
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा सञ्चालन भएको ६ महिनाको अन्तरिम कार्यकाल सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै जननिर्वाचित सरकारलाई स्वागत गर्न आफू उत्साहित रहेको बताएकी छन्।
राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको र अब देश नयाँ नेतृत्वतर्फ अघि बढ्ने चरणमा पुगेको स्पष्ट पारिन्। उनले अन्तरिम व्यवस्थाअन्तर्गत सम्हालेको जिम्मेवारी पूरा भएको सन्दर्भमा सत्ता हस्तान्तरणलाई सकारात्मक रूपमा लिएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले देशको भविष्यप्रति विश्वास व्यक्त गर्दै राष्ट्रिय एकता, इमानदारी र नागरिकहरूको श्रमबाट नयाँ उपलब्धि हासिल गर्न सकिने धारणा राखिन्।
त्यसैगरी, बिदाइ सन्देशका क्रममा उनले भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।
पूर्णपाठ :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार।
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्यो। ती ऊर्जावान् किशोर किशोरी, जसले आजीवन अपांगता व्यहोर्नु पर्यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्यो।
सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरू एक्लो हुनुहुन्न।
तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु।
भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ।
अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।
हामी सबैलाई स्मरण होला-२०८२ भदौ २३ र २४ को युवाहरूको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।
सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्यौँ।
आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रूपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।
यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरू, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरुको उच्च प्रशंसा गर्दछु।
नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।
चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।
राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ।
आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरूको योगदान ससम्मान सम्झिन चाहन्छु।
निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ।
सबै राजनीतिक दल तथा उम्मेदवारहरूले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।
यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ।
मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु।
मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।
विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ।
निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरूमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्याउन सकिनेछ।
यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- नि:स्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि साबित गरेका छौँ।
यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरिले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत साबित गरिदिएको छ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु।
छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ।
जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्यौँ। परिणामस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरूमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रूपमा कठोर कदम चालेको छ।
जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरूसँग २०८२ मंसिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ। उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेका कारण आगामी सरकारले प्राथमिकतासाथ अघि बढाउने विश्वास लिएकी छु।
आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ। र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरूको सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ।
जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छूट, सहुलियत तथा सुविधाहरू प्रदान गरी आर्थिक गतिविधि सहजरूपमा सञ्चालन गर्न र उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ।
जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन। हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्यांकन गर्ने जिम्मा यहाँहरुलाई नै छाड्न चाहन्छु। यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ। कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ।यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्यौँ भन्ने पनि दाबी छैन। तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ। पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ।
यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईँहरूकै कारण सम्भव भएको हो। यस निम्ति तपाईँहरू सबैप्रति नतमस्तक छु। यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला।
अन्त्यमा, मुलुकका सबै संस्था र सबै पक्षले आआफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन। यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु।
अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु( जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ। धन्यवाद। नमस्कार।
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।
धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णुको सातौँ अवतार मानिन्छ ।
पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।
वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गरेका थिए । रामनवमी पर्वले मर्यादित, अनुशासित र उत्तरदायी शासनको आदर्श प्रस्तुत गर्ने विश्वास छ ।
धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ । ‘व्रतार्क’ तथा अगस्त्य संहितामा यस दिन व्रत उपवास बस्दा पाप नाश भई वैकुण्ठ प्राप्त हुने उल्लेख गरिएको छ ।
यस अवसरमा जनकपुर स्थित रामजानकी मन्दिर तथा भारतको अयोध्यामा विशेष मेला लाग्ने गर्दछ । हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यी स्थानमा रामलीला प्रदर्शन, भजनकीर्तन तथा पूजा आराधना गरिन्छ ।
रामनवमीका दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी रामगीता, अध्यात्म, वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय रामायण वाचन गर्ने परम्परा रहिआएको छ ।
असत्यमाथि सत्यको विजय तथा मर्यादा पुरुषोत्तम रामको स्मरणमा मनाइने यस पर्वले मानव समाजलाई सत्य, धर्म र कर्तव्यनिष्ठताको मार्गमा अग्रसर गराउने सन्देश दिने विश्वास गरिन्छ ।
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको हो ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीको पनि शपथ गराइने छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका हुन्। बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन्।





