२०८३ कार्तिक ७ गते शुक्रबार
२०८३ कार्तिक ७ गते शुक्रबार

रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।

बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् ।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

नेपाल आइपुगेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं लाने तयारी भइरहेको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको छ ।

 काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् ।

त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो।

करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि केएमसी ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो। सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको देखिएको थियो ।

चिकित्सकका अनुसार ट्युमरले मिर्गौलालाई तलतिर र फोक्सोलाई माथितिर धकेलेको थियो। त्यस्तै, मुटुबाट शरीरको तल्लो भागतर्फ रगत लैजाने प्रमुख रक्तनलीमा समेत ट्युमरको दबाब परेको थियो।

ट्युमरको आकार ठूलो भएकाले शल्यक्रिया गरेर निकाल्ने निर्णय गरिएको थियो। डा. आशीषलाल श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले करिब तीन घण्टा लगाएर जटिल शल्यक्रिया गरेको थियो। शल्यक्रियाका क्रममा महत्वपूर्ण रक्तनली तथा आसपासका अंगमा चोट पुग्न सक्ने जोखिम रहे पनि चिकित्सकको टोलीले सावधानीपूर्वक ट्युमर पूर्ण रूपमा निकाल्न सफल भएको हो। शल्यक्रियापछि नियामाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्कने तयारीमा छिन्। 

ट्युमर पूर्ण रूपमा निकालिएकाले भविष्यमा सोही समस्या दोहोरिने वा ट्युमर पुनः फैलिने सम्भावना निकै कम रहेको डा. श्रेष्ठले बताए । चिकित्सकका अनुसार टेरेटोमा जन्मजात रूपमा विकसित हुने ट्युमर हो । 

यसको विकासको निश्चित कारण सधैं पहिचान गर्न सकिँदैन, नियामाको हकमा पनि ट्युमर यति ठूलो भइसक्दासम्म स्पष्ट लक्षण नदेखिएका कारण समस्या ढिलो पहिचान भएको हुनसक्ने चिकित्सकको अनुमान छ।

समयमै उपचार हुन नसकेको भए ट्युमरले मिर्गौला, फोक्सो तथा पेटभित्रका अन्य अंगको विकास र कार्य सञ्चालनमा गम्भीर असर पार्न सक्ने अवस्था रहेको चिकित्सकले बताए। ट्युमरले सानो आन्द्रामा अवरोध सिर्जना गर्न सक्ने र त्यसबाट खाना नपच्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्थे। तर समयमै शल्यक्रिया भएकाले नियामालाई त्यस्ता जटिलताबाट जोगाउन सकिएको चिकित्सकको भनाइ छ।

यस उमेरकी बालिकाको पेटमा यति ठूलो ट्युमर भेटिनु असामान्य अवस्था भएको डा. श्रेष्ठले बताए । ट्युमरको आकार बढ्दै गए पनि सुरुवाती चरणमा खासै लक्षण नदेखिएकाले उपचारका लागि अस्पताल आउन ढिलाइ भएको हुनसक्ने उनको अनुमान छ ।

छोरीको सफल उपचारपछि नियामाका बुबा नवीन राईले आफूले छोरीको पेटमा यति ठूलो ट्युमर रहेको कल्पनासमेत नगरेको बताए । ट्युमरबारे थाहा पाएपछि आफू निकै आत्तिएको उल्लेख गर्दै उनले केएमसीका चिकित्सक तथा उपचार टोलीप्रति कृतज्ञता व्यक्त गरे।

‘छोरीको पेटमा यति ठूलो ट्युमर छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ। त्यो थाहा पाएपछि मेरो दिमागले नै काम गरेन। तर केएमसीका डाक्टरहरूको टोलीले सफल शल्यक्रिया गरेर मेरी छोरीलाई बचाइदिनुभयो। उहाँहरूलाई धेरै–धेरै धन्यवाद,’ उनले भने । 

छोरीको जटिल शल्यक्रिया सफल भई स्वास्थ्यमा सुधार आएपछि राई परिवारले केएमसीका चिकित्सक, नर्सिङ टोली तथा सम्पूर्ण उपचार टोलीप्रति विशेष आभार व्यक्त गरेको छ। छोरीको जीवन जोगाउन सफल उपचारका लागि उनीहरूले अस्पतालप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माको पहलमा सञ्चालन हुँदै आएको केएमसीले आर्थिक रूपमा कमजोर तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई उपचारमा सहयोग गर्दै आएको छ।

