अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ’मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ’नाइमा मोबिलिटी संवाद’ मा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७÷०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताए ।
‘बासेलमा पनि उक्त कुरा रहेकोले हामीले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं । हायर परचेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ’ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ ।’
लोन डिफल्ट हुँदै गएपछि भोली गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने भएको ले यो आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘लोन टू भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ । राज्यको सोचमा पनि भर पर्छ । परिवर्तन पनि हुन सक्छ ।’ ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टू भ्यालु रेसियो केही सहज गराएको उनले बताए ।
उनले अटो कर्जा र हायर पर्चेज कर्जा फरक भनेर बुझ्नुपर्ने उनले बताए । यस्तो कर्जामा मोबाइल र घरायसी सामान पनि गइरहेकाले फरक बुझ्नुपर्ने उनले प्रस्ट पारे । उनले अहिले कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब हायर पर्चेज कर्जाको हिस्सा रहेको जानकारी दिए । गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको तथ्यांक उनले दिए ।
‘यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरु कर्जा दिन तयार रहेकाले यसमा जोखिम पनि कम छ,’ उनले भने । अटो लोनमा क्रेडिट बबल आउँछ र जोखिम हुन्छ जस्तो नलागेको निर्देशक सुवेदीले बताए । ‘एउटा क्षेत्रमा समस्या आएपछि सबै क्षेत्रमा असर पर्छ भन्नेमा राष्ट्र बैंक सतर्क छ,’ उनले भने ।
त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् । उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने बताए । यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनको तर्क छ ।
यसको निष्पक्ष पारदर्शिता बीमाको ऐनमा बसेर फछ्र्योट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ । उनले भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ । बीमा प्राधिकरणले के ग¥यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्नेछ,’ उनले भने ।
उनले घरायसी सामानको जोखिम पनि नदेखिने भएकाले बीमा नभएको बताए । सवारी साधन र मोबाइलबाहेक घरायसी सामानमा बीमा नदेखिएको उनको भनाइ छ । उनले ईभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसिएसन काटिने जानकारी दिए ।
नाइमा मोबिलिटी संवादमा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन् । उनले हायर पर्चेज कम्पनीले सवारी साधन, घरायसी सामानमा पनि कर्जा प्रवाह गरी रहेको बताए ।
उनले भने, ‘हाम्रो लक्षित वर्ग भनेको बैंकहरुसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो ।’ यी कम्पनीहरुले बैंकबाट कर्जा लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ यी कम्पनीहरूले कर्जा प्रवाह गरिसकेको जानकारी उनले दिए ।
उनले भने, ‘पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ ।’
उनले बैंकका प्रक्रिया पूरा भएकाहरुका लागि पनि यी कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए । केही घण्टामा नै हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे । ‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेरभन्दा कमका छन्,’ ठाकुरले भने ।
कार्यक्रममा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताएका छन् । उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले भने कम रहेको बताए । उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाहरुको संख्या उल्लेख्य छ ।’
सबैभन्दा बढी काठमाडौं नै भए पनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं ।’ स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए ।
हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरुलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए । सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।
जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
श्रेष्ठ बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । उक्त समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन् ।
बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३०औँ दिनमा राजीनामा दिएका हुन् ।
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएकाे बोर्ड टाँसिएको छ।
५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् ।
इतर समूहले शुक्रबारबाट ३ दिनसम्म राष्ट्रिय भेला आयोजना आयोजना गरेका छन् । त्यो भेलामा देउवा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने प्रचार प्रसार समितिका संयोजक मिन विश्वकर्माले जानकारी दिए ।
भेला आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको बोर्ड पनि टाँसिएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन् ।
बिहीबार पाँच महिनापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।
उनले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन् ।
देउवाले आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनमा अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनू भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन,’ उनले भने ।
