२०८३ भाद्र १३ गते शनिबार
२०८३ भाद्र १३ गते शनिबार

सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा सबै मन्त्रीको एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत भएको उनले बताए।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १० ट्रकभन्दा बढी राहत सामग्री पठाइसकिएको छ । राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने सरकारको तयारी छ।

पहिरोपछि बनेको तालले फेरि बाढी आउने डरले तिब्बत (केरुङ सीमा क्षेत्र) मा चीनले उद्धार कार्य स्थगन गरेको छ।

बीबीसीका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल र तिब्बतबिचको भूमि सीमा ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालको पानी बढिरहेको बताएका छन्।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रमा उद्धारकर्ताहरूलाई अहिलेका लागि काम रोक्न भनिएको छ।

पहिरोका कारण बनेको तालले थप बाढीको जोखिम बढाएपछि चिनियाँ उद्धार टोलीलाई एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

बाढीले ल्याएको गेग्रान थुप्रिएर नयाँ ताल बनेको र त्यसमा निरन्तर पानी जम्ने क्रम तीव्र बनेपछि चिनियाँ पक्षले उद्धार रोकेको बीबीसीले लेखेको छ।

यता नेपालको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोसीमाथि नदी थुनिएर ठुलो ताल बनेको र त्यो फुट्ने जोखिम रहेको भन्दै त्यसमुनिका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनेको छ।

बाढी महाशाखाका अनुसार २०८३ भदौ १० गते भोटेकोसी (रसुवा) मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाब सतर्कता तहभन्दा तल नै छ तर अझै उच्च सतर्कता अपनाउन आवश्यक छ।

बाढी महाशाखाले चेतावनी दिँदै अगाडि भनेको छ, ‘चीन सरकारबाट प्राप्त सूचनाअनुसार, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको हुँदा अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जानकारी आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी गराएको हो । ताल फुटेपछि त्यसको प्रभाव भोटेकोशी नदीमा पर्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ ।

यसअघि सोही क्षेत्रमा ठूलो ताल बनेको र त्यसमा पानीको मात्रा बढिरहेको जानकारी सार्वजनिक भएको थियो । ताल फुटेको खबरसँगै रसुवा प्रशासनले नदी तटीय क्षेत्रमा थप सतर्कता अपनाउदै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।