बाढीमा परि मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला विहीबारबाट काममा खटिएका छन् । 

निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।

‘म अहिले धुन्चे पुगेको छु । जिल्ला प्रशासन कार्यालयमार्फत जिम्मेवारी अनुसारको काम सुरु गरेको छु । जिल्ला प्रशासनका सबै साथीहरु मिलेर सक्रियताका साथ काम भइरहेको छ,’ निरौलाले नेपाल न्यूज बैंकसँग भने ।

विहीबार मात्रै रसुवा पुगेका निरौलाले प्रभावित स्थलमा विशेषगरी सडक अर्थात कनेक्टिभिटीको समस्या रहेको सुनाए । सरकारले राहत तथा उद्धारका काम जारी राखेको र राहत प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी दिंदै उनले सडक मार्ग खुलाउन सके बाँकी कामहरु गर्न सहज हुने प्रतिक्रिया दिए । 

उनले शनिबार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए । कोभिडको समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनबारे काम गरेको भन्दै फेसबुकमा अनुभवसहितको सुझाव लेखेका थिए ।

शव व्यवस्थापनको अनुभवसहितको सुझाव लेखेलगत्तै निरौलालाई सरुवा गरिएकोप्रति सर्वजनिक रुपमा सरकारको चर्को आलोचना भएको थियो ।

तर निरौलाले सरकारले दिएको जिम्मेवारी पूरा गर्न फिल्डमा जान तयार रहेको प्रतिक्रिया दिएका थिए । बुधबार मात्र उनी सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर आधिकारिक रुपमा जिम्मेवारी ग्रहण गरेका थिए ।

निरौला रसुवा जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क बिन्दु मानेर टिमुरे र आसपासका क्षेत्रमा खटिनेछन् ।

उनलाई विशेषगरी बेपत्ताहरूको खोजतलास र उद्धार कार्यमा समन्वय गर्ने, मृतकको पहिचान र शव व्यवस्थापन गर्दा स्थानीय संस्कृति, धार्मिक परम्परा र मानवीय संवेदनाको पूर्ण पालना गराउने, विदेशी नागरिक समेत बेपत्ता भएको अवस्थामा अन्तर्राष्ट्रिय समवेदनालाई ध्यानमा राखी समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी तोकिएको छ ।

गृह प्रशासन र विपद् व्यवस्थापनमा निरौलाको लामो अनुभव रहेकाले रसुवाको जटिल परिस्थितिमा उनलाई खटाउनु आवश्यक देखिएको मन्त्रालयको भनाइ छ । निरौलाको पारिश्रमिक र सुविधा हाल कार्यरत कोशी प्रदेशकै मन्त्रालयबाट बेहोरिने गरी काज मिलाइएको छ । 

भोलि शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।

भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित सार्वजनिक बिदा छ।

यस्तै,  भदौ २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।

सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।

भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदिश खरेलले सरकारले सीमित स्रोत–साधनका बाबजुद खोजी, उद्धार र राहतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।

उनका अनुसार बैठकमा सरकारमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछि सरकारले गरिरहेको काम र कार्यप्रगतिबारे जानकारी गराएका थिए । अब खोजी, उद्धार र राहतसँगै पुनस्र्थापनाको कामलाई पनि अगाडि बढाउने तयारीबारे बैठकमा जानकारी गराइएको खरेलले बताए ।

खरेलले भने, ‘यो बैठक सम्पूर्ण रूपमा महत्त्वपूर्ण र गम्भीर हिसाबले अहिलेको तत्कालको भोटेकोशी बाढी र यसले निम्त्याएको राष्ट्रिय शोक, यो विपद्कै सन्दर्भमा केन्द्रित भएको छ। हामीले यो विपद्, भोटेकोशी बाढी र यसपछाडि खोजी, उद्धार र राहतको सन्दर्भमा पार्टीमा गम्भीर समीक्षा गरेका छौँ।’

