मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक जानकारीअनुसार उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।
काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो ।
पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव भट्टले अहिले उनलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको बताए ।
उनी कुन जिम्मेवारीमा रहन्छिन् भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उनको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गरेको बताए ।
बैठकमा महासचिवले विभिन्न ११ वटा कार्यसूची (एजेण्डा) प्रस्तुत गरेका थिए । बैठकमा प्रस्तुत गरिएका प्रमुख एजेण्डाहरूमा पदाधिकारीहरूको वरीयता क्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजन रहेका छन् । एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ ।
यस्तै, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिए ।
एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे पुनः अध्यक्षको निवासमा बस्ने तय भएको छ । सो बैठकमा सोमवार प्रस्तुत गरिएका बाँकी एजेन्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको भनी यसअघि जारी गरिएको सूचना गलत रहेको भन्दै क्षमा मागेको छ । सोमबार विज्ञप्ति जारी गरी मन्त्रालयले झा अहिले पनि इरानमा थुनामै रहेको जानकारी दिँदै गलत सूचनाबाट पर्न गएको अन्योलप्रति माफी मागेको हो ।
साथै झाको रिहाइका लागि कूटनीतिक प्रयास भइरहेको पनि मन्त्रालयले जानकारी गराएको छ । उदयपुरको गाईघाटका ३० वर्षीय झालाई इरानी सुरक्षा फौजले होर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । इरानमा तेल लिन जाने क्रममा होर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट उनी पक्राउ परेका थिए । झा दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका थिए ।
यस्तो छ मन्त्रालयको विज्ञप्ति
इरानको Qeshm Island मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परी हाल सोही मुलुकको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक श्री अमृत झाका सम्बन्धमा देहायबमोजिम जानकारी गराइएको छ:
क. अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा नेपाली नागरिक श्री झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका।
ख. १५ अप्रिल २०२६ का दिन इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत श्री कुमार राईलाई “Dear Mr. Kumar today, with the follow-up efforts I fortunately received news of Mr. Amrit’s release. His release letter has been issued, and he is free as of today” भनी खबर पठाएको र उक्त बेहोरा माननीय परराष्ट्र मन्त्रीज्यू र सचिवज्यूलाई सम्बन्धित महाशाखा प्रमुखबाट प्रतिवेदन भएको। त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको। उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको। साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पुरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको। तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले Expert report तयार गर्न भनेको। तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ।
ग. इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ।
घ. मन्त्रालयमा प्राप्त पछिल्लो जानकारी अनुसार Expert Report का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ।
_______
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८३ जेठ ४, सोमबार।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विभिन्न विकास आयोजना र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उनले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गरेका हुन् ।
बैठकमा विशेष प्लेकार्डसहित उपस्थित भएका सांसद राईले संविधान र कानून भए पनि जनताले आधारभूत आवश्यकताहरू जस्तै खानेपानी, सडक र नुन समेत सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले अर्थमन्त्रीलाई भेटेर बुझाइएको मागपत्रका बुँदाहरू स्मरण गराउँदै धरान र आसपासका क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरे ।
