२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यसअघि शाहीले आजै दाबी पेस गरेका थिए । उनले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।

आज नियुक्त भएका शाहीको शपथ भने भोलि मात्रै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो आएको छ।

भारतले वालेन्द्रलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि दिल्लीस्थित विदेश मन्त्रालयले मंगलबार गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कुराको पुष्टि गरेका हुन् । उनले मङ्गलबार पत्रकार सम्मेलनमा बालेनलाई भ्रमणको निम्तो पठाइएको बताए।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त घटनाले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

पार्टीका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

विज्ञप्तिमा साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई अपिल गरिएको छ । साथै, अफवाह र उत्तेजनाको पछि नलागी उच्च संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

रास्वपाले वर्तमान परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा अवस्था सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाएको छ ।

पार्टीले घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न पार्टी निरन्तर छलफलमा रहेको जनाइएको छ ।

साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरिएको छ । रास्वपाले आफ्ना स्थानीय समिति तथा सम्पूर्ण पार्टी पंक्तिलाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरुको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले हाल केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय तथा दर्जनौँ तलबविहीन स्वकीय राखेको आरोप लगाएका हुन् । मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उनले बताए ।

सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखे पनि स्वकीय र सल्लाहकारको संख्या बढाएर उल्टै खर्च बढाएको बताए । स्वकीय र सल्लाहकारको हस्तक्षेपले कर्मचारीतन्त्रको मनोबल समेत कमजोर हुँदै जाने भएकोले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।

स्वकीय सचिव र सल्लाहकारको बढ्दो संख्या सुशासन, सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्यसम्पादनका लागि चुनौती बनेको उनले बताए । घिसिङले आफू मन्त्री हुँदा तीनवटा मन्त्रालय सम्हाल्दा तलबसहित एक जना मात्र स्वकीय सचिव र बिना पारिश्रमिक एक जना सल्लाहकार राखेको उल्लेख गरे ।

‘अब मैले अहिले सुनिरहेको छु मन्त्रीहरूले ५–७ जनासम्म तलबै दिएर स्वकीयहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ २०–३० जना छन् रे । अब त्यो कसरी व्यवस्थापन गर्नुभएको छ, मन्त्रालयको साथीहरूसँग बुझ्दा खेरी मन्त्रालयको सहसचिव र अरू साथीहरूलाई बस्ने ठाउँ छैन,’ उनले भने, ‘ स्वकीय तलब दिएर र नदिएर राखिएका सल्लाहकारहरू र स्वकीयहरूले मन्त्रालयको पुरै फ्लोरहरू नै भरेको छ भन्ने मैले सुनेको छु । यो राम्रो विषय होइन । सरकारले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘मन्त्रीहरूको सल्लाहकारहरू धेरै राख्दा खेरि धेरै किसिमको इन्फ्लुएन्सहरू पनि बढ्न सक्ने सम्भावना हुन्छ । त्यसले गर्दा खेरि जनतासँग प्रत्यक्ष रूपमा जोडिन नसकिने तर स्वकीय र सल्लाहकारको भूमिकामा रहने साथीहरूले मन्त्रालयका विभागका सचिवदेखि लिएर कर्मचारीहरूलाई अझ धेरै ओभरटेक गर्ने जस्तो कुरा गुनासोहरू पनि हामीले सुनेका छौ । ब्युरोक्रेसी भनेको एउटा हाइरार्कीमा चल्ने संयन्त्र हो । त्यो संयन्त्रलाई निराश बनाएर, निरुत्साहित पारेर बाहिरबाट बढी हस्तक्षेप भयो भने त्यसले सुशासन कायम गर्न गाह्रो हुन्छ ।’

उनले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति पनि प्रश्न उठाए । सक्षम र योग्य व्यक्तिलाई नियुक्त गरेर सांसदको कार्यक्षमता बढाउने उद्देश्य भएमा स्वकीय सचिव राख्ने व्यवस्था सकारात्मक हुन सक्ने भएपनि व्यवहारमा अधिकांशले आफ्ना निकटका व्यक्तिलाई रोजगारी दिलाउने माध्यमका रूपमा प्रयोग गरेको उनको आरोप छ ।

उनले सांसदहरू सेवाभावका साथ राजनीतिमा आएकोले छुट्टै सरकारी सुविधा थप्नुको सट्टामा आवश्यक परे आफ्नै तलबभित्रबाट स्वकीय सचिव राख्न सक्नुपर्ने बताए । मन्त्रीका हकमा पनि विगतदेखि रहेको सीमित संख्याको व्यवस्थाभन्दा बढी स्वकीय र सल्लाहकार राख्ने प्रवृत्ति गलत भएको उनको भनाई छ ।

