२०८३ कार्तिक ८ गते शनिबार
२०८३ कार्तिक ८ गते शनिबार

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापालाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकपछि अध्यक्ष लिङ्देनले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम प्रयोग गरी नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको बताए। उक्त समर्थन पार्टीको कुनै पनि प्रकारको औपचारिक निर्णय वा समर्थन नभएको उनको भनाइ छ।

लिङ्देनका अनुसार पार्टीले पटक–पटक निर्देशन दिँदा पनि प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले निर्देशन उल्लंघन गर्दै पार्टीको तर्फबाट समर्थन रहेको भन्दै पत्र बुझाएका थिए।

पार्टीले स्पष्टीकरण सोध्दा समेत उनले समयमै जवाफ नदिएको र समर्थनसमेत फिर्ता नलिएको भन्दै उनीमाथि कारबाही गरिएको हो । 

उनले भने, ‘बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम राखेर नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको विषय पार्टीको कुनै पनि प्रकारको निर्णय र समर्थन होइन। पार्टीले बारम्बार निर्देशन दिँदा पनि निर्देशन उल्लंघन गर्दै प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाउनुभयो। स्पष्टीकरण सोध्दा समयमा जवाफ नदिनुभएको र समर्थन पनि फिर्ता नलिएकोले आजको कार्यसम्पादन समितिको बैठकले उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको छौँ।’

अध्यक्ष लिङ्देनले उक्त घटनालाई पार्टी अनुशासन उल्लंघनको गम्भीर विषयका रूपमा लिइएको बताए। उनले एमालेमाथि विगतदेखि नै सत्ता केन्द्रित गतिविधिका क्रममा अन्य दलहरूबीच चलखेल गर्ने गरेको आरोपसमेत लगाए।

उनले भने, ‘अनुशासन उल्लंघनको विषय हो, त्यो एउटा पाटो भयो। अर्कोतर्फ एमालेले विगतमा जसरी सत्ता केन्द्रित गतिविधिमा दलहरूका बीचमा खेल्ने काम गथ्र्यो, त्यो अहिले पनि गरेको प्रस्ट रूपमा आयो।’

लिङ्देनले एमालेले बागमती प्रदेश सरकार निर्माणका क्रममा राप्रपासँग औपचारिक रूपमा सहयोग नमागेको तथा पार्टीलाई कुनै पत्रसमेत नलेखेको बताए। पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन आवश्यक रहेको भन्दै औपचारिक आग्रह नगरी प्रदेशसभा सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरिएको उनको आरोप छ ।

उनले भने, ‘एमालेले पार्टीलाई औपचारिक रूपमा सरकार निर्माणको क्रममा कुनै सहयोगको आग्रह गरेको छैन । कुनै पत्र पनि लेख्ने र पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन चाहियो भनेर आग्रह पनि नगरीकन प्रदेशसभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो। अहिले यो जुन परिणाम बाहिर आएको छ, यसबाट चलखेल भन्ने कुरा प्रस्टै हुन्छ।’

अनुशासनको कारबाहीका क्रममा पार्टीभित्र केही फरक मत देखाउने प्रयाससमेत योजनाबद्ध रूपमा भएको राप्रपाको निष्कर्ष रहेको उनले बताए। यद्यपि, पार्टीले यस्ता अनुशासन उल्लंघनका विषयलाई अब गम्भीरतापूर्वक लिने स्पष्ट पारे।

लिङ्देनले उद्धव थापामाथि कारबाही गरिसकिएको र पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य नेतामाथि पनि कारबाही हुने चेतावनी दिए।

यसबीच, थापामाथि कारबाही गर्ने निर्णयमा राप्रपाभित्र मतभेद देखिएको छ । बैठकमा नेता कमल थापाले उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनी थापामाथि कारबाही गर्न नहुने पक्षमा उभिएका छन् । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।

नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।

‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ । दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ । महत्वकाक्षा यसरी बढ्दै जान्छ,’ उनले भने । 

उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।

थापाले आफू तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पटक–पटक आफ्ना असहमति र चिन्ता राखेको स्मरण गरे । 

थापाले त्यसबेला आफूहरूले देखेका समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिएको दाबी गर्दै त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाएको बताए ।