मन्तव्यका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्रको विषय पनि उल्लेख गरे । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् यहाँ ?,’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे ।
मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको दाबी देउवाले गरे । गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उनले बताए । ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन । यो देशको सबैभन्दा ठूलो कुरा हो । यो देशका जनता नेपालका मालिक हुन् । यो मालिकले जे भन्छ त्यही हुन्छ,’ उनले भने ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
स्वास्थ्योपचारपछि बिहीबार स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको बताएका हुन्।
उनले देउवाकै नेतृत्वमा कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै पार्टीभित्रको आन्तरिक एकता कायम गर्नुपर्ने बताए। पार्टीबाट बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउन आफूहरूको प्रयास जारी रहने उनको भनाइ थियो।
संस्थापन पक्षप्रति लक्षित गर्दै कोइरालाले कांग्रेस विभाजित अवस्थामा रहेको टिप्पणी गरे।“सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो। देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो। स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ,” उनले भने।
कोइरालाले पार्टीभित्र देखिएको असन्तुष्टि संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको बताए।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । पहिरोमा परी अझै ५ जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्।
साउन २७ गते साँझ गएको पहिरोमा परी स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको हो।
बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्।
पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थबाङ स्वास्थ्य चौकीबाट थप उपचारका लागि बुटवल पठाइएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोबाट बगेका तीन जनाको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने माडी खोलाको किनारमा फेला परेपछि प्यूठानबाट समेत विपद् व्यवस्थापन टोली खोजीमा खटिएको छ।
लगातार वर्षासँगै लेदोसहित पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। पहिरोले कमलबहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन् भने पशुचौपायासमेत बेपत्ता भएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै देउवाले आफ्नो स्वास्थ्यबारे चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले उल्लेख गरेका छन्।
उनले परिवर्तनको अर्थ विगतको संघर्ष र योगदानलाई नकार्नु नभएको भन्दै आफ्नो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न समुदायको अधिकारका लागि गरेको संघर्षलाई सम्मान गर्नुपर्ने बताएका छन्।
वर्तमान सरकारले जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै देउवाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको चाहना पूरा गर्न सरकार अघि बढ्नुपर्ने बताएका छन्।
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नुपर्ने उनको भनाइ छ।
वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको संरक्षण तथा संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्।
युवा पुस्ता अघि बढ्नुपर्ने तर पाका र अनुभवी पुस्तालाई पूर्ण रूपमा खराब देखाउने भाष्य उचित नभएको देउवाले बताएका छन्। आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले उल्लेख गरेका छन्।
देउवाले अन्त्यमा आफू ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको’ बताएका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।
उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए ।
प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ । सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहान जनआस्था कार्यालयमा छापा मारिएको हो ।
हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली उनको ललितपुरस्थित घर पुगेर छापा मारेको थियो । उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
जनआस्थाले गत साउन २५ गते सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक समाचार प्रकाशन गरेकोमा थियो । समाचारमा फोटो र पहिचानसमेत खुल्ने गरी प्रकाशन भएपछि ती युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी दर्ता भएलगत्तै प्रहरीले हिजो बुधबार श्रेष्ठलाई पक्राउ गरेको हो ।
त्यसो त उजुरी दिने युवती आफैले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यही तस्बिर बाहिर आएपछि जनआस्थाका सम्पादक श्रेष्ठले सो विषयलाई समाचार बनाएका थिए ।
समाचार प्रकाशनपछि ती युवतीले सो तस्बिर एआईबाट बनाइनुका साथै आफ्नो फेसबुकसमेत ह्याक भएको दाबी गरेकी थिइन् । तर युवतीले आफ्नो सामाजिक सञ्जालमा सो तस्बिर पोस्ट गर्दा एआई तस्बिर भनिएको छैन । अहिले फेसबुकले नै एआईबाट बनाएको तस्बिरलाई एआई कन्टेन्ट भनी उल्लेख गर्ने गरेको छ ।
उनको फेसबुक ह्याक भएको हो होइन ? सो पोस्ट उनी आफैले गरेकी हुन् कि अन्य कसैले गरेका हुन् भनेर प्राविधिक परीक्षण पनि भएको छैन ।
समाचार प्रकाशनलाई लिएर अस्ति मंगलबार साइबर ब्युरोले उनलाई सम्झाउने प्रयास पनि गरेको थियो । तर उनले जाहेरी दर्ता गरी तत्काल श्रेष्ठलाई पक्राउ गर्न भनेकी थिइन् । ब्युरो स्रोतका अनुसार युवतीले सो तस्बिर सक्कली हो कि एआई हो र फेसबुक ह्याक भएको हो कि होइन भन्दा पनि आफूलाई अप्ठेरो परेकाले जाहेरी दर्ता गरी समाचार हटाउन लगाउन आग्रह गरेको स्रोतको भनाइ छ ।