दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित क्षेत्रको थ्रिडी इमेज तयार पारिएको छ ।
चीनले सिजाङ अर्थात तिब्बतमा पहिरो गएका क्षेत्रहरूको त्रि–आयामिक अर्थात थ्रिडी तस्बिर सार्वजनिक गरेको हो ।
चिनियाँ अधिकारीहरुले केरुङ सीमा बन्दरगाहमा शुक्रबार खोजी तथा उद्धार कार्य तीव्र पारेका छन् ।
उद्धारकर्मीहरूले मानिसहरूको ज्यान बचाउन समयसँग प्रतिस्पर्धा गर्दै उद्धार अभियानलाई तीव्रता दिएका हुन् ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्।
बुधबार बिहान नेपालको भूभागमा गएको पहिरो केरुङ जिल्लास्थित केरुङ बन्दरगाहमा पुगेपछि उनीहरू बेपत्ता भएका हुन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको पहिचान भएको छ।
राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६८१ जना अग्नि तथा उद्धारकर्मी र ११३ वटा सवारीसाधन दुर्गम पहाडी सीमा क्षेत्रमा पुगिसकेका छन्। साथै, ६ हजार ६१२ थान उद्धार उपकरण तथा रसद सामग्री केरुङ गाउँमा पठाइएको छ।
पहिलो चरणमा १४१ जना उद्धारकर्मी र उच्च उचाइमा उड्न सक्ने एक हेलिकोप्टर बिहीबार बिहान बन्दरगाहमा पुगेका थिए। त्यसपछि चीन खोज तथा उद्धार टोलीका थप १११ जना उद्धारकर्मी बिहीबार दिउँसो केरुङ जिल्लामा पुगेका थिए।
अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि तीनवटा विशेष टोली गठन गरेका छन्। तीमध्ये एउटा टोलीले जलमार्गमा रबरका डुंगा प्रयोग गरेर, अर्कोले पहाडी भूभागमा पैदल यात्रा गरेर तथा तेस्रोले ड्रोनमार्फत हवाई निरीक्षण र राहत सामग्री आपूर्ति गर्ने गरी काम गरिरहेका छन्।
एक टोलीलाई मुख्य विपद् प्रभावित क्षेत्रमा पठाइएको छ। उक्त टोलीले ड्रोन र दूरबीनको प्रयोग गरी घटनास्थल तथा बनेको तालको नक्साङ्कन, निरीक्षण र लक्षित निगरानी गरिरहेको छ।
आपत्कालीन व्यवस्थापन मन्त्रालयअन्तर्गतको सांघाई अग्नि अनुसन्धान संस्थानका १३ जना विशेषज्ञ पनि घटनास्थलमा पुगेका छन्।
राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार कम्पनी चाइना एनेङले शुक्रबार १५ सदस्यीय टोली परिचालन गरेको छ।
टोलीले अवरोध तथा आसपासका सडकको स्थलगत सर्वेक्षण गर्न ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेसन र मोबाइल निगरानी क्यामेरा प्रयोग गरिरहेको छ।
यसको उद्देश्य बनेको तालसम्बन्धी जोखिम व्यवस्थापनका लागि आवश्यक प्रयासमा सही तथ्यांक उपलब्ध गराउनु हो।
उद्धारकर्मीहरूका अनुसार बन्दरगाहभन्दा करिब ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको ढुंगामाटो अवरोधका कारण बनेको जोखिम समाधान भएपछि मात्र सुरक्षित रूपमा हटाउन सकिनेछ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ ।
लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो ।
राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सडक पूर्णरूपमा सहज बनाउन लेदो हटाउने तथा सडक सफाइको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाहले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा भइरहेको बताएका छन् । रक्षाबन्धनका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य पुग्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा खटिएका छन् ।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र आजको हवाई उद्धारबाट ५१७ जना रहेका छन् । नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा उद्धार उडान सञ्चालन भइरहेको छ । हालसम्म ९९ वटा हवाई उडान भइसकेका छन् ।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाइएको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडानबाट राहत सामग्री पुर्याइएको छ । प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको प्रधानमन्त्रीले बताएका छन् ।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ । बेपत्ता नागरिक तथा शवको खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ । रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको छ । हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको जनाइएको छ ।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले बताएका छन् । उनका अनुसार भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ । हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको उनले उल्लेख गरेका छन् ।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ । जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने २ लाखभन्दा बढी एसएमएस मार्फत पूर्वसूचना दिइएको छ ।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको प्रधानमन्त्रीको भनाइ छ । गृहमन्त्री प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताएका छन् ।
सडक सम्पर्क पुनःस्थापनाको कामसमेत तीव्र पारिएको छ । वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् । काठमाडौं–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ ।
रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको पनि प्रधानमन्त्रीले बताएका छन् । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ । क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ । नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली व्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ ।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले विपद् प्रभावित नागरिकमा केन्द्रित रहेको बताएका छन् । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे ।
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छन् । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेकी छन् ।
काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।
सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडकको अवस्था र मौसमअनुसार यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण अलपत्र परेका ११७ पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ भारतीय, १६ चिनियाँ, नौ कोरियाली, दुई अमेरिकी र दुई इटालियन पर्यटक छन्। उद्धार गरिएका अन्य तीन जनाको भने पहिचान खुल्न सकेको छैन।
बाढीपछि अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। ट्रेकिङ तथा टुर कम्पनीहरूका अनुसार सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवरतर्फ गएका धेरै पर्यटक छन्।
। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो ।
कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत ‘क्युआर कोड’ र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”
आर्थिक सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरण प्रस्तुत गर्दै यहाँ दिइएका खातामा मात्र रकम दाखिला गर्न उक्त कार्यालयले अनुरोध गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड ९डलर खाता० ०१९०५६३१२१००४६, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ०१०१३२४३८०१, ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, ११३०१०००००००६०६, एभरेष्ट बैंक लिमिटेड ००१००१०५२००२७०, ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेड ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक लिमिटेड ००४०१०१०००००५७, ००४११०१००००००५, नबिल बैंक लिमिटेड १७१००१७५०५२८५ र कृषि विकास बैंक लिमिटेड ०१००२०१००२९०७०१४ मा सहयोग जम्मा गर्न सकिन्छ ।
साथै प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य कोषमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ रहेका छन् ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका ४८९ शवमध्ये ३९३ वटाको पहिचान हुन सकेको छैन।
नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पश्चिम नवलपरासीमा शव फेला परेका छन्।
फेला परेका शव सम्बन्धित जिल्लाका साथै काठमाडौँ, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।
बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। फेला परेकामध्ये ९६ शवको मात्रै पहिचान भएको छ।
सुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ ।
शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ ।
बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।
यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटाएको थियो ।
शुक्रबार थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ ।
नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढाइरहेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।