
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन् ।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरे । उनले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गरे ।
त्यसपछि सांसद तामाङ र मेयर महर्जनबीच भनाभन भएको थियो । विवाद चर्किएपछि सञ्चारमन्त्री तिमिल्सिनाले मध्यस्थता गर्दै माहोल शान्त पार्ने प्रयास गरेका थिए । तर, स्थिति सामान्य नभएपछि सांसद तामाङ नै बैठकबाट रिसाएर बाहिरिएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्यमा १३ जना थपिएको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मलाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।
जसमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान छन्।
साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले ५ जना सचिवालय सदस्य बनाएको थियो। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने प्रावधान छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसमेत टुंगो लगाएको हो।
बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा। तोसिमा कार्की र पूर्वाधार विभागमा निशा डाँगीलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारी मनोनयन भएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । देउवा निवास चुनदेवीमा भएको भेटमा समसामयिक विषयमा कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
देउवा समूहले गत साउन अन्तिममा राष्ट्रिय सम्मेलन गरेर सभापति गगन थापालाई अस्वीकार गरेको थियो । सभापति थापा गत पुसमा भएको विषेश महाविधेशनबाट निर्वाचित भएका थिए ।
कांग्रेसले १५औँ महाविधेशनको कार्यक्रम नरोक्ने भएपछि त्यसलाई रोक्न देउवा समूह सर्वोच्च गएको छ । पार्टी एकताको पक्षमा रहेका कोइरालालो देउवासँग भेट गरेका हुन् ।
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।
प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् ।
‘गरिमा चौधरी तीन वर्षीया बालिका हुन् । उनको बलात्कारपछि हत्या भयो । उनको न्यायका लागि र आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवाज उठाउन हामी विरोध प्रदर्शनमा आएका हौं,’ उनले भनिन्, ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । अब हाम्रो आवाज बन्द हुँदैन । कानुन निर्माण तथा संशोधन नभएसम्म सरकारसमक्ष हाम्रो आवाज पुर्याइरहन्छौं ।’
त्यस्तै, अर्की प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन् । ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । यो कुरा सरकारले सुन्नैपर्छ । सबैका घरमा छोराछोरी छन् । यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ,’ उनले भनिन् ।
प्रदर्शनमा सहभागी अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । ‘महिलामाथि असाध्यै अन्याय भइरहेको छ । माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन । सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन ।’
प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन् ।
चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् ।
उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिएर उदाहरण बनेका हुन् ।
कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन्। जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाए। तर, अपांगता भएका बुबा सेरे दमाई र गिट्टी कुटेर परिवार पाल्ने आमा पार्वतीसँग छोरालाई सुर्खेतसम्म लैजाने खर्चसमेत थिएन।
यही अवस्थाको जानकारी डा.शर्मालाई उनका मित तथा बाल्यकालदेखिका साथी प्रेम शाहीले गराएका थिए । प्रेमबाट पर्वतको अवस्था थाहा पाएपछि शर्माले आफैं सेरे र पार्वतीसँग भिडियो कलमा कुरा गरे।