उनका अनुसार हालसम्म सरकारले स्थापना गरेको कोषमा करिब ८ अर्ब रुपैयाँ सहयोग सङ्कलन भएको छ । त्यसमध्ये १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राधिकरणलाई पठाइएको र प्राधिकरणमार्फत ६ करोड रुपैयाँभन्दा बढी रकम प्रभावित स्थानीय तहमा पठाइएको जानकारी बैठकमा दिइएको छ ।

रास्वपाले खोजी, उद्धार र राहतमा सरकारले गरेको कामप्रति धन्यवाद दिँदै अझै प्रभावकारी रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रभावित क्षेत्रमा राहत पु¥याउने, बेपत्ताको खोजीलाई निरन्तरता दिने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

खरेलले भने, ‘पार्टीले सरकारलाई धन्यवाद दिएको छ, सन्तोष व्यक्त गरेको छ र अझै प्रभावकारी बनाउनुपर्छ, अझै हामीले राहतलाई प्रभावित ठाउँसम्म पु¥याउनुपर्छ, अझै पनि खोजी जारी राख्नुपर्छ, अझै पनि उद्धारलाई कन्टिन्यु गर्नुपर्छ।’

रास्वपाले विपद्को कठिन परिस्थितिमा सरकारलाई आफ्नो निरन्तर र कसिलो साथ रहने निर्णय गरेको पनि उनले बताए । उनका अनुसार पार्टीले सङ्घीय सरकार मात्रै नभई तीनै तहका सरकारलाई आवश्यक सहयोग र साथ दिने निष्कर्ष निकालेको छ ।

यसैगरी, बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निकालिएका निष्कर्षबारे जानकारी गराएका थिए । सर्वदलीय बैठकमा विपद्को सामना गर्न राजनीतिक दलहरूबीच व्यक्त भएको ऐक्यबद्धताप्रति लामिछानेले धन्यवाद दिएको खरेलले बताए। 

रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ ।

उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सन्दर्भमा लामो रूपमा, दीर्घकालीन रूपमा हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेरै लानुपर्छ भन्ने कुराहरू पनि सभापतिज्यूको यसमा जोड रहेको छ। र त्यसलाई पार्टीको सचिवालय बैठकले पनि आत्मसात् गरेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’

नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनीलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विदुर नगरपालिका–५, पीपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सञ्चालन गरिएको शिविरमा केएमसीका वरिष्ठ चिकित्सकको टोलीले बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो।

शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यकताअनुसार औषधि वितरण गरिएको केएमसीले जनाएको छ। थप उपचार आवश्यक देखिएका बिरामीलाई अस्पतालमा ल्याएर उपचार गराउने गरी रिफर गर्ने व्यवस्था पनि गरिएको थियो।

बाढीका कारण घरबार, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका नागरिकमाथि उपचारको थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ। तत्काल उपचार आवश्यक भएका बिरामीलाई शिविरमै उपचार गर्नुका साथै जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल ल्याउने व्यवस्था गरिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि केएमसीले यसअघि नै आवश्यक उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ। प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नु सोही अभियानको निरन्तरता भएको अस्पतालले जनाएको छ।

शर्माको पहलमा केएमसीले यसअघि पनि आर्थिक रूपमा विपन्न तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। जटिल रोगका बिरामीदेखि शल्यक्रिया आवश्यक पर्ने तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई अस्पतालले विभिन्न समयमा निःशुल्क उपचार तथा आवश्यक सहयोग प्रदान गर्दै आएको छ।

प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढलेका छन् ।

बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीमा ढलेका हुन् ।

सांसद खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए ।

सांसद खड्का रक्तचापका कारण ढलेको बताइएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

 रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन् । 

बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार १३५ जना छन् । 

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये बिहीबार मात्रै २५ उडान गरिसकेको छ । 

एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २२ औँ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ६८ बलको सामना गर्दा चार चौकाको मद्दतमा नटआउट ४५ रन बनाए । इशान पाण्डेले २० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन थपे । आजको खेलमा ओपनर आशिफ शेख भने पहिलो बलमै आउट भएका थिए ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा १०६ रन रन बनाउँदै शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारेका थिए । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।

टस हारेर पहिला फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको थियो।

नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडेका थिए ।

पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जित निकालेको हो । यो जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।

समूह चरणको तेस्रो खेल नेपालले भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।