
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन् । “तपाईहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ”, मन्त्री रावलले भनिन्, “यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।” उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताइन् ।
अहिलेको कानुनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुमवासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो । “देशैभरका सुकुमवासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अडचन छन्”, उनले भनिन्, “सुकुमवासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौं ।”
सरकारले भूमिहीन सुकुमवासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताइन् । “तपाईहरु बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन”, उनले भनिन्, “तपार्इंहरु ढुक्क हुनुस्, सरकारले तपाईंहरुलाई लालपुर्जा दिन्छ ।” उनले सुकुमवासीलाई अफवाहमा नलाग्नसमेत आग्रह गरिन् ।
मन्त्री रावलले आज बिहानैदेखि कञ्चनपुरका विभिन्न पालिकामा पुगेर भूमिहीन सुकुमवासीसँग अन्तरक्रिया गरेकी थिइन् । उनले दोधारा–चाँदनी नगरपालिका, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका भूमिहीन सुकुमवासीलाई भेट्दै सरकारले छिट्टै लालपुर्जा दिने बताइन् ।
त्यसैगरी, मन्त्री रावलले आजै महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरिन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो ।
उनले भने, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोसिँदै छन् । त्यसमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब, हस्तक्षेप बढिरहेको छ ।’
यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए ।
प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको उल्लेख गर्दै अहिलेको समय र परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित र बाध्य बनाएको बताए ।
उनले भने, ‘हामी यहाँ उपस्थित भएकाहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धाहरू थियौं । आज समय र परिस्थितिले फेरि सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ, बाध्य पारेको छ ।’
उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए ।
इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो ।
प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘गत भदौ २३, २४ गतेको विध्वंसले प्रतिक्रान्तिको भयानक विभीषिका हामीले देख्यौं । त्यसका समेत अनुभवहरूबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं ।’
नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गरेको, ठूलो त्याग र बलिदानमा सहभागिता जनाएको तथा निर्वाचन प्रक्रियामा समेत अत्यधिक मत दिएको स्मरण गर्दै त्यसका बाबजुद कम्युनिस्ट आन्दोलन र उपलब्धिहरूलाई जोगाउन नसक्नु गम्भीर प्रश्न भएको प्रचण्डले बताए ।
‘नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक–पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताहरूले ठूलो–ठूलो त्याग र बलिदानमा सहभागिता मात्र होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदादिँदै पनि बचाउन हामीले किन सकेनौं ? यो एउटा गम्भीर प्रश्न छ,’ उनले भने ।
उनले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले विगतका त्रुटिको गम्भीर आत्मसमीक्षा गरी मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र हासिल भएको एकतालाई दिगो बनाउनसमेत कठिन हुने उनको भनाइ थियो ।
‘जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो, मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं भने एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन,’ प्रचण्डले भने ।
नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक काम भइरहेको जानकारी दिए ।
यो प्रक्रिया सफल भए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने उनले बताए । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा रहेका छन् । थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालमा मात्रै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल हुने उनले बताए ।
नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताउँदै शेर्पाले यसको विकासमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा विभिन्न सरोकारवालाको संयुक्त योगदान रहेको बताए ।
सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै नेपालको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको बताए । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्नसमेत संघको भूमिका रहेको उनले बताए ।
‘नेपालको पर्वतीय पर्यटन विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा विकास भएको छ । यो विकास हुनुमा हामी सबैको उत्तिकै योगदान रहेको छ । सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको छ,’ शेर्पाले भने ।
नेपाल पर्वतारोहण संघ सुरुदेखि नै नेपालको पर्वतारोहण क्षेत्रको विकासमा लागिपरेको बताउँदै उनले भने, ‘नेपाल सरकारले जारी गर्ने गरेको पीकको लिस्टसमेत नेपाल पर्वतारोहण संघले नै तयार पारेको हो । अहिले नेपाल सरकारको टेक्निकल कुरामा पनि हामी काम गरिरहेका छौँ ।’
संघले अहिले एक सय वटा हिमालको प्रस्तावना तयार पारिरहेको शेर्पाले बताए । त्यससँगै आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम भइरहेको उनले जानकारी दिए ।
‘अहिले हामी आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय रिकग्नाइजेसनका लागि काम गरिरहेका छौँ । यससँगै आठ हजारभन्दा बढी २० वटा हिमाल हुनेछन्,’ उनले भने, ‘यो कार्य सफल भएको खण्डमा आठ हजार मिटरभन्दा ठूला १४ वटा हिमाल नेपालमै हुनेछन् । यो कार्य अन्तिम चरणमा पुगेको छ । यसको डकुमेन्टेसनको काम भइरहेको छ ।’
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक रूपमा समावेश गरिसकेको छ ।
त्यसैगरी ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंघा सेन्टर (८,४७३ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन् ।
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरबासी विद्यार्थीका लागि उच्च शिक्षाको अवसर विस्तार गर्दै मेडिकल र इन्जिनियरिङ अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
