर्घटनामा मानवीय क्षति भने भएको छैन। पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ।
स्थानीयका अनुसार के कारणले यो दुर्घटना भएको केही खुलेको छैन । हेलिकप्टर पल्टिएपछि पाइलट त्यहाँबाट अन्यत्र गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।





