
बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्।
शनिबार राति वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोमा छापामारी उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।
त्यसैगरी नेपाली नागरिकलाई नियम विपरीत क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार जना कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथमार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको छ।
गत भाद्र १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बिचमै रोकिएका थिए। आपूर्ति सहज बनाउन निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौँ भित्र्याउन थालेको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५ सय र भदौ १९ गते करिब ३४ हजार १ सय ३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ। आपूर्ति प्रणाली सुचारु राख्न सार्वजनिक बिदाका दिन पनि ग्यासको रिफिलिङ र ढुवानी निरन्तर गर्न उद्योगलाई निर्देशन दिइएको छ।
यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भारी क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।
उद्धारमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ। यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूका लागि ५ सय ७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।
रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार मृतकमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।
बाढीका कारण अझै ४ हजार ४४ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ३ हजार ४ सय ३८ जना स्वदेशी र ६ सय ६ जना विदेशी नागरिक रहेका छन्।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार कार्यका क्रममा बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल ३ हजार ९८ जना प्रभावितहरूलाई होल्डिङ्ग सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई तीव्रता दिइएको छ। हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी कुल २ हजार ४ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको छ। फेला परेकामध्ये ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार ३७ वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।