नगरपालिकाका अनुसार मेडिकलतर्फ एमबीबीएस, बीडीएस, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस, बी.मिड, बीएस्सी एमआईटी र बीएस्सी ल्याब मेड अध्ययन गर्न चाहने नगरबासी विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।
त्यस्तै, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड कम्युनिकेसन, कम्प्युटर, आईटी, मेकानिकल र सिभिल इन्जिनियरिङ अध्ययनका लागि पनि ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ।
नगर प्रमुख दिपक रिसालले आर्थिक अभावका कारण प्रतिभावान् विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको बताएका छन्।
स्थानीय विद्यार्थीलाई महँगो र प्रतिस्पर्धात्मक शिक्षामा पहुँच बढाउने नगरपालिकाको यो कार्यक्रमले ‘आर्थिक अवस्था होइन, क्षमता र मेहनतले भविष्य निर्धारण गर्ने’ वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
जय नेपाल पार्टीका सभापति तथा पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको भेटवार्तामा उनीहरूबीच करिब दुई घन्टा ‘वान टू वान’ कुराकानी भएको हो ।
हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा राणा र पूर्वराजा शाहबीच छुट्टै भेटवार्ता भएको जय नेपाल पार्टीका नेताहरूले बताएका छन् ।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । उनका अनुसार भेटवार्ता ‘फलदायी’ रहेको थियो ।
छलफलमा जय नेपाल पार्टी गठन, पार्टीका उद्देश्य तथा मुलुकको समसामयिक राजनीतिक र सामाजिक अवस्थाबारे लामो कुराकानी भएको थियो ।
‘हामीले जय नेपाल पार्टी गठन गरेका छौं, त्यसबारे पनि उहाँलाई जानकारी गराएँ । शुभकामना आदानप्रदानका कुरा भए, समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भयो,’ राणाले भने ।
नयाँ पार्टी गठन गरेकोमा पूर्वराजा शाहले आफूलाई शुभकामना दिएको र राय–सल्लाहसमेत दिएको राणाको भनाइ छ । उनका अनुसार पूर्वराजा शाहले सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।
भेटका क्रममा राणाले जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको र पार्टीले राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा जनमत निर्माण गर्दै अघि बढ्ने कार्यदिशा लिएकोबारे पनि पूर्वराजा शाहलाई जानकारी गराएका थिए ।
नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।
लामो समयको उपचारपछि फर्किएका देउवासँग भेटेर महरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको महरले बताएका छन् ।
भेटका क्रममा महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
महरले आफूहरूले पार्टीभित्र एकताका लागि सभापति गगनकुमार थापालगायत सबै पक्षसँग संवाद गरिरहेको जानकारीसमेत देउवालाई गराएका छन् ।
उनले देउवा र सभापति थापाबीच भेटघाट तथा संवादको आवश्यकता रहेको धारणा राखेका थिए । ‘पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँको भूमिका महत्वपूर्ण छ । सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवाद आवश्यक छ,’ महरले भनेका छन्।
महरका अनुसार देउवाले आफूले पार्टीभित्रको विवाद मिलाउन पहल गरिरहेको बताएका थिए । अदालतको निर्णय आएपछि थप विषयमा अघि बढ्ने धारणा देउवाले राखेका थिए । ‘आफूले मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो,’ महरले लेखेका छन् ।
महरले लामो समयको उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पाएपछि खुसी लागेकोसमेत बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने भएको छ ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणको नयाँ मिति तय हुन नसकेपछि भ्रमण स्थगित गरिएको हो । यसअघि अगस्टको दोस्रो साता चीन जाने भनिए पनि भ्रमण एक महिनापछि सारिएको थियो ।
सेप्टेम्बरको दोस्रो साताका लागि समेत भ्रमणको तयारी गरिएको थियो । तर उक्त समयमा पनि लामिछाने चीन नजाने भएका हुन् ।
यसअघि भारत भ्रमणपछि लामिछाने चीन जाने कार्यक्रम तय भएको थियो । तर अब उनी अर्को उपयुक्त समयमा मात्रै चीन जानेछन् । उनको चीन भ्रमणको नयाँ मिति भने तय भइसकेको छैन ।
बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन्।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएपछि उनका हजुरबुबाले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै प्रहरीले परिवार र स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा रातभर सम्भावित क्षेत्रमा खोजी गरेको थियो।
खोजीका क्रममा विन्दीलाई आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा सडक किनारामा रोइरहेको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन्। स्थानीय महिला सल्मा नेशाले बालिका भेटिएको जानकारी प्रहरीलाई गराएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बालिका आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ सकुशल अवस्थामा फेला परेकी हुन्।
उद्धारपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेपछि उनलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेपछि दाङकी एक महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो ।
उनका २२ वर्षीय छोरा वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंको होस्टलमा बसेर भाषा अध्ययन गरिरहेका थिए । उनको हत्याको खबर घरमा पुगेपछि आमा बिना अचेत भई ढलेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ । उनका श्रीमान् रोमहर्श कालाथोकी रोजगारीका क्रममा मलेसियामा रहेका थिए । घटनापछि उनी सोमबार नेपाल फर्किंदै छन् ।
वसन्तको हत्या आरोपमा प्रहरीले बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई पक्राउ गरेको छ । होस्टलमा बस्दै आएका उनीहरूले वसन्तको टाउको र घाँटीमा कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।
घाइते वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिना र रोमहर्शका ११ वर्षीय कान्छा छोरा अहिले हजुरबुवाको साथमा छन् ।
काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।
गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो ।
सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ ।
यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्वय गरी पहल गर्ने सहमति भएको छ ।
पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् ।
पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।