उनले परिवारको आर्थिक अवस्था, छोराको रोग, बस्ने घरदेखि खाने अवस्थासम्म सबै जानकारी लिए। कुराकानीकै क्रममा शर्माले सेरेको पानी चुहिने घरसमेत भिडियोमै हेरे।
सेरेसँग कुरा गर्दै शर्माले आफ्नै बाल्यकाल सम्झिए । मान्मको स्कुलबाट आफूले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको, आफू पहिलो र आफ्ना मीत प्रेम शाही दोस्रो भएको सुनाए। आफूले पढेको त्यही स्कुलको नयाँ भवन निर्माण गरिदिने चाहनासमेत व्यक्त गरे। पार्वतीको माइती लालु भएको थाहा पाएपछि त्यहाँसँग जोडिएको आफ्नो पुरानो स्मृतिसमेत सुनाए।
केहीबेरको कुराकानीले उपचारका लागि सहारा खोजिरहेको परिवारलाई आफ्नै मान्छेसँग कुरा गरेजस्तो आत्मीय अनुभूति भयो।
तर, पर्वतलाई तत्काल उपचार आवश्यक थियो। चार वर्षदेखि बिरामी हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन नसकेको थाहा पाएपछि शर्माले अब ढिला नगरी काठमाडौं आउन आग्रह गरे।
‘उपचार निःशुल्क हुन्छ, खाना पनि अस्पतालमै व्यवस्था हुन्छ,’ शर्माले परिवारलाई भने। काठमाडौं मेडिकल कलेजमा भर्ना भएदेखि उपचार पूरा नहुँदासम्म आवश्यक उपचार निःशुल्क गर्ने र पर्वतसँगै उनका बाबुआमालाई बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने व्यवस्था मिलाउने उनले बताए।
क्यान्सर पुष्टि भए थप उपचारका लागि विराटनगर पठाउनुपर्ने अवस्था आए त्यहाँ बस्ने व्यवस्थासमेत मिलाइदिने आश्वासन दिए।
तर परिवारसँग काठमाडौं आउने भाडासमेत थिएन। पार्वतीले त्यो कुरा बताएपछि शर्माले यात्राखर्चसमेत आफैं व्यहोर्ने बताए। अर्को सानो छोरा कहाँ छाड्ने भन्ने समस्या पनि रहेको थाहा पाएपछि आवश्यक व्यवस्थासमेत मिलाइदिने बताए।
‘हामी पढेलेखेका छैनौं, काठमाडौं आएपछि के गर्ने?’ परिवारको चिन्तामा शर्माको जवाफ थियो, ‘तपाईंहरूले केही पनि गर्नुपर्दैन, आउनुहोस्, बाँकी सबै हामी गर्छौं।’
त्यसपछि सेरे र पार्वती आफ्ना दुई छोरासहित पर्वतलाई लिएर मान्मबाट सुर्खेत हुँदै काठमाडौं लागे। दुई दिनको कठिन यात्रापछि काठमाडौं आइपुग्नेबित्तिकै शर्माको निर्देशनमा काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स उनीहरूलाई लिन पुग्यो।
पहिलोपटक काठमाडौं आएका सेरे र पार्वतीलाई भेट्न शर्मा आफैं पुगे। यात्रामा कुनै समस्या भयो कि भएन भनेर सोधे, परिवारको अवस्था बुझे र पर्वतलाई आफैं अस्पताल लिएर गए। त्यसपछि काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गरियो।
शर्माले चिकित्सकहरूलाई आवश्यक सम्पूर्ण जाँच तथा उपचार तत्काल सुरु गर्न निर्देशन दिए। उपचार सुरु भएपछि उनले परिवारलाई पर्वतको उपचार पूरा गरेर टुंगोमा पु¥याउने भरोसा दिलाए।
पर्वतको वास्तविक रोग र उपचारको अवस्था आवश्यक जाँचपछि चिकित्सकहरूले टुंगो लगाउनेछन्। तर, चार वर्षदेखि उपचारको अभावमा पीडा सहिरहेको बालकका लागि अहिले सबैभन्दा ठूलो कुरा उपचार सुरु हुनु हो ।
हिजोसम्म छोरालाई अस्पतालसम्म लैजानसमेत पैसा नभएको परिवार आज काठमाडौं मेडिकल कलेजको उपचार कक्षमा छ । सेरे र पार्वतीका आँखामा छोरालाई बचाउने आशा फेरि फर्किएको छ ।
पर्वतको अवस्थाबारे पत्रकार पुष्प भट्टराईले उनका मीत प्रेम शाहीलाई जानकारी गराएका थिए। शाहीले आफ्ना मीत सुनील शर्मासम्म त्यो खबर पुर्याए । शर्माले गम्भीरतापूर्वक सुने। त्यसपछि भिडियो कल गरे, परिवारसँग कुरा गरे, काठमाडौं ल्याउने यात्राखर्चको व्यवस्था गरे, एम्बुलेन्स पठाए, अस्पतालमा भर्ना गराए र चिकित्सकहरूलाई उपचार तत्काल सुरु गर्न निर्देशन दिए ।
यसरी एउटा खबरले सुरु भएको यात्रा अहिले उपचारको ढोकासम्म आइपुगेको छ। चार वर्षदेखि रोगसँग लडिरहेका पर्वतको उपचार सुरु भएको छ—र उपचारसँगै उनको परिवारमा जीवनको नयाँ आशा पनि जागेको छ ।





