
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले शनिबार बिहान ७ बजे सम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।
नवलपरासी पूर्व १५८, गोरखा ४८, नवलपरासी पश्चिम ४७, धादिङ ४५, नुवाकोट ४१, तनहुँ ३१ र रसुवा १३ जना रहेका छन् ।
बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।
बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।
बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २३०१ जना रहेको छ । जसमा रसुवामा ६७६ र नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना रहेको छ ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ ।
कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो ।
शुक्रबार साँझ ग १३ प २८५९ नम्बरको स्कुटरमा उनीहरू बिरौटादेखी पृथ्वीचोक तर्फ आउँदै थिए । स्कुटरलाई सडकमा साइड लगाइ झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासि बगाएर नालीमा पुर्याएको थियो ।
पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएका थियो ।
उपचारका क्रममा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको उनले बताए ।
रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो धनजनको क्षति भएपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।
विपद्को यो विषम अवस्थामा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ। विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था तथा व्यक्तिहरूले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। नेपालले अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने मन्त्रालयले जनाएको छ।
अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ भने अस्ट्रेलियन सरकारले ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने जनाएको छ। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
छिमेकी मुलुक भारतबाट तीन चरणमा गरी हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ। चीन र अमेरिकाबाट घोषित मानवीय सहायता पनि शनिबारसम्म उपलब्ध हुने जनाइएको छ।
चीनले बाढी प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज उपलब्ध गराउने घोषणा गरेको छ। साथै, दुई हजार शव व्यवस्थापनका लागि आवश्यक ‘एयरटाइट ब्याग’ उपलब्ध गराउने जनाएको छ।
स्विट्जरल्याण्डले संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च हुने गरी १ मिलियन स्वीस फ्र्याङ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईँका अनुसार नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा प्रभावित समुदायलाई थप सहयोग परिचालन गर्न संस्था तयार छ। रेडक्रसका स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणमा सक्रिय भइसकेका छन्।
बाढी प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले खाद्यान्न, अस्थायी आवास, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्री र उद्धार उपकरण उपलब्ध गराइरहेका छन्।
अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट र पानी शुद्धीकरणका लागि एक हजार थान एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। संस्थाले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ। करिब १ करोड ६० लाख रुपैयाँ बराबरका अस्थायी आवास तथा भान्साका सामग्रीसहित गैरखाद्य सामग्री पनि पूर्वतयारी अवस्थामा राखिएको छ।
डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, पिक्याक्स, बेल्चा, पञ्जा र मास्क उपलब्ध गराएको छ। धादिङ र नुवाकोटमा टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था भइरहेको छ। ५०० परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको छ भने शव व्यवस्थापनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइने भएको छ।
सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ। थप ८०० थान सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ केभीए क्षमताका दुई जेनेरेटर उपलब्ध गराएको छ। बिबिसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीन जेनेरेटर उपलब्ध गराएको छ। यसले बाढीपछि प्रभावित क्षेत्रमा स्थानीय सञ्चारमाध्यमको प्रसारण पुनःसञ्चालनमा सहयोग पुगेको छ।
एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवास तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ। हेलेन केलर इन्टरनेसनलले आपत्कालीन पोषण सहयोग, इस्लामिक रिलिफ नेपालले त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायत गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ।
प्लान इन्टरनेसनल नेपालले खानेपानी, सरसफाइ, गैरखाद्य सामग्री, अस्थायी आवास तथा भान्साका सामग्री उपलब्ध गराउने जनाएको छ। पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ।
मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ। युनाइटेड मिसन टु नेपालले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ।
ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराइरहेको छ। संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ।
केयर नेपालले रसुवा र नुवाकोटमा खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्रीसहितको आपत्कालीन राहत प्याकेज उपलब्ध गराउने भएको छ। यसमा भान्साका सामग्री, ओछ्यान तथा बिछ्यौना, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ तथा शिशु सामग्री समेटिएका छन्। महिला तथा बालबालिकाका लागि सुरक्षित र मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना पनि बनाइएको छ।
यसरी बाढी प्रभावित क्षेत्रमा राहत केवल खाद्यान्नमा सीमित नरही अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण तथा घाइते र अपाङ्गता भएका व्यक्तिका लागि सहायक उपकरणसम्म विस्तार भएको छ।
बाढी प्रभावित नागरिकका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा समेत ठूलो रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म नौ वटा वाणिज्य बैंकका खातामा नेपाली रुपैयाँ ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा थप ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको छ। यो रकम नेपाली रुपैयाँमा करिब १० करोड ३८ लाख बराबर हुन्छ।
रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकाय उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।
बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएकाे छ भने यो क्रम जारी छ ।
प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ । जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ ।
साथै धादिङमा संकलन गरिएका २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।
तनहुँमा फेला परेका शवमध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ ।
नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवमध्ये ६ मध्यविन्दु नगरअस्पताल चोरमारामा, ३६ गैँडाकोट नगर अस्पतालमा, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ ।
पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये ८ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, तीन वा शव भीम अस्पताल भैरहवा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ ।
अन्य शवहरुलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरु संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँलगायत देशका विभिन्न शहरमा मनाइँदै छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाउने गरिन्छ ।
यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष भने शनिबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ ।