उनले लोकतन्त्रमा कानुनी वैधानिकता मात्रै पर्याप्त नहुने भन्दै राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यता पनि परीक्षण हुनुपर्ने बताए । संख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै उनले जनताले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए ।

‘डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन,’ थापाले भने, ‘नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ ।’

राजनीतिक दलभित्र राजकीय पद प्राप्तिलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउँदा ठूलो असन्तुष्टि पैदा भएको पनि थापाले बताए । 

मन्त्री, सांसद, मेयर वा पार्टी सभापति बन्न नसके राजनीतिक जीवन असफल भएको ठान्ने प्रवृत्तिले दललाई नै असन्तुष्टि उत्पादन गर्ने संरचनामा परिणत गरेको उनको टिप्पणी थियो ।

उनले कांग्रेसको विशेष महाधिवेशन र आन्तरिक वैधानिकताका विषयमा सर्वोच्चले गरेका कतिपय फैसलाहरू पुनरावलोकन हुनुपर्ने धारणा पनि राखे । थापाले अदालतका निर्णयहरू वैधानिक भए पनि तिनले समाजमा कत्तिको वैधता प्राप्त गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुने उनको तर्क थियो । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।  

बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप

स्थानीयबासी र पीडित परिवारका अनुसार बालिका गरिमा हराएको बारेमा उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा लिखित जाहेरी दिएका थिए । बालिका साउन ३१ गते बिहानदेखि हराएकी थिइन् ।

तर, प्रहरीले सुरुवाती चरणमा खोजीकार्यलाई तीव्रता नदिएको र अनुसन्धानमा चासो नदेखाएका कारण बालिकाको ज्यान गएको स्थानीयको निष्कर्ष छ । समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी गर्दै प्रदर्शनकारीहरूले डीएसपी क्षेत्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखेका छन् ।

मुख्य राजमार्ग र ग्रामीण सडकहरू पूर्ण रूपमा बन्द

बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध बनेको वीरगञ्ज–पथलैया सडकखण्ड बिहीबार पनि सञ्चालन हुन सकेको छैन । आन्दोलनरत स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरोधका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न नसक्दा लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने स्थानीय जनजीवन कष्टकर बनेको छ ।

शैक्षिक संस्थाहरूद्वारा शोकसभा र विद्यालय बन्द

जघन्य अपराधको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गरी शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द गरेका छन् । विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अवोध बालिकामाथि भएको क्रूर घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध र मर्माहत भएको जनाएका छन् । 

उनीहरूले घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

दुई जना आरोपी पक्राउ, प्रशासन भन्छः ‘छानबिन हुँदैछ’

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले बालिका हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेको जानकारी दिएका छन् । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरी पक्राउ गरिसकेको छ ।

घटनापछि स्थानीय स्तरबाट उठाइएका प्रहरीको लापरबाहीका बारेमा जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक ध्यान दिएको प्रजिअ मिश्रले बताए । उनले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिएका छन् ।

आन्दोलन जारी राख्ने चेतावनी

प्रशासनले दोषी पक्राउ परेको बताए पनि स्थानीयबासी भने शान्त भएका छैनन् । आन्दोलनरत पक्षले घटनाको पूर्ण रूपमा निष्पक्ष अनुसन्धान हुनुपर्ने, घटनामा लापरबाही गर्ने जिम्मेवार प्रहरी अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने र आगामी दिनमा बालबालिकाको सुरक्षाको भरपर्दो सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन्। सिमरा क्षेत्रमा अहिल व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।

छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।

शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरणलगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविर अनियमित माथिको मुद्दा किन चलाएन ? गिरि बन्धु टी स्टेट प्रकरणमा अहिले सम्म मुद्दा किन चलाएन ? तारा गाउँ रिजेन्सी होटेलको जग्गा सेयर प्रक्ररणमा मुद्दा किन चलाएन ? जुन अख्तियारको मापदण्ड भित्र पर्छ,’ उनले प्रश्न गरे ।

उनले ती प्रकरणहरू अख्तियारको अनुसन्धानको दायराभित्र पर्ने भए पनि कारबाही प्रक्रिया अघि नबढेको दाबी गरे । कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री खरिद तथा ओम्नी समूहसँग जोडिएको भनिएको अनियमितताको प्रसंग उठाउँदै शाहीले त्यस विषयमा पनि अहिलेसम्म प्रभावकारी कानुनी कारबाही किन हुन नसकेको भन्दै प्रश्न गरे ।

