त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मर्मत सम्भार गरी यातायात सुचारु गरेका हुन् । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेदेखि फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा), धनस्वारा र पाटिखर्क खण्डमा व्यापक मर्मत कार्य गरिएको छ ।
एक्साभेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणहरूको प्रयोग गरी पहिरो पन्छाउने, सडकको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरो स्थानमा सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ । साथै, आवश्यक स्थानमा ग्राभेल राख्ने र कल्भर्ट निर्माण गरिएसँगै अब उक्त खण्डमा ठूला सवारी साधनहरू समेत दुईतर्फी रूपमा सञ्चालन हुनसक्ने भएका छन् ।
यसअघि रसुवा आवतजावतका लागि काठमाडौँ-टोखा-छहरे-चौघडा पुल-बाहुनबेसी-आप्र-नर्जा-लच्याङ-सरमथली हुँदै पाटिखर्क-बोगटीटार-कालिकास्थान-धुन्चे मार्ग प्रयोग हुने गरेको थियो। उक्त मार्गमा मुख्यतः साना चार पाङ्ग्रे सवारी साधन मात्र सञ्चालनमा थिए ।
अब दुईवटा वैकल्पिक मार्ग सञ्चालनमा आएकाले सवारी चाप व्यवस्थापन गर्न ‘एकतर्फी’ (इलभ-धबथ) प्रणालीको खाका तयार पारिएको छ । जसअनुसार भारवाहक सवारी साधनहरू ढिकुरे-बोरे भञ्ज्याङ-पाटिखर्क खण्डबाट रसुवातर्फ जाने र फर्कँदा पाटिखर्क-लच्याङ-नर्जा-आप्र-बाहुनबेसी-चौघडा खण्ड प्रयोग गर्न सक्नेछन् ।
यो व्यवस्थाले सडकमा हुनसक्ने सवारी जामलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सडक भर्खरै मर्मत गरी सञ्चालनमा ल्याइएकाले वर्षाका कारण कतिपय स्थानमा बाटो हिलो र चिप्लो हुन सक्ने भन्दै चालकहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । सवारी साधन र यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न प्राविधिक टोलीले सडकको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ ।
रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले १५० भन्दा बढी स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्शका लागि परिचालन गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारसँगै पीडितको मानसिक स्वास्थ्यमा समेत ध्यान दिइएको हो।
बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९४ जना अझै सम्पर्कविहीन छन्। विपद्मा परी ६ हजार ६ सय ७६ जना घाइते भएका छन्।
विपद्को त्रास, आफन्त गुमाएको पीडा तथा विस्थापनका कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव र मनोसामाजिक समस्यालाई सम्बोधन गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५ सय ३३ जनालाई सुरक्षित राखिएको छ।
सरकारले उद्धार र उपचारसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत तीव्रता दिएको जनाएको छ। मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यले विपद्बाट प्रभावित नागरिकलाई मानसिक रूपमा समेत सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण नियन्त्रणका लागि एक साताको समयसीमा दिएकी छन् ।
सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलका क्रममा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाही गर्ने चेतावनी दिएकी हुन् ।
सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगहरूले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित हुँदै आएको छ । खोलामा भइरहेको प्रदूषणका कारण बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनीलगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन् ।
उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्दै दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको मन्त्री कुमारीको भनाइ छ ।
छलफलका क्रममा उनले उद्योगीहरूलाई सिर्सिया खोला प्रदूषणको विषयलाई औपचारिक बैठकमा मात्रै सीमित नराखी तत्काल सुधारका काम थाल्न निर्देशन दिइन् ।
‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन । यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ । तपाईंहरूलाई एक हप्ताको समय छ । के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस् । आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउनेछ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइनेछ,’ मन्त्री कुमारीले भनिन् ।
विगत लामो समयदेखि यस क्षेत्रका किसान तथा स्थानीय बासिन्दाले सिर्सिया खोलालाई पुनर्जीवन दिन माग गर्दै आएका छन् । उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा औद्योगिक फोहोर उचित व्यवस्थापन नगर्दा यस क्षेत्रको ‘लाइफलाइन’ मानिने सिर्सिया खोला अस्तित्व संकटमा परेको स्थानीयको गुनासो छ ।
मन्त्री कुमारीले एक साताभित्र सुधारका काम सुरु गर्न दिएको निर्देशनपछि स्थानीय बासिन्दाले भने खोलाको प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन् । मन्त्रालयले आगामी साता विशेष टोली परिचालन गरी उद्योगहरूको स्थलगत निरीक्षण गर्ने जनाएको छ ।
रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथ्वानियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुईजना बेपत्ता भएका छन् ।
यस्तै, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एक जना बेपत्ता भएका छन् । यसैगरी, लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई पर्यटक बेपत्ता भएका छन् । उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् ।
विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला रहेका छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताउनुभयो । सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५४ पुरुष र ५३ महिला रहेका छन् ।
यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना (दुई पुरुष, चार महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरेका छन् ।
उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य रोक्ने कारण नबनाउन नहुने बताए ।
‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने ।
उनले विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकहरूप्रति समेत दुःख व्यक्त गर्दै सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रपति पौडेलले उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ थियो ।
त्यस्तै, मृतकहरूको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्नेमा उनले जोड दिए। आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखेर पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनुपर्ने उनले बताए ।
प्राकृतिक विपत्तिका कारण घरबारविहीन, विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए ।
‘पीडितका गुनासो र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु,’ उनले भने ।
राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले हिमाली पर्यावरणको नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए । उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष ठोस कदम चाल्न आह्वान गरे ।
उनले विपत्तिको समयमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
उनले अबको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने भन्दै विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए ।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।
उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी, त्रिशूली नदीलगायतका स्थानमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ ।
विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले जनाएका छन् ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए ।
बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने ।
त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन् । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनस्र्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई शनिबार पक्राउ गरेको हो ।
उनले बाढीबारे खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडिओ राखेका थिए ।
उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ कसुर अनुसार अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबार स्थीत विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।