२०८३ कार्तिक ७ गते शुक्रबार
२०८३ कार्तिक ७ गते शुक्रबार

काठमाडौंमा भोटेकोसी बाढीबाट विस्थापित तथा जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले जग्गा पहिचान समिति गठन गरेको छ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा तत्काल पुनर्स्थापना आवश्यक रहेका परिवारको संख्या यकिन गर्नेछ।

त्यसपछि प्रभावित परिवारसँग अन्यत्र जग्गा भए/नभएको विवरण संकलन गरिनेछ। अन्य विकल्प नभएका परिवारको पुनर्स्थापनाका लागि स्थानीय तह र वडासँगको समन्वयमा सम्भावित जग्गा पहिचान गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी विपद् जोखिमको प्रारम्भिक मूल्यांकनसमेत गरिनेछ। जोखिम कम रहेको पुष्टि भएपछि त्यस्ता जग्गा पुनर्स्थापनाका लागि प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया र उपायबारे समितिले सरकारलाई सिफारिस गर्नेछ।

समितिमा संघीय मामिला, पूर्वाधार विकास, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका अधिकारीहरू सहभागी छन्। सम्बन्धित जिल्लाबाट जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुखलाई समेत सदस्य तोकिएको छ।

समितिले स्थानीय तह र सम्बन्धित वडासँग तथ्यांक संकलनको काम अघि बढाइसकेको जनाएको छ। संकलित विवरणका आधारमा सुरक्षित स्थान पहिचान गरी बस्ती स्थानान्तरणको विकल्प तयार गरिनेछ।

समितिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउने र सम्पूर्ण विवरणसहित सुझाव तथा सिफारिस समेटिएको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ।

रसुवामा निर्माणधिन माथिल्लो (अपर) त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई वटा शव फेला परेका छन्।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागबाट ती शव निकालिएको हो। फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन।

यसै सुरुङको करिब २२५ मिटर भित्रबाट शनिबार मात्रै एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा मानिसहरू थुनिएको आशंकामा खोजी कार्य जारी राखिएको छ। बाढी आएको १२ औं दिन पुग्दा पनि उद्धार तथा खोजी टोलीले सुरुङभित्र काम जारी राखेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आज आइतबार उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई उनीहरुको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन् ।

‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ, ’ प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन । संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ । संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौँ ।’

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गरेका छन् । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेरसमेत जतिसक्दो चाँडो अस्पताल पु¥याएको उनले बताएका छन् ।

साथै शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

‘कठिन भूगोल छ, प्रतिकूल मौसम छ, तर, हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ,’ उनले भनेका छन्, ‘तपाईंहरूले प्रभावितको पीडा गहिरोसँग बुझ्नुभएको छ । बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसको संख्या ठूलो छ । त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ ।’

‘हामीलाई थाहा छ– तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ । बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ । यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ । सकिनसकी शव उठाइरहनुभएको छ । होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ । अझै पनि बाढी आउनसक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ । तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ,’ प्रधानमन्त्री शाहको भनाइ छ ।

‘आ–आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीलाई निर्देशन दिइरहनुभएको छ । समन्वय गरिरहनुभएको छ । कमान्डरलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिँदै गर्दा आफैँ अप्ठ्यारोमा पर्छन् की ? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनुभएका आफ्ना साथीहरुको मनोबल उच्च राख्ने प्रयास गरिरहनुभएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी आएलगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ । रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।

प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षा निकायको सहयोग लिएर उद्धारको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारको नेतृत्व गरिरहेको छ । यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको छ । साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ । नुवाकोटको देवीघाटमा सेना आफँैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सेना खटिरहनुभएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्री शाहको भनाइ छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् । घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ । शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ । जोखिमपूर्ण क्षेत्रमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ । त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मेहनत गरिरहेको छ । हाल बाढी प्रभावित क्षेत्रमा सात हजार ९७५ प्रहरी खटिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार, सशस्त्र प्रहरी बल, नेपालले पनि कठिन भूगोल र उर्लदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ । त्यसका लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो । ड्रोन स्क्वाड परिचालन गरिरहेको छ । केनाइन टोली पनि सँगसँगै खटाएको छ । प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ । प्रभावित क्षेत्रको नेपाल–चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ । हाल प्रभावित क्षेत्रमा चार हजार २०३ सशस्त्र प्रहरी खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाएको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र दीर्घकालीन समाधानका लागि दुईवटा विकल्पमा अध्ययन भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । सडकमा यातायात सञ्चालनमा ल्याउन विभागले चौबिसै घण्टा काम गरिरहेको उनले बताए ।

