
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि समीक्षा गरौं । हामीबाट भएका कमजोरीहरू के छन्, त्यसको पनि खोजी गरौं । कमजोरीका कारण कतै जनतामा निराशा बढेको छ, कम्युनिष्ट पार्टीप्रतिको आकर्षण घटेको छ । यसको खोजी गर्ने काम गरौं । त्रुटि सच्याउने साहस गरौं। धुलो टकटक्याएर फेरि उठौं । हामी सबै चुनौतीको सामना गर्न सक्छौं भन्ने नयाँ विश्वासका साथ अगाडि बढौं ।’
नेपालले कम्युनिष्ट पार्टी व्यक्तिपूजाभन्दा नीति, विचार र सिद्धान्तमा आधारित हुनुपर्ने धारणा पनि राखे । उनले नेताहरूको चाकडी र जयजयकार गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै पार्टीभित्र नीतिगत बहस र वैचारिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टी नीति प्रदान गर्ने पार्टी हो, विचार प्रदान गर्ने पार्टी हो। नेताहरूको चाकडी गर्ने काम कसैले नगर्नुस्, जयजयकार पनि नगर्नुस् । यो सबै पार्टीमा लागू हुन्छ । व्यक्तिभन्दा नीतिमा जोड दिनुस्, पार्टीको विचार र सिद्धान्तमा जोड दिनुस् । नेपालको राजनीतिमा जनताको विश्वास जोगाउने काममा हामीले अग्रसर हुनैपर्छ। यस सन्दर्भमा हामी सबै हातेमालो गरौं ।’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले हाम्रो इतिहासका गुनगान त धेरै गायौं, तर इतिहासको पाठ सिक्न सकेनौं । त्यसकै कारण आज कम्युनिष्ट आन्दोलन संकटमा छ, रक्षात्मक अवस्थामा छ । इतिहासको भारी बोकेर होइन, इतिहासले दिएको शिक्षाका आधारमा वर्तमानका चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्दै भविष्यको संकल्पका साथ आन्दोलनलाई अघि बढाउन सके मात्रै आन्दोलनले जीवन्तता प्राप्त गर्न सक्छ ।’
पोखरेलले वामपन्थी दलहरूबीच प्रयोग हुने घृणायुक्त भाषाले वामपन्थी मतदातालाई निराश बनाएको पनि बताए । उनले दलहरूबीच सहमति हुँदा अत्यधिक आत्मीयता प्रदर्शन गर्ने तर मतभेद हुँदा एकअर्कालाई शत्रुको रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले मतदातामा नकारात्मक सन्देश गएको बताए ।
उनले भने, ‘हामीहरूले एकले अर्काका विरुद्ध प्रयोग गर्ने घृणाका भाषाले वामपन्थी मतदातालाई हामीबाट टाढा पुर्यायो । हामी मिल्दा अंगालो हालेर मिल्ने, तर विषयमा कुरा नमिल्दा एकअर्कामाथि शत्रुजस्तै प्रहार गर्ने र घृणाको राजनीति गर्ने प्रवृत्तिबाट वामपन्थी मतदाता भड्किएका हुन् । यो सत्यलाई नबुझ्ने हो भने जे बोले पनि जनताले मन पराउँछन् भन्ने मान्यता गलत साबित हुन्छ ।’
पोखरेलले मतभेदका बीच पनि राजनीतिक संस्कार कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै वामपन्थी नेताहरूले असहमतिलाई शत्रुताको रूपमा चित्रण गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएकाे छ। जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।
गैरकानुनी रूपमा थुनामा राखेको भन्दै मेडिकल व्यवसायी प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।
प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो ।
कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा कविलाल बीसीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत चन्द्रा सिंह शनिबार बिहान कार्यालयकै आवासगृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनका श्रीमान् महेश बस्नेतले तत्काल उद्धार गरी देउती अस्पताल हुँदै प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइती भएकी चन्द्राको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा कार्यरत थिइन्। उनका एक छोरी छन्।
चन्द्राको अस्वाभाविक मृत्यु भएपछि उनका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए।
त्यही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट कविलाल बीसीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा सिंह र कविलाल बीसीबीच फेसबुकमार्फत भएका कुराकानी तथा केही शंकास्पद च्याट फेला परेका छन्।
‘प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुकमा नियमित संवाद भएको र केही शंकास्पद विषयवस्तु भेटिएको छ,’ एसपी पोखरेलले भने, ‘अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको छ।’
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।
दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ ।
घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३-०८४ को बजेट तथा कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र उत्तरदायी बनाउन ५२ बुँदे कार्यान्वयन मार्गदर्शन लागू गरेको छ। मार्गदर्शनले वित्तीय अनुशासन, पारदर्शिता र नतिजामुखी खर्च व्यवस्थापनलाई प्राथमिकतामा राख्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम तथा अन्तर्क्रिया आयोजना गर्न रोक लगाएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाले हस्ताक्षर गरेको उक्त मार्गदर्शन प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायमा लागू गरिएको हो।
