२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् ।

गुल्मीदरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु१च ४९०६ नम्बरको जिप आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिइन् ।

घाइतेमध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्यलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

अदालतको आदेशअनुसार ओली र लेखकलाई चैत २१ गतेदेखि लागू हुने गरी ५ दिन हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न अनुमति प्रदान गरिएको छ ।

उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । सोही क्रममा दुवै जनाको बयान लिइसकिएको प्रहरीले जनाएको छ ।

यद्यपि थप अनुसन्धान, प्रमाण संकलन तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेको भन्दै अदालतले म्याद थप गरेको हो ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात दिन हिरासतमा रहनु पर्ने भएको छ।

सम्पत्ति शुद्धीकरण कसूरमा समातिएका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न थप ७ दिनको म्याद दिएको छ ।

यसअघि पहिलो पटक पक्राउ परेका उनलाई अदालतले अनुसन्धानका लागि १० दिनको समय दिएको थियो ।

काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । बागलुङबाट पत्रकारिता सुरु गरेका कँडेल पछिल्लो समय वकालत पेसामा संलग्न थिए ।

काठमाडौं । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।

‘हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ,’ उनले भने ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ ।

सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा १० हजारसम्म जरिवाना हुनेछ ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा एक वर्षसम्म कैद तथा १० हजारसम्म जरिवाना हुनेछ ।

सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ । अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ ।

साथै सरकारले शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

काठमाडौं– नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री पोखरेलले बैठकका अन्य महत्त्वपूर्ण निर्णयहरूबारे पनि जानकारी दिए। अर्थ मन्त्रालयअन्तर्गत ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। त्यसैगरी, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि स्वीकृत गरिएको प्रवक्ता पोखरेलले बताए ।

वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ। यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले यस विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख पदका लागि सोही दलका सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गर्नुभएको छ । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुशील लम्साल र कानुन तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समर्थन गरेकी थिइन् ।

सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपसभापति अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सदनमा सभामुख निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्रस्तुत भएकाले अर्यालय प्रमुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

शुक्रबार निर्धारण गरिएको मनोनयनको समयभित्र अर्यालको मात्र उम्मेदवारी परेको थियो । १८२ सांसदसहित झन्डै दुई तिहाइ बहुमत रहेको रास्वपाले अर्याललाई सभामुख बनाएको हो ।

अर्याल धादिङको मैदीमा २०३१ सालमा जन्मिएका हुन् । २०४९ सालमा कामको खोजीमा काठमाडौँ छिरेका अर्यालले रेष्टुरेन्टमा मजदुरी गर्दै काठमाडौँमा संघर्ष गर्न थालेका हुन् । रेस्टुरेन्टबाट सुरु भएको संघर्षको उनको यात्रा पर्यटक गाइड हुँदै अगाडि बढेको थियो ।

पर्यटक गाइड बनेपछि उनी काम र अध्ययनको शिलशिलामा केही समय जापानसमेत बसेका व्यक्ति हुन् । उनीसँग देशमा र विदेशमा संघर्ष गरेको अनुभव छ । उनको विशेष दखलता शिक्षा, पर्यटन हुँदै व्यवसायसम्म थियो । जब २०७९ सालमा रास्वपा गठन भयो तब उनी राजनीतिमा सक्रिय भएका हुन् ।

रास्वपाको संस्थापक केन्द्रीय सदस्य बनेको साढे तीन वर्षमै अर्याल प्रतिनिधि सभाको समामुखजस्तो गरिमामय पदमा निर्वाचित भएका हुन् । सभामुख पद राज्यको चौथो उच्च पद हो ।

पार्टीको उपसभापतिको जिम्मेवारीमा हुँदै उनले कार्यवाहक सभापति बनेरसमेत काम गरेका छन् । पार्टी संकटमा पर्दा उनलाई सभापति रवि लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । यसअघि उनी दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भइसकेका छन् ।

रास्वपाभित्र शान्त स्वभावका नेताका रुपमा परिचित अर्याल काठमाडौँ ९ बाट दुई पटक भारी मतका साथ विजयी भएका हुन् । दुई तिहाइ बहुमत नजिक रहेको रास्वपाको उपसभापति बनेर काम गरेका अर्यालका लागि अब संसदमा निष्पक्ष सभामुख बन्नुपर्ने भूमिका छ ।

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम सुरु गर्ने निर्णय गरेको हो ।

स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 

 

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । 

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

 

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो ।

ओली र लेखक यही चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका र गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने अभियानमा लागेका गृहमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

पुराना भनिएका दलले सत्तामा रहँदा अपराधीलाई संरक्षण गरी सुरक्षाकर्मीलाई बन्धक बनाइएको उनले संकेत गरेका छन् । उनले भनेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’ अहिले सरकारले विचौलिया, व्यापारी तथा गुण्डागर्दीमा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।