२०८३ श्रावण २६ गते मंगलवार
२०८३ श्रावण २६ गते मंगलवार

रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका-३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अनिल थापाले जानकारी दिए।

उनकाअनुसार विस्फोटमा परी ७ जना घाइते भएका थिए। जसमध्ये एक जनाको मृत्यु भएको हो। आमाछोदिङमो-४ का स्थानीय तथा उक्त हाइड्रोमा कार्यरत सोनाम घलेको मृत्यु भएको हो।

डीएसपी थापाका अनुसार लाङटाङ भोटेकोशी हाइड्रोपावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोष्टमा लगिएको थियो। त्यही क्रममा बिस्फोट भएको हो।

यस घटनामा परी घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए।

त्यस्तै दुई जना सैनिक र एक जना कर्मचारीको उपचारका लागि हेलिकप्टरबाट काठमाडौंस्थित सेनाको छाउनी अस्पतालमा ल्याइएको उनले बताए।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतले हाइड्रो प्रोजेक्टको म्याद गुज्रेको विस्फोटक पदार्थ नष्ट गर्नेक्रममा विस्फोट भएको बताए।

 

 

 दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।

छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पु¥याउने विषयमा समेत छलफल गरिएको थियो।

दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो।

मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माणलाई सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन् । परिवार र समुदायबाटै दाइजोविरुद्धको चेतना विस्तार गर्दै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै पक्षलाई अभियानमा जोड्नुपर्ने उनले बताइन् । 

मन्त्री बादीले यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग पनि दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानका विषयमा छलफल भएको जानकारी गराउँदै आगामी दिनमा यस विषयमा अन्य सरोकारवालासँग समेत छलफल तथा परामर्श गरी प्राप्त राय सुझावका आधारमा अभियानलाई अघि बढाइने बताइन् । 

भेटवार्ताका क्रममा मधेसी आयोगले मधेशमा महिला तथा बालबालिकाले सामना गरिरहेका बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम तथा बालशोषण, मानव बेचबिखन तथा ओसारपसार, नागरिकता तथा पहिचानसम्बन्धी समस्या र महिलाको निर्णय प्रक्रियामा न्यून सहभागिता लगायतका विषयमा समेत आफ्ना राय सुझाव प्रस्तुत गरेको थियो।

दाइजो प्रथा अन्त्यका लागि ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास, समुदायस्तरमा निरन्तर जनचेतना विस्तार, युवाको नेतृत्व र सहभागिता वृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे ।

उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे ।

‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ,’ उनले भने ।

शाहीले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफूले देश र संसदलाई साक्षी राख्दै स्वास्थ्य परीक्षणका लागि अपिल गरेको बताए ।

‘यही संसदमा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको विभागको टोली छ । चिकित्सकको टोलीबाट शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको वा देखिएको प्रमाणित भयो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु,’ उनले भने ।

उनले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे । उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफूले राजनीतिक जीवनबाटै संन्यास लिने घोषणा गरे ।

‘सामाजिक सञ्जालमा भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरूसम्बन्धी कुरा हो । सम्माननीय सभामुख महोदय, म तपाईंको संसदको सदस्य हुँ । संसदको गरिमा र मर्यादा कायम गर्नु मेरो कर्तव्य हो । तपाईं मेरो अभिभावक हुनुहुन्छ,’ उनले भने ।

उनले उक्त भिडियो आफ्नो भए अनुसन्धानबाट प्रमाणित गर्न चुनौती दिँदै आफू राजनीतिक जीवनबाट संन्यास लिन तयार रहेको बताए ।

‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उनले भने ।

तर, भिडियो आफ्नो नभएको अवस्थामा गलत सूचना फैलाउने व्यक्तिमाथि प्रहरीले कारबाही गर्नुपर्ने उनको माग छ । यस विषयमा प्रहरीमा निवेदनसमेत दिइसकेको उनले जानकारी दिए ।

‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ,’ शाहीले भने ।

उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए ।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ । दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उनले भने, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ ।’ 

उनले हटाउनुपर्ने ‘कालो चस्मा’ नभई मनमा बसेको विभेदकारी सोच भएको बताए । 

‘बिपी कोइरालो पनि कालो चस्मा लगाउनु हुन्थियो तर उहाँको सोच कालो थिएन । दृष्टिकोण साँगुरो थिएन । हटाउनु पर्ने त्यो कालो चस्मा होइन । मनमा बसेको त्यो कालो सोच हो, उनले भने, ‘मधेसीमाथि हेर्ने कालो सोच छ । दलितमाथि हेर्ने कालो सोच छ । त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशा तिर अगाडी बढ्न सक्छ ।’ 

उनले मधेसी, दलितलगायत समुदायप्रति रहेको विभेदपूर्ण मानसिकता अन्त्य नगरेसम्म देश समृद्धिको दिशामा अघि बढ्न नसक्ने बताए ।

नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएका हुन् । सांसद ढकालले आईतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने तर्क गरेका थिए ।

सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गरे । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिए । उनले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप पनि लगाए ।

उनले बजारमा रहेको ग्यासको अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।

उनले भने, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमनत्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । ग्यसाको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस् ताकि गरिब तथा विपन्न नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् । सहकारी पीडितको बचत फिर्ता पाउने सुनिश्चित गरियोस् । किसानलाई मल र बजार दिइयोस् । युवालाई रोजगारी र व्यापारीलाई व्यापार गर्ने वातावरण बनाइयोस्, राहदानी, लाइसेन्स र अस्पतालमा रहेको कहालीलाग्दो लाइन अन्त्य गरियोस् । सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित, युवा सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौँ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदै छ । बन्द गरियोस् ।’

जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? सांसद घतानीको प्रश्न छ ।

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताएका हुन् । उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।

उनले भने, ‘यतिखेर रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्। सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन ।’

उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनले उल्लेख गरे । 

‘उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ,’ उनले भने, ‘हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ ।’

नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले त्यसका लागि समयमै पूर्वतयारी आवश्यक हुने उनले बताए । 

उनले भने, ‘मेरो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ ।’

आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको उनले दाबी गरे ।

उनले सरकारले रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिए । आगामी वर्षका लागि समेत समयमै तयारी गर्न र मलको कालोबजारी तथा बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबार पुगेका थिए।

भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट सुरु भएको थियो । बेलायत (यूके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए ।

कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए ।

महिलालाई विश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडियोहरू पठाउने र भिडियो कल गर्ने समेत गरेका थिए । केही समयपछि उनले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको जानकारी दिए । लगत्तै, भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डीपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो ।

फोनमा भनिएको थियो, ‘तपाईंको साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिवाना बापत रकम तिर्नुपर्छ ।’

आफ्नो भावी श्रीमान् ठानिएका व्यक्ति समस्यामा परेको ठानेर ती महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन् । यति रकम पठाएपछि आफू ठगिएको आशङ्कामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् ।

प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो । तर, ठगको मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन् ।

प्रहरीकाअनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ब्ल्याकमेल गरेका थिए ।

अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानकाअनुसार यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।

अहिले बजारमा ठगीका अनेकौँ शैलीहरू सक्रिय छन् । फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट पैसा उडाउने गरिएको छ ।

नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ह्याक गरी ‘म संकटमा छु, तुरुन्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर पैसा असुल्ने गरिएको छ । आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ ।

बैंक वा ई–सेवा, खल्ती जस्ता संस्थाको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको छ । सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ र नक्कली लगानीका स्किमहरू पनि सक्रिय छन् ।

सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । ‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस् । थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो’ उनले भने ।

प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटीपी कसैलाई नदिन, शंकास्पद लिङ्कहरू नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ । यदि ठगी भएको शङ्का लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।