२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा श्रमिकको खोजी अब आयोजनाको संरचनाभन्दा बाहिरी क्षेत्रमा केन्द्रित गरिएको छ । सम्भावित रूपमा बाढीबाट बच्न माथिल्लो भूभाग वा जंगलतर्फ पुगेका हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा दक्ष रक क्लाइम्बरको टोली परिचालन गरिएको हो ।

आयोजनाको विद्युत्गृहभित्र शनिबार गरिएको खोजीबाट कुनै सम्पर्कविहीन व्यक्ति भेटिएनन् । त्यसपछि कम्पनीले घट्टेखोला क्याम्प आसपासका जंगल, पहाडी बाटो तथा मानिसले बाढीबाट बच्न आश्रय लिन सक्ने सम्भावित स्थानमा खोजी बढाएको जनाएको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग आबद्ध दक्ष जनशक्तिमध्ये हिमालय समिट क्लब प्रालिका आठ जना रक क्लाइम्बर अहिले स्थलगत खोजीमा छन् । टोलीले टिमुरेबाट खोजी सुरु गरेर हेलिकप्टरमार्फत घट्टेखोला पुगेपछि शनिबार बिहानैदेखि आसपासका क्षेत्रमा खोजी गरिरहेको हो ।

कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार बाढीका बेला आयोजनास्थलबाट ज्यान जोगाउन भागेका केही व्यक्ति माथिल्लो क्षेत्रमा पुगेपछि सम्पर्कमा आइसकेका छन् । तर, भाग्ने क्रममा घाइते भएर जंगल वा अप्ठ्यारो भूभागमा फसेका व्यक्ति अझै हुन सक्ने आशंकामा खोजी विस्तार गरिएको हो ।

उता, नेपाली सेनाको टोलीले पनि शनिबार आयोजनास्थलको हवाई रेकीपछि विद्युत्गृहमा प्रवेश गरी खोजी गरेको थियो । चारवटा हेलिकप्टरमार्फत पुगेको उद्धार टोलीमा कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् एवं टनेल विज्ञ विष्णु शिवाकोटी पनि सहभागी थिए ।

सेनाको टोलीले भग्नावशेष पन्छाउँदै कन्ट्रोल रुमसहित विद्युत्गृहका विभिन्न भागमा खोजी गरेको थियो । तर, कन्ट्रोल रुम पूरै हिलो र लेदोले पुरिएको तथा बाढीले ल्याएको माटो, काठ र अन्य सामग्री ईओटी क्रेनको तहभन्दा माथिसम्म थुप्रिएको अवस्थामा भेटिएको छ ।

विद्युत्गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुन सक्ने अनुमान गरिए पनि खोजीका क्रममा कसैलाई फेला पार्न नसकिएको कम्पनीले जनाएको छ । उद्धार टोली विद्युत्गृहबाट बाहिरिसकेको छ ।

अबको खोजीमा रक क्लाइम्बर टोलीले बाढीबाट बच्न मानिसहरू जान सक्ने बाटो, सम्भावित ओत तथा पुग्न कठिन पहाडी क्षेत्रमा विशेष निगरानी गरिरहेको छ ।

बाढीपछि आयोजनाका ९३ कर्मचारी तथा श्रमिक अझै सम्पर्कमा आएका छैनन् । आयोजनामा कार्यरत सात जनालाई भने यसअघि नै उद्धार गरिएको कम्पनीले जनाएको छ ।

साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।

आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।

दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।

यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।

१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ ।

दुई नेताबीच भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको हो ।

भेटका क्रममा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

यसैगरी दुई नेताबीच यही भदौ १० गते बुधबार नेपाल–चीन सीमा रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो ।

बाढीबाट प्रभावित तीन जिल्लाको अवस्था, राहत तथा पुनर्स्थापनाका काम र त्यसतर्फ पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ।

अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरोसँगै ढाड दुख्ने, शरिर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री गुरुङ लगातार करिब १० दिनसम्म उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा घटनास्थलमै खटिँदै आउनुभएको थियो। निरन्तरको धपेडी र अत्यधिक कार्यबोझका कारण उहाँको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

रसुवा बाढीपछि गुरुङ हेलिकोप्टर तथा स्थलगत टोलीसँगै फिल्डमै रहेर उद्धार कार्यको नेतृत्व गर्दै आउनुभएको थियो। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारदेखि प्रभावित क्षेत्रको अनुगमनसम्म उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो।

भदौ १९ गते त्रिशूली–३ ए क्षेत्रमा दुई नेपालीको सकुशल उद्धार हुँदा पनि गृहमन्त्री गुरुङ घटनास्थलमै उपस्थित रहनुभएको थियो।

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।

मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्।

शनिबार राति वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोमा छापामारी उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

त्यसैगरी नेपाली नागरिकलाई नियम विपरीत क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार जना कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ।

गत भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बिचमै रोकिएका थिए। आपूर्ति सहज बनाउन निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ भित्र्याउन थालेको हो।

निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति प्रणाली सुचारु राख्न सार्वजनिक बिदाका दिन पनि ग्यासको रिफिलिङ र ढुवानी निरन्तर गर्न उद्योगलाई निर्देशन दिइएको छ।

यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भारी क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।

उद्धारमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ। यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूका लागि ५ सय ७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार मृतकमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।

बाढीका कारण अझै ४ हजार ४४ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ३ हजार ४ सय ३८ जना स्वदेशी र ६ सय ६ जना विदेशी नागरिक रहेका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार कार्यका क्रममा बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल ३ हजार ९८ जना प्रभावितहरूलाई होल्डिङ्ग सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई तीव्रता दिइएको छ। हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी कुल २ हजार ४ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको छ। फेला परेकामध्ये ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार ३७ वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।