२०८३ आश्विन २ गते शुक्रबार
२०८३ आश्विन २ गते शुक्रबार

बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङमुनिबाट ती