
प्रतिनिधिसभाको बैठक सभामुख डोलप्रसाद (डीपी) अर्यालकी सासू आमाको निधनपछि स्थगित भएको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। सभामुख अर्यालको निजी सचिवालयका अनुसार उहाँकी सासू आमाको निधनका कारण बैठक स्थगित गरिएको हो।
संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार २०८३ भदौ ९ गते मंगलबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम अब प्रतिनिधिसभाको अर्को बैठक २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनापत्रमा अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने उल्लेख गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् ।
मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे ।
तर उद्योग खुलेपछि तिनको अवस्था र समस्या समाधानमा सरकारले ध्यान नदिएको उनको गुनासो थियो ।
उनले भने,‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, सहुलियत दिन्छौँ’ भन्नुभएको थियो । तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ ? सरकारले कहिल्यै चासो दिएको छैन ।’
श्रेष्ठले सरकारले चर्चित उद्योगको अवस्थाबारे समेत ध्यान नदिएको आरोप लगाए । लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रयास भइरहे पनि नयाँ तथा सञ्चालनमा रहेका उद्योगले भोगिरहेका समस्याबारे सरकारले पर्याप्त चासो नदिएको उनले बताए ।
‘२०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू खोल्ने, अरू उद्योगको समस्या के छ भन्ने ध्यान नदिने अवस्था छ । बुढापाकाले भन्थे नि, भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला भन्ने कुरामा सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भने ।
उनले अटोमोबाइल क्षेत्रका उद्योगीले भोगिरहेका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे । निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म तथा व्यावसायिक वातावरण नबनेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो ।
श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै बजार शिथिल हुँदा समग्र माग बढ्न नसकेको बताए । उद्योग तथा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भइरहेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो ।
उनले भने,‘अहिले मुलुकको अर्थतन्त्र चुनौतीको घडीमा छ । हामी सबैले एउटा चुनौती भोगिरहेका छौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन । उद्योग व्यवसाय सञ्चालनमा पनि कठिन भइरहेको छ । व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर मनस्थितिको अवस्थामा छ । मेरो आफ्नै ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो अवस्था पहिले देखेको छैन ।’
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ।
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो पत्र पुगेसँगै अब प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद्मा उपस्थित हुने भएका छन् ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदलाई निर्देशन दिएका थिए। यदि कसैले कालो चस्मा लगाउनैपर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने सभामुखको भनाइ थियो। सोही निर्देशन बमोजिम प्रधानमन्त्रीको मेडिकल रिपोर्ट सचिवालय पुगेको हो।
प्रधानमन्त्री शाहको आँखा परीक्षणका क्रममा नाङ्गो आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने अस्पतालको रिपोर्ट साउन २६ गते संसद् सचिवालयमा पठाइएको हो।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने तय भएको छ।
नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज (मंगलबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको औपचारिक उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिएको यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन् ।
प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा विभिन्न उत्पादन र सेवाहरू प्रदर्शन गरिएको छ । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका पछिल्ला प्रविधि र उत्पादनलाई मुख्य आकर्षणका रूपमा राखिएको आयोजकले जनाएको छ ।
त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतका सामग्री राखिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत प्रदर्शनीमा सहभागिता रहेको छ ।