‘रसुवाको बाढीपछि सिर्जित समस्याले यहाँको सुरक्षा पर्खाल भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरारहरू देखिएका छन् । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ,’ जैसीले भने ।

उनका अनुसार विश्व बैंकको ठेक्काअन्तर्गतका निर्माण व्यवसायी तथा आवश्यक उपकरण परिचालन गरेर काम भइरहेको छ । रातिको समयमा फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै कामलाई निरन्तरता दिइएको उनले बताए ।

‘प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भए पनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ,’ उनले भने । कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुईवटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले जानकारी दिए ।

पहिलो विकल्पका रूपमा कृष्णभीर क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तार गरी दुईवटा पुल निर्माण गर्ने विषयमा गृहकार्य भइरहेको उनले बताए ।

‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ,’ जैसीले भने ।

त्रिशूली करिडोरलगायत विभिन्न क्षेत्रमा क्षति भएका करिब २९ वटा पुलको मर्मत, सम्भार तथा पुनर्निर्माणलाई समेत सडक विभागले प्राथमिकतामा राखेको उनले बताए ।

धादिङको फुर्केखोला पुलको पुनर्निर्माणका लागि समेत काम अघि बढिरहेको जैसीले जानकारी दिए ।

उनका अनुसार फुर्केखोलामा रहेको ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ ।

‘चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ,’ उनले भने ।

सडक विभागसँग पुल निर्माण तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक दक्षता रहेको उल्लेख गर्दै जैसीले क्षतिग्रस्त संरचनालाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाए ।

देशभर करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्नु चुनौतीपूर्ण भए पनि स्रोतसाधनले भ्याएसम्म विभाग चौबिसै घण्टा परिचालन भइरहेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले समेत कृष्णभीरको स्थलगत अवस्था अवलोकन गरी समस्या छिटो समाधान गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सडक विभागले सुरक्षित रूपमा यातायात सञ्चालनका लागि आवश्यक सबै उपाय अपनाइरहेको जनाउँदै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिए।

थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए। विशेषगरी भोटेकोसीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्यून हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे। उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रस्तुतीलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए।

सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए।

सभापति थापाले भने, ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ। नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ। यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन्। पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ।’

उनले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए। सही तयारी र विज्ञहरूको परामर्शका आधारमा प्रस्तुत भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दालाई थप स्थापित गर्न सक्ने थापाको भनाइ छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ । टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।

रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ ।

त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाका आठ जनाको टोली उद्धार उपकरणसहित खोज तथा उद्धार कार्यमा निरन्तर खटिएको छ ।

त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको नेपाली सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ । साथै, अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने कार्य भइरहेको छ ।

चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ । टोली पावरहाउसबाट करिब ५०–६० मिटरको दूरीसम्म पुगेको छ । यस्तै, स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर झारेर सुरुङ क्षेत्रमा लैजाने कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ ।

प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखेको छ । सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

यसैबीच, नेपाली सेनाले २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत त्रिशूली पु¥याएको जनाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा श्रमिकको खोजी अब आयोजनाको संरचनाभन्दा बाहिरी क्षेत्रमा केन्द्रित गरिएको छ । सम्भावित रूपमा बाढीबाट बच्न माथिल्लो भूभाग वा जंगलतर्फ पुगेका हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा दक्ष रक क्लाइम्बरको टोली परिचालन गरिएको हो ।