‘कोभिडको बेलामा सरकारले ओम्नी घोटाला गरेर अर्बों रुपैयाँमा देश टाट पल्टेको थियो त्यसको मुद्दा किन चलेन,’ उनले भने, ‘एनसेलमा टेलिया सोनेरा र एक्जियटाको ८० प्रतिशत सेयर खरिद विक्र हुन्छ । त्यसमा पुँजीगत लाभांश करछली गर्छ त्यो सर्वोच्च अदालतले फैसला गर्छ तर अख्तियारले अहिले सम्म त्यो छोएको पनि छैन मुद्दा पनि चलाएको छैन । जवाफ दिनु होला ।’

उनले एनसेलको सेयर कारोबार र त्यससँग जोडिएको पुँजीगत लाभकर विवादको विषय पनि उठाए । टेलिया सोनेरा र एक्जियटासँग सम्बन्धित एनसेलको सेयर बिक्रीमा कर छली भएको विषयमा सर्वोच्च अदालतबाट फैसला भइसकेको दाबी गरे । उनले अख्तियारले उक्त प्रकरणलाई समेत अनुसन्धानको दायरामा किन नल्याएको भन्दै प्रश्न गरे । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार भएका छन्।

भदौ २ गते बिहान करिब ७ बजे भागरकी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।

स्थानीय बासिन्दा तथा छरछिमेकले वन क्षेत्रमा खोजी गरे पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो।

त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ।

सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् । 

उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’

उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।

उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’

यसैगरी सुनारले गैरसरकारी संस्था (एनजिओ)का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने काम भइरहेको आरोप लगाए ।

उनले भने, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले अनुमोदन गरेर छाप लगाएर देश भड्काऊ भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन । थर फेर्न मन लागेकाहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त गर्न पाइँदैन । अंग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन । बरु मज्जाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन ।’

सांसद सुनारले दलित तथा गरिबका नाममा आउने बजेट कतै पनि फ्रिज हुन नहुने बताए । राज्यले दिएको वा वैदेशिक सहायताबाट आएको बजेट लक्षित ठाउँमा पुग्नुपर्नेमा जोड दिँदै उनले दलित र गरिबका नाममा ठूलो चलखेल भइरहेको दाबी गरे ।

उनले भने, ‘दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँकतै फ्रिज हुनु भएन । राज्यले दिएको होस् या वैदेशिक सहायताबाट आएको बजेट होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ । दलित र गरिबका नाममा ठूलो चलखेलहरू भइरहेको छ ।’

भौतिक पूर्वाधार निर्माणमा वैदेशिक सहायताबाट भएका लगानीको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहायतामा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।

‘भौतिक संरचनाको कुरा गर्दा पोखरा एयरपोर्ट के भइरहेको छ ? अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका, भैरहवा एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बसपार्क बन्ने, बस नगुड्ने हो भने त्यसको काम को हो ? यसरी राज्यलाई ऋणको भारी बोकाएर हामी बस्न सकिँदैन,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने बताएकी हुन् ।

‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु’, उनले लेखेकी छन् ।

रास्वपा संसदीय दलको बुधबारको बैठकमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई मर्यादित र अनुशासित हुन निर्देशन दिएका थिए ।

तामाङले मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालसँग मुख लागेकी थिइन् ।

सभामुखले नामै तोकेर संसदको मर्यादामा बस्न रुलिङ गरेपछि उनले झोक्किँदै संसदको बैठक कक्ष छाडेकी थिइन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् ।

बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

बालिकाको हत्या भएपछि घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण त्रिभुवन राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । स्थानीयवासीले बालिकाको परिवारलाई न्यायको अनुभूति हुने गरी घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागी स्थानीयले बालिकाको हत्या जस्तो गम्भीर घटनामा अनुसन्धानमा कुनै कमजोरी हुन नहुने बताएका छन् । उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न प्रहरी तथा प्रशासनसँग माग गरेका छन् ।

घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनाको अनुसन्धान अघि बढाएको छ । स्थानीयवासीको प्रदर्शन र सडक अवरोधका कारण राजमार्गमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

बालिकाको हत्या घटनाबारे थप अनुसन्धान तथा घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।