स्वकीय सचिव र सल्लाहकारसम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्दै सरकारी खर्च नियन्त्रण, प्रशासनिक अनुशासन र सुशासनलाई प्राथमिकता दिन उनले सरकारसँग आग्रह गरे ।

देवानगञ्जमा भएको घटनापश्चात सुनसरीका विभिन्न स्थानमा प्रदर्शन सुरू भएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।

देवानगञ्जमा दुई समुदायका बीचमा भएको झडप पछि शसस्त्र प्रहरीले गोली चलाँउदा एकजनाको ज्यान गएपछि आज घटनाको विरोधमा प्रदर्शन भइरहेको छ । तोडफोड र आगजनी भएपछि सुनसरीको पकलीदेखि कोशी व्यारेजसम्म मुख्य राजमार्गमा कर्फ्यू जारी भएको छ ।

यस्तै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ । सुनसरीका सीडीओ ईश्वर प्रसाद अर्यालद्धरा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ।

देवानगञ्ज क्षेत्रमा पनि हिजोदेखि नै कर्फ्यू जारी छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले बताए ।

श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने पनि बताएका छन् ।

‘तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने छ,’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेखेका छन् ।

नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेको हो ।

जसबाट बिरामीहरु मर्कामा परेका छन् । गत शनिवार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो ।

आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको संघले बताएको छ । साथै संघले जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रिय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुव्र्यवहार गरेको आरोप पनि लगाएको छ ।

घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै चिकित्सक संघले मंगलवार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

यससँगै काठमाडौंको स्तूपा सामुदायिक अस्पताल, एभरेष्ट हस्पिटल, भेनस हस्पिटल लगायतका अस्पतालमा बिरामी हजारौँ बिरामी प्रभावित भएका छन् । संघले दोषिमाथि कारबाही नगरे आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोपमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

अहिले डा.रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकले देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका छन् ।

लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू मंगलबार बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन् ।

लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक, कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् ।

साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरूपण गर्न सरकारसँग उनीहरूको माग छ ।

भूमि प्रशासन कार्यालय विराटनगरका कर्मचारीसँगको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख कीर्ते गरी बिक्री गरिएको र त्यही जग्गा धितो राखेर एक करोडभन्दा बढी ऋण प्रवाह भएको तथ्य खुलेको छ ।

मोहीको नाम गायब पारेर नामसारी गरिएको जग्गामा २४ घण्टा नबित्दै रु. १ करोड ३० लाख ऋण लगानी हुनुमा बैंक, बिचौलिया र भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय)को मिलेमतोको आशंका गरिएको छ ।

जग्गाको मूल स्रेस्तामा मोहीको नाम स्पष्ट रूपमा उल्लेख हुँदाहुँदै नयाँ खरिदकर्ताको लालपुर्जा तयार गर्दा मोहीको महल खाली राखिएको थियो । त्यसकै आधारमा सिटिजन्स बैंकको विराटनगर शाखाले असार ३१ गते उक्त जग्गा धितो राखी ऋण प्रवाह गरेको पाइएको छ । यो जग्गा असार ३० गते मात्रै भूमि प्रशासन कार्यालयबाट विराटनगरस्थित सन सप्लायर्सको नाममा नामसारी भएको थियो ।

के हो घटना ?

जहदा गाउँपालिका–५ (साविक मझारे–३) स्थित कित्ता नम्बर ८० को ४,२८० वर्गमिटर (१२ कट्ठा १५ धुर) जग्गामा अजबलाल केवट (दास) मोही थिए। जग्गाधनी रोमीदेवी चौधरीको नाममा रहेको लालपुर्जाको मोही महलमा केवटको नाम स्पष्ट देखिन्छ ।

रोमीदेवीका श्रीमान् दिलीपकुमार चौधरीले २०७९ सालमा उक्त जग्गा राजेन्द्रप्रसाद केवटसँग रु. १३ लाख ऋण लिएर धितोका रूपमा पास गरेका थिए । तर पछि उक्त जग्गा सन सप्लायर्सलाई बिक्री गर्दा राजेन्द्रप्रसादलाई कुनै जानकारी दिइएको थिएन ।

