काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दलहरू तथा सरोकारवालासँग सुझाव मागेको छ ।
सरकारले अघि सारेको कार्ययोजनाअनुसार विभिन्न राजनीतिक दलहरूको घोषणापत्रमा समेटिएका विषयहरूलाई समेटेर एकीकृत राष्ट्रिय प्रतिबद्धतापत्र तयार गरी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
सार्वजनिक गरिएको अवधारणापत्रमा १८ वटा प्रमुख क्षेत्र समेटिएका छन् । जसअन्तर्गत आर्थिक स्थायित्व तथा सुधार, कृषि क्षेत्रको विकास र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी रोजगारी सिर्जना र समृद्धि, शिक्षा तथा स्वास्थ्य, वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तन, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह र विद्युतीय सुशासन तथा प्रविधिको विकाससम्बन्धी विषयहरू पनि समावेश गरिएका छन् ।
यसैगरी सामाजिक न्याय तथा समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोग, खेलकुद प्रवर्द्धन, विपद् व्यवस्थापन तथा सहकारी र लघुवित्त क्षेत्रलाई समेत अवधारणापत्रमा समेटिएको छ ।
सरकारले यी सबै क्षेत्रका विषयमा व्यापक सहमति जुटाउने उद्देश्यसहित राजनीतिक दलहरू र सम्बन्धित निकायसँग सुझाव तथा प्रतिक्रिया मागेको जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निर्धारित समय सीमाभित्र सार्वजनिक गर्ने उद्देश्यसहित तथ्यांक प्रविष्टि र प्रमाणीकरणसम्बन्धी कार्यलाई तीव्र बनाएको जनाएको छ।
बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरी सोही अनुसार प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाएको हो।
बोर्डका अनुसार देशभरका विभिन्न जिल्लाबाट परीक्षासम्बन्धी आवश्यक कागजातहरू-जसमा मूल्यांकन गरिएका उत्तर पुस्तिका र अंक विवरण समावेश छन् । हालसम्म केही जिल्लाबाट सामग्री प्राप्त भइसकेको र बाँकी जिल्लाबाट पनि शीघ्रै प्राप्त हुने अपेक्षा गरिएको छ।
यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएसँगै सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको थियो, जसका कारण मुल्यांकन प्रक्रिया छिटो अगाडि बढेको बोर्डको भनाइ छ।
नतिजा प्रकाशन प्रक्रियालाई समयमै सम्पन्न गर्न बोर्डले करिब तीन दर्जन कर्मचारी परिचालन गरेको छ । जसअन्तर्गत अंक प्रविष्टि कार्यका लागि मात्र करिब दुई दर्जन कर्मचारी खटिएका छन्। कार्यतालिका अनुरूप प्रगति सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनहरूमा समेत कर्मचारीहरूले नियमित रूपमा काम गरिरहेको जनाइएको छ।
सरकारले नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको परिप्रेक्ष्यमा बोर्डले सो समय सीमा पालना गर्दै त्रुटिरहित नतिजा प्रकाशन गर्ने तयारी गरेको स्पष्ट पारेको छ।
नेपाली काँग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि पार्टी सभापति गगन कुमार थापाले अभियानको शुभारम्भ गरेका हुन्।
सभापति थापाले मंगलबार काठमाडौँ महानगरपालिका-३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरेका छन्।अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
काठमाडौँ । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको समितिको बैठकले सांसदका स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठक सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।
बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीका नाममा सांसदहरूको स्वकीय सचिवको पद खारेज गरेको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै उक्त सुविधा हटाइएको थियो ।
त्यति बेला गरिएको निर्णयप्रति संसदका पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए । सोही क्रममा तत्कालीन सभामुख देवराज घिमिरे सहितका नेताहरूले प्रधानमन्त्री कार्कीसँग भेट गरेर आपत्ति जनाएका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।’
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र मनोबलमा पृद्धी हुनेछ। नेतृत्व क्षमता बलियो बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। सरकारी वा प्रशासनिक कार्यबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक व्यवस्थापनलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ। आफ्नो क्षमता अनुसार काम गर्नमा सफल भइनेछ। पुरानो कामबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसरहरू देखापर्ने सम्भावना रहेको छ। साथीभाई वा सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनत अनुसार परिणाम प्राप्त नहोला। वरिष्ठ व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। पुरानो कामलाई नै निरन्तरता दिनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा चुनौतीहरू पन्छ्याउँदै नयाँ काम तर्फ अग्रसर हुने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। यात्राको अवसर मिल्न सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य राखेर काम गर्दा सफलता प्राप्त हुनेछ। अनावश्यक खर्च बढ्ने भएकाले आर्थिक पक्षमा ध्यान दिनुहोस्। स्वास्थ्यमा कमजोरीले थकानको अनुभव हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी तथा सहकार्य काममा सफलता मिल्ने योग छ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा व्यस्तताले गर्दा थकानको अनुभव हुनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। आर्थिक रूपमा सन्तुलित स्थिति रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ योजनाहरू सफल हुनेछन्। आर्थिक रुपमा लाभदायी समय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन र कलात्मक क्षेत्रबाट राम्रो अवसर प्राप्त हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। बाटो काट्दा र यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कानुनी मुद्दा मामलामा सफलता मिल्नेछ। धर्मकर्मतर्फ मन जानेछ। सामाजिक कार्यक्रमहरूमा सक्रियता बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। रोकिएको काम पुनः प्रारम्भ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। अरुको लागि खर्च गर्नुपर्ला। अनावश्यक वादविवादबाट टाढा रहनुहोस्। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् ।
सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।
आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।
भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ । तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।