
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।
छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।
शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरणलगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविर अनियमित माथिको मुद्दा किन चलाएन ? गिरि बन्धु टी स्टेट प्रकरणमा अहिले सम्म मुद्दा किन चलाएन ? तारा गाउँ रिजेन्सी होटेलको जग्गा सेयर प्रक्ररणमा मुद्दा किन चलाएन ? जुन अख्तियारको मापदण्ड भित्र पर्छ,’ उनले प्रश्न गरे ।
उनले ती प्रकरणहरू अख्तियारको अनुसन्धानको दायराभित्र पर्ने भए पनि कारबाही प्रक्रिया अघि नबढेको दाबी गरे । कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री खरिद तथा ओम्नी समूहसँग जोडिएको भनिएको अनियमितताको प्रसंग उठाउँदै शाहीले त्यस विषयमा पनि अहिलेसम्म प्रभावकारी कानुनी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरे ।
‘कोभिडको बेलामा सरकारले ओम्नी घोटाला गरेर अर्बों रुपैयाँमा देश टाट पल्टेको थियो त्यसको मुद्दा किन चलेन,’ उनले भने, ‘एनसेलमा टेलिया सोनेरा र एक्जियटाको ८० प्रतिशत सेयर खरिद विक्र हुन्छ । त्यसमा पुँजीगत लाभांश करछली गर्छ त्यो सर्वोच्च अदालतले फैसला गर्छ तर अख्तियारले अहिले सम्म त्यो छोएको पनि छैन मुद्दा पनि चलाएको छैन । जवाफ दिनु होला ।’
उनले एनसेलको सेयर कारोबार र त्यससँग जोडिएको पुँजीगत लाभकर विवादको विषय पनि उठाए । टेलिया सोनेरा र एक्जियटासँग सम्बन्धित एनसेलको सेयर बिक्रीमा कर छली भएको विषयमा सर्वोच्च अदालतबाट फैसला भइसकेको दाबी गरे । उनले अख्तियारले उक्त प्रकरणलाई समेत अनुसन्धानको दायरामा किन नल्याएको भन्दै प्रश्न गरे ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार भएका छन्।
भदौ २ गते बिहान करिब ७ बजे भागरकी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।
स्थानीय बासिन्दा तथा छरछिमेकले वन क्षेत्रमा खोजी गरे पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो।
त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ।
सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’
उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।
उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’
यसैगरी सुनारले गैरसरकारी संस्था (एनजिओ)का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाए ।
उनले भने, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले अनुमोदन गरेर छाप लगाएर देश भड्काऊ भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन । थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन । अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन । बरु मज्जाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन ।’
सांसद सुनारले दलित तथा गरिबका नाममा आउने बजेट कतै पनि फ्रिज हुन नहुने बताए । राज्यले दिएको वा वैदेशिक सहायताबाट आएको बजेट लक्षित ठाउँमा पुग्नुपर्नेमा जोड दिँदै उनले दलित र गरिबका नाममा ठूलो चलखेल भइरहेको दाबी गरे ।
उनले भने, ‘दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँकतै फ्रिज हुनु भएन । राज्यले दिएको होस् या वैदेशिक सहायताबाट आएको बजेट होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ । दलित र गरिबका नाममा ठूलो चलखेलहरू भइरहेको छ ।’
भौतिक पूर्वाधार निर्माणमा वैदेशिक सहायताबाट भएका लगानीको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहायतामा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।
‘भौतिक संरचनाको कुरा गर्दा पोखरा एयरपोर्ट के भइरहेको छ ? अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका, भैरहवा एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बसपार्क बन्ने, बस नगुड्ने हो भने त्यसको काम को हो ? यसरी राज्यलाई ऋणको भारी बोकाएर हामी बस्न सकिँदैन,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने बताएकी हुन् ।
‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु’, उनले लेखेकी छन् ।
रास्वपा संसदीय दलको बुधबारको बैठकमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई मर्यादित र अनुशासित हुन निर्देशन दिएका थिए ।
तामाङले मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालसँग मुख लागेकी थिइन् ।
सभामुखले नामै तोकेर संसदको मर्यादामा बस्न रुलिङ गरेपछि उनले झोक्किँदै संसदको बैठक कक्ष छाडेकी थिइन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् ।
बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।
बालिकाको हत्या भएपछि घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण त्रिभुवन राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । स्थानीयवासीले बालिकाको परिवारलाई न्यायको अनुभूति हुने गरी घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागी स्थानीयले बालिकाको हत्या जस्तो गम्भीर घटनामा अनुसन्धानमा कुनै कमजोरी हुन नहुने बताएका छन् । उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न प्रहरी तथा प्रशासनसँग माग गरेका छन् ।
घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनाको अनुसन्धान अघि बढाएको छ । स्थानीयवासीको प्रदर्शन र सडक अवरोधका कारण राजमार्गमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
बालिकाको हत्या घटनाबारे थप अनुसन्धान तथा घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।