सांसद राईले धरानको मुख्य समस्याका रूपमा रहेको खानेपानी समाधानका लागि ‘सप्तकोशी धरान खानेपानी आयोजना’ सुरु गर्न माग गरे । यस्तै, धरानका सर्दु, सेउती, सेरा र अँधेरी खोलाहरूमा तटबन्धन गरी बस्ती जोगाउन तथा फोहोर व्यवस्थापनका लागि ‘स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण गर्न बजेट माग गरे ।
सडक पूर्वाधारतर्फ धरान–बराहक्षेत्र–नडाहा सडक, भल्वाचौरी सडक, चतरा–सूर्यकुण्ड सडक, र धरानका विभिन्न वडा जोड्ने सडकहरूको स्तरउन्नति तथा कालोपत्रेका लागि उनले ध्यानाकर्षण गराए । साथै, कोका खोला, मसाने खोला र निसान डाँडा क्षेत्रमा मोटरेबल पुल निर्माण गर्नुपर्ने उनको माग छ ।
भुटानी शरणार्थीको पारिवारिक पुनर्मिलन, मुक्त कमैयाको समस्या समाधानका लागि कार्यदल गठन र राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीहरूको पद तोक्नुपर्ने विषयमा पनि उनले जोड दिए । विगतको आन्दोलनमा क्षति पुगेको सिंहदरबारभित्रको कुनै एक संरचनाको पुनर्निर्माणका लागि आफ्नो पार्टीलाई अनुमति दिन माग गरे ।
उनले सो संरचना आफूहरूले सरकारी खर्चबिना केवल श्रमदानमार्फत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । संविधान र कानून भए पनि जनताले गाँस, बास, कपास र पूर्वाधार नपाएकोमा उनले आक्रोश पोखे । संविधान भएको देश, खाने धान नभएको देश, कानून भएको देश, खाने नून नभएको देश भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका उपनेता गणेश पराजुलीले संसद्मै माफी मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले माफी मागेका हुन् ।
“केही दिनअगाडि यो सम्मानित सदनबाट मैले सम्बोधन गर्दैगर्दा मबाट भावसहित प्रस्तुत भएका केही शब्दप्रति आपत्ति जनाइएको थियो । उक्त शब्दहरूलाई असंसदीय र अशिष्ट भनेर यो संसद्बाट हटाउन माग भएबमोजीम सभामुखज्यूले हटाउने आदेश गरिसक्नुभएको छ,” पराजुलीले भने ।
उनले अगाडि थपे, ”सम्मानीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधिसभा नियमावली मस्यौदाको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आम जनतामा पर्न गएको त्यो असर त्यसले पारेको दुःखप्रति म गहिरो दुख व्यक्त गर्दै क्षमा याचना गर्न चाहुन्छु ।”
यसअघि गत २९ वैशाखको बैठकमा उनले बोल्ने क्रममा ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने शब्द बोलेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ ।
नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड परिवर्तन गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताइन् ।
उनले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गरिन् । उनका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् ।
उनले भनिन्,‘नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगायो । सरकारको तर्क थियो । उहाँहरूलाई शोषण र हिंसाबाट सुरक्षित गर्नु । तर के यो प्रतिबन्धले महिलाहरूलाई साँच्चिकै सुरक्षित बनाउन सक्यो ? यथार्थ हेर्दा, प्रतिबन्धले घरेलु कामदारका रूपमा विदेश जाने क्रम रोकिएको छैन । हाम्रा महिलाहरुलाई खाडिसम्म पुर्याउन एजेन्टहरुले विभिन्न वैैकल्पिक रुट प्रयोग गरिरहेको छन् । कहिले भारत हुँदै, कहिले अफ्रिकी मुलुकहरूलाई ट्रान्जिट बनाएर उनीहरूलाई गन्तव्य देशसम्म पुर्याइन्छ ।’
सांसद ओलीले मानव बेचबिखनमा संलग्न एजेन्ट नेटवर्क नेपालबाट ध्वस्त पार्न आवश्यक रहेको भन्दै अहिले १० देखि १२ लाख रुपैयाँसम्म लिएर महिलाहरूलाई कुवेतलगायत मुलुकमा बेच्ने काम भइरहेको दाबी गरिन् ।
‘सारा मान्छे बेच्ने एजेण्ड नेटवर्क नेपालबाट ध्वस्त हुनु आवश्यक छ । अहिले १० देखि १२ लाखमा महिलाहरुलाई कुवेतमा बेच्ने काम गरिराखेका छन् । एजेण्डहरुको छिनोफानो राज्यले नगरेसम्म चेलिबेटीहरु बेचिरहन्छन्,’ उनले भनिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो ।
बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो ।
उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे ।
उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’
सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।