आयोजनाको विद्युत्गृहभित्र शनिबार गरिएको खोजीबाट कुनै सम्पर्कविहीन व्यक्ति भेटिएनन् । त्यसपछि कम्पनीले घट्टेखोला क्याम्प आसपासका जंगल, पहाडी बाटो तथा मानिसले बाढीबाट बच्न आश्रय लिन सक्ने सम्भावित स्थानमा खोजी बढाएको जनाएको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग आबद्ध दक्ष जनशक्तिमध्ये हिमालय समिट क्लब प्रालिका आठ जना रक क्लाइम्बर अहिले स्थलगत खोजीमा छन् । टोलीले टिमुरेबाट खोजी सुरु गरेर हेलिकप्टरमार्फत घट्टेखोला पुगेपछि शनिबार बिहानैदेखि आसपासका क्षेत्रमा खोजी गरिरहेको हो ।

कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार बाढीका बेला आयोजनास्थलबाट ज्यान जोगाउन भागेका केही व्यक्ति माथिल्लो क्षेत्रमा पुगेपछि सम्पर्कमा आइसकेका छन् । तर, भाग्ने क्रममा घाइते भएर जंगल वा अप्ठ्यारो भूभागमा फसेका व्यक्ति अझै हुन सक्ने आशंकामा खोजी विस्तार गरिएको हो ।

उता, नेपाली सेनाको टोलीले पनि शनिबार आयोजनास्थलको हवाई रेकीपछि विद्युत्गृहमा प्रवेश गरी खोजी गरेको थियो । चारवटा हेलिकप्टरमार्फत पुगेको उद्धार टोलीमा कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटी पनि सहभागी थिए ।

सेनाको टोलीले भग्नावशेष पन्छाउँदै कन्ट्रोल रुमसहित विद्युत्गृहका विभिन्न भागमा खोजी गरेको थियो । तर, कन्ट्रोल रुम पूरै हिलो र लेदोले पुरिएको तथा बाढीले ल्याएको माटो, काठ र अन्य सामग्री ईओटी क्रेनको तहभन्दा माथिसम्म थुप्रिएको अवस्थामा भेटिएको छ ।

विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि खोजीका क्रममा कसैलाई फेला पार्न नसकिएको कम्पनीले जनाएको छ । उद्धार टोली विद्युत्गृहबाट बाहिरिसकेको छ ।

अबको खोजीमा रक क्लाइम्बर टोलीले बाढीबाट बच्न मानिसहरू जान सक्ने बाटो, सम्भावित ओत तथा पुग्न कठिन पहाडी क्षेत्रमा विशेष निगरानी गरिरहेको छ ।

बाढीपछि आयोजनाका ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कमा आएका छैनन् । आयोजनामा कार्यरत सात जनालाई भने यसअघि नै उद्धार गरिएको कम्पनीले जनाएको छ ।

साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।

आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।

दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।

यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।

१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ ।

दुई नेताबीच भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको हो ।

भेटका क्रममा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

यसैगरी दुई नेताबीच यही भदौ १० गते बुधबार नेपाल–चीन सीमा रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो ।

बाढीबाट प्रभावित तीन जिल्लाको अवस्था, राहत तथा पुनर्स्थापनाका काम र त्यसतर्फ पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ।

अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरोसँगै ढाड दुख्ने, शरिर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री गुरुङ लगातार करिब १० दिनसम्म उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा घटनास्थलमै खटिँदै आउनुभएको थियो। निरन्तरको धपेडी र अत्यधिक कार्यबोझका कारण उहाँको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

रसुवा बाढीपछि गुरुङ हेलिकोप्टर तथा स्थलगत टोलीसँगै फिल्डमै रहेर उद्धार कार्यको नेतृत्व गर्दै आउनुभएको थियो। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारदेखि प्रभावित क्षेत्रको अनुगमनसम्म उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो।

भदौ १९ गते त्रिशूली–३ ए क्षेत्रमा दुई नेपालीको सकुशल उद्धार हुँदा पनि गृहमन्त्री गुरुङ घटनास्थलमै उपस्थित रहनुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।