
रसुवा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो ।
प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० के।भी। ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ ।चिलिमे २२० के।भी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार ( त्रिशुली १३२ के।भी। प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे ( त्रिशुली ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ ।
चिलिमे हव ( त्रिशुली ३ बि हब ( मातातिर्थ २२० के।भी। प्रसारण लाइन अवरुद्ध छ । त्रिशुली(बालाजु ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ ।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ ।
धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ ।
चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ ।
प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ ।
६३ जना उपचाररत
नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २८ जना प्रहरी सम्पर्कविहीन छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
मोदीले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालका नागरिकसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।
‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ,’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
मोदीका अनुसार भारतका उद्धार तथा राहत टोलीले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।
भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा राहत कार्यका लागि बिदाइ तथा ब्रिफिङ गरेका हुन् । उनले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिए ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र उद्धार रहेको स्पष्ट पारे । रात पर्नुअगावै अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडानहरू रोकेर उद्धारमै केन्द्रित गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘पहिलो प्राथमिकता उद्धार नै हो । हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका लागि कसैले पनि उडान गर्न पाउने छैनन्, सबै हेलिकोप्टर रेस्क्युमा मात्र केन्द्रित छन् किनकि रात परेपछि उद्धारमा थप कठिनाइ हुन्छ। उद्धारलगत्तै उहाँहरूको लागि राहत र बसोबासको व्यवस्थापन गरिनेछ।’
बाढीको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै उनले माथिल्लो भेगमा हिमताल (ग्लेसियर) फुटेर भीषण बाढी आएकाले बस्तीहरू बगाएको र क्षतिको पूर्ण आकलन गर्न अझै समय लाग्ने बताए। ‘अझै पनि बाढीको सतह करिब ७ मिटरसम्म उच्च रहेको सूचना छ, त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई हाई अलर्टमा राखेर काम गरिरहेका छौँ,’ उनले थपे ।
यसैबीच, गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूलाई उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह गरेका छन् ।
उनले भने, ‘ज–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीले लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर सिग्नल दिन म सबै प्रभावितहरूलाई अनुरोध गर्दछु।’
तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन् ।
अधिकारीले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए ।
उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे । यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो ।
३ म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले २.६ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए । ‘त्यो त नहुनुपर्ने हो त्यति सानोले । त्यति सानोको खासै फिल हुँदैन। त्यो ३ भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो,’ अधिकारीले भने ।
रसुवामा पुनः बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का एक अधिकारीका अनुसार चिनियाँ पक्षबाट प्राप्त जानकारीमा फुटेको भनिएको हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो पानी थुनिएर बनेको ड्याम रहेको र त्यो जुनसुकै बेला फुट्न सक्ने जानकारी दिइएको छ।
त्यस्तो प्राकृतिक रूपमा बनेको बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो मात्रामा पानीको बहाव आउन सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन भनिएको हो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा अनावश्यक रूपमा नजान तथा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सबैले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको थियो। बाढीपछि उद्धार तथा राहत कार्य जारी रहेकाले सम्भावित अर्को बाढीको जोखिमलाई ध्यानमा राखेर उद्धार टोलीलाई समेत सुरक्षित स्थानमा रहेर काम गर्न सुझाव दिइएको छ।
सम्बन्धित निकायले प्राप्त सूचनाको आधारमा जोखिम क्षेत्रको निरन्तर निगरानी र आवश्यक पूर्वतयारीमा जोड दिएको छ।
नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पु¥याएको रसुवाका बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए।
आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।
उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरहेको बताए। धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको र टेलिफोन सेवा अवरुद्ध हुँदा परिवारजन त्रसित रहेको उनको भनाइ छ।
‘राम्रो अवस्था छैन, सोचेको र अनुमान गरेकोभन्दा पनि धेरै ठूलो क्षति भएको छ,’ आचार्यले भने, ‘धेरै परिवारका सदस्य सम्पर्कमा नआउँदा आफन्तहरू आत्तिनुभएको छ।’
रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको उनले बताए। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गर्ने तयारी गरिएको बताए।
‘अहिले त्यहाँको भूगोलमा सडकबाट पुग्ने बाटो छैन,’ उनले भने, ‘हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’
सरकारले विपद्पछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै आचार्यले सरकार र विपद् व्यवस्थापनमा खटिएका निकायलाई धन्यवाद दिए। सम्भावित उद्धारका लागि हेलिकोप्टर तथा अस्पताललाई तयारी अवस्थामा राखेर काम भइरहेको उनको भनाइ थियो।
बाढीको कारणबारे उनले तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्ट नै मुख्य कारण रहेको बताए। नेपालमा अत्यधिक वर्षा भएर नभई सीमापारिबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या नरहेको उनले बताए। तर प्रभावित क्षेत्रमै हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ।
आचार्यले विपद्को समयमा सबै नेपालीलाई एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरे। उनले राजनीतिक दल, संघसंस्था र आमनागरिकलाई बाढीपहिरो प्रभावितको पीडामा साथ दिँदै उद्धार, राहत र मानवीय सहयोगमा जुट्न अपिल गरे।
सरकारले रसुवाको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र बनाउँदै जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धारका लागि सरकारले उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णय गरेको छ। तत्काल उद्धार कार्यलाई तीव्रता दिन हालसम्म आठवटा हेलिकोप्टर परिचालन गरिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले तत्काल उद्धारका लागि आठवटा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत भएको छ।
आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने निर्णय भएको बताए।
‘कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील बनाउने र आवश्यक रकमको जोहो कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्षभन्दा माथि उठेर हामी सबै जनताको साथमा छौं,’ उनले भने, ‘हामीसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने निर्णयमा पुगेका छौं।’
बाढीबाट घाइते तथा बिरामी भएकाहरूको उपचारलाई सहज बनाउन त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भएको आङदेम्बेले बताए।
भोटेकोशीमा आएको आकस्मिक बाढीबाट ठूलो क्षति भएको विवरण आइरहेका बेला उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारका विभिन्न निकायलाई तत्काल परिचालन गर्ने निर्णय भएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अन्य जिल्लाबाट समेत अतिरिक्त सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जानकारी दिएका हुन् ।
उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, स्काउट र रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ । प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन् ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । त्यसका लागि एसएमएस तथा फोनमार्फत स्थानीयलाई जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ । निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको शाहले बताएका छन् ।
आगामी आवश्यक कदमबारे निर्णय गर्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको पनि उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन् ।
उनका अनुसार थप जानकारी तथा राहतसम्बन्धी जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका केही गाउँ डुबानमा परेका छन्। बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।
बाढीको अवस्था अझै विकसित हुनसक्ने भन्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न पनि निर्देशन दिइएको छ।
त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, नदी तथा खोलाको किनारमा नजान र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना तथा चेतावनीको पालना गर्न र अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न सरकारले आग्रह गरेको छ। सम्भावित जोखिम बढे तत्काल सुरक्षित स्थानमा सर्न तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।