मार्गदर्शन अनुसार चालु खर्च नियन्त्रण गर्न कानुनले अनिवार्य गरेका बाहेक असार महिनामा तालिम, गोष्ठी, सेमिनार र अन्तर्क्रिया सञ्चालन गर्न पाइने छैन। यस्ता कार्यक्रम सञ्चालन गर्नैपर्ने अवस्था आएमा सकेसम्म भर्चुअल माध्यम वा सरकारी सभा हलको उपयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
बजेट कार्यान्वयनमा अनुशासन कायम गर्न चैत्र मसान्तसम्म कार्यान्वयन हुन नसक्ने वा खर्च नहुने आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, दोहोरो रूपमा समावेश भएका कार्यक्रम रोक्का राखी सम्बन्धित बजेट फिर्ता गर्ने निर्देशन पनि दिइएको छ।
पूर्वाधार निर्माणको पारदर्शिता सुनिश्चित गर्न १० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएका सबै निर्माण कार्य सार्वजनिक प्रतिस्पर्धामार्फत मात्रै गराउनुपर्ने व्यवस्था गरिएको छ। साथै, आयोजना कार्यान्वयनमा ढिलाइ, लागत वृद्धि वा त्रुटिपूर्ण डिजाइन तथा लागत अनुमानका कारण राज्यलाई नोक्सानी पुर्याउने पदाधिकारी तथा सम्झौताअनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।
मार्गदर्शनले कर्मचारी व्यवस्थापनमा पनि खर्च नियन्त्रणका उपाय अघि सारेको छ। नियमित कार्यसम्पादनका क्रममा कर्मचारी तथा पदाधिकारीले बैठक भत्ता वा अतिरिक्त समय भत्ता लिन नपाउने व्यवस्था गरिएको छ। कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालकजस्ता पदमा नयाँ पदपूर्ति नगर्न तथा आवश्यक परे बहुसीपयुक्त जनशक्तिलाई मात्र करार सेवामा नियुक्त गर्न निर्देशन दिइएको छ।
सवारी साधन खरिद गर्नुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ भने विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। बहुवर्षीय आयोजनाको भौतिक तथा वित्तीय प्रगति विवरण प्रत्येक त्रैमासिक रूपमा पेश गर्नुपर्ने तथा पीएलएमबीआईएस प्रणालीमा खर्च प्रतिबद्धता प्रविष्टि नगरी कुनै पनि भुक्तानी नगर्न प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ।
त्यसैगरी, जिन्सी निरीक्षणबाट प्रयोगयोग्य नरहेका सवारी साधन तथा अन्य सामग्री छ महिनाभित्र लिलाम गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले जारी गरेको मार्गदर्शनले बजेट कार्यान्वयनमा वित्तीय अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यसम्पादन सुनिश्चित गर्न सबै निकायलाई निर्देशन दिएको छ।
जिल्ला सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बी आर ०९ एम ३७ ६६नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागू औषध गाँजा बरामद गरिएको हो ।
कार चालक देश भारत, सितामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो तथा सोही कारमा सवार सोही ठेगाना भएका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ ।
हाल बरामद भएको गाँजा, कार तथा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
दुर्गा प्रसाई पक्राउ परेका छन्।
आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले प्रसाईंविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए।
प्रसाईंले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरूद्ध आन्दोलन चर्काउने भन्दै पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।
उक्त घोषणा पछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा प्रहरीले सोमबार बिहान छापा मारेको छ।
अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको भन्ने सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको हो। छापाका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने सडक केही समयका लागि अवरुद्ध गरिएको थियो भने सर्वसाधारणको आवतजावतसमेत रोकिएको थियो।
मुन्दडा परिवारको देवनरा ग्रुपअन्तर्गत दर्जनौँ उद्योग–व्यवसाय सञ्चालनमा छन्। विशेषगरी चाँदीको कारोबारमा ठूलो लगानी रहेको समूहमाथि प्रहरीले चाँदी कारोबारसँग सम्बन्धित विषयमा शंका गर्दै खोजतलास गरेको हुन सक्ने अनुमान गरिएको छ।
विगतमा उक्त समूहमाथि अवैध हुन्डी कारोबारको आरोप लाग्दै आए पनि त्यसको औपचारिक पुष्टि भने भएको थिएन।
प्रहरीको खानतलासीका क्रममा कुनै अवैध सामग्री वा शंकास्पद वस्तु फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए। उनका अनुसार सूचनाको आधारमा गरिएको खोजतलासमा केही पनि फेला नपरेपछि प्रहरी टोली फर्किएको हो।





