२०८३ श्रावण ७ गते बिहीबार
२०८३ श्रावण ७ गते बिहीबार

शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । बैंकिङ कसुरमा अग्रवाललाई बुधबार प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिल्लीबजारबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्तासमेत रहेका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

उसो त शंकरलाल अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका थिए । सीआईबीले केही दिन हिरासतमा राखेर अनुसन्धान गरेका अग्रवाललाई सामान्य तारिखमा रिहा गरेको थियो ।

सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै न्यायिक समिति गठन गरिएको जानकारी दिए ।

‘गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने,’ उनले भने ।

मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो । श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ । श्रम कानुनअनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्नेलगायत विषय विभागले जारी गरेको परिपत्रमा उल्लेख छ । हेल्लो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउनसमेत विभागले निर्देशन दिएको छ ।

नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागू हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको हुँदा सोही ब्यहोरा अवगत गराउँदै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

बुधवार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड बिना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोडेका थिए ।

यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए । काँग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ बिनाको दौडसँग तुलना गरेका हुन् ।

सभापति थापाले भने, ‘म एक छिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो–गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ ।’

उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाए ।

अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।  

वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बिचमा फसेका छन्। उनीहरू सुरक्षित स्थानमा जान नसक्ने अवस्थामा रहेकाले तत्काल उद्धार आवश्यक भएको उनले बताए । 

बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा समेत क्षति पु¥याएको छ। खोलाले दुवैतर्फको जमिन कटान गरेपछि आयोजनास्थल थप जोखिममा परेको र त्यहाँ रहेका कर्मचारीहरू उद्धारको प्रतीक्षामा रहेको जनाइएको छ ।

वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि लगातार बाढी आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले बताए । 

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले बेपत्ता वृद्धको खोजी र जोखिममा परेका चार जनाको सुरक्षित उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ । लगातारको वर्षाका कारण दोलखाका नदी तथा खोलामा जल स्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।