भूमि व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाअनुसार मोही रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा मोहीको लगत कट्टा नगरी त्यस्तो जग्गा धितो राखेर ऋण प्रवाह गर्न पाइँदैन । तर यस प्रकरणमा मोहीलाई जानकारी नै नदिई लगत कट्टा गरी असार ३० गते रोमीदेवी चौधरीको नामबाट विराटनगरस्थित सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा राजीनामा पारित गरिएको थियो ।

जग्गा पास भएको भोलिपल्ट अर्थात् असार ३१ गते सिटिजन्स बैंकको विराटनगर शाखाले सोही जग्गा रोक्का राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको छ । एकै दिनमा धितो मूल्याङ्कन, आवश्यक प्रक्रिया र ऋण स्वीकृति कसरी सम्पन्न भयो भन्ने विषयले शंका उत्पन्न गरेको छ ।

बैंकले एक करोड ३० लाख बराबर धितो मूल्याङ्कन गरेको उक्त जग्गाको वास्तविक बजार मूल्य भने करिब ३० देखि ३२ लाख रहेको स्रोतको दाबी छ । भूमि प्रशासन कार्यालयमा जग्गा पास गर्दा भने ठूलो (किनबेच मूल्य) रु. ४३ लाख ६५ हजार ६०० कायम गरिएको देखिन्छ ।

पछि सच्याइयो अभिलेख

मोहीको नाम हटाइएको विषयमा सञ्चारकर्मीले चासो राखेपछि भूमि प्रशासन कार्यालयले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप लागेको छ । कार्यालयको स्रेस्तामा रहेको मोहीको नाम–थर महलमा पछि हतारहतार डटपेनले ‘अजबलाल केवट’ थपिएको देखिएको छ ।

तर बैंकमा पेश गरिएको तथा बैंकले धितोका रूपमा स्वीकार गरेको लालपुर्जामा भने मोहीको नाम उल्लेख छैन । कीर्ते भएको विषय सार्वजनिक भएपछि मात्रै कार्यालयको मुद्रित अभिलेखमा हातले नाम थपिएको र त्यसपछि डिजिटल अभिलेखसमेत सच्याइएको स्रोतको दाबी छ ।

भूमि प्रशासन कार्यालय विराटनगरका गुनासो सुन्ने अधिकारी तथा अधिकृत ढाकाप्रसाद बरालले राजीनामा पारित गर्ने क्रममा प्राविधिक समस्याका कारण कमजोरी भएको बताए । नयाँ धनीपुर्जा पनि उनले नै जारी गरेका थिए ।

उनले सामान्य त्रुटि देखिएपछि सच्याइएको दाबी गरे । तर उनको दाबी तथ्यसँग मेल नखाने देखिन्छ । किनभने जग्गा पास गर्नुअघि भरिने ‘अनुसूची–१४’ को अनलाइन फाराममा समेत मोहीको नाम उल्लेख गरिएको थिएन, जसले नियतवश नाम हटाइएको आशंका बलियो बनाएको स्रोतको भनाइ छ ।

‘कार्यालयको अभिलेखमा हामीले सच्याएका छौं । उहाँ (खरिदकर्ता)सँग गएको लालपुर्जामा मोहीको विवरण छैन,’ बरालले भने । उनले जग्गा पास भएको भोलिपल्टै ऋण प्रवाह भएको विषय आफूलाई जानकारी रहेको पनि बताए ।

सिटिजन्स बैंक विराटनगर शाखाका प्रबन्धक प्रणव तिमिल्सिना सम्पर्कमा आउन चाहेनन् । बैंकका केन्द्रीय सूचना अधिकारी नारायणराज अधिकारीले भने सम्बन्धित फाइल अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिन सक्ने बताए ।

बिचौलियाको भूमिका

सन सप्लायर्सका सञ्चालक सचिन साहले बैंकबाट रु. १ करोड ३० लाख ‘पर्चेजिङ लोन’ लिएको स्वीकार गरे । ‘बैंकबाट १ करोड ३० लाख ऋण लिएको हो । यो पर्चेजिङ लोन हो,’ उनले भने, ‘जग्गा पास भएको भोलिपल्टै ऋण लिएको हुँ ।’

उनका अनुसार ऋण मिलाउने काम रंगेलीका अजय मण्डलले गरेका थिए । स्रोतका अनुसार भूमि प्रशासन कार्यालयबाट मोहीको नाम हटाउनेदेखि बैंकबाट ऋण स्वीकृत गराउनेसम्मको सम्पूर्ण प्रक्रिया मण्डलले नै मिलाएका थिए ।

यता, जग्गा बिक्रेता रोमीदेवी चौधरीको परिवारले भने एक करोड ३० लाख प्राप्त नगरेको स्रोतको दाबी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।