
बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएपछि उनका हजुरबुबाले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै प्रहरीले परिवार र स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा रातभर सम्भावित क्षेत्रमा खोजी गरेको थियो।
खोजीका क्रममा विन्दीलाई आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा सडक किनारामा रोइरहेको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्। स्थानीय महिला सल्मा नेशाले बालिका भेटिएको जानकारी प्रहरीलाई गराएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बालिका आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ सकुशल अवस्थामा फेला परेकी हुन्।
उद्धारपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेपछि उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेपछि दाङकी एक महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो ।
उनका २२ वर्षीय छोरा वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंको होस्टलमा बसेर भाषा अध्ययन गरिरहेका थिए । उनको हत्याको खबर घरमा पुगेपछि आमा बिना अचेत भई ढलेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ । उनका श्रीमान् रोमहर्श कालाथोकी रोजगारीका क्रममा मलेसियामा रहेका थिए । घटनापछि उनी सोमबार नेपाल फर्किंदै छन् ।
वसन्तको हत्या आरोपमा प्रहरीले बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई पक्राउ गरेको छ । होस्टलमा बस्दै आएका उनीहरूले वसन्तको टाउको र घाँटीमा कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।
घाइते वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिना र रोमहर्शका ११ वर्षीय कान्छा छोरा अहिले हजुरबुवाको साथमा छन् ।
काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।
गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो ।
सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ ।
यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्वय गरी पहल गर्ने सहमति भएको छ ।
पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् ।
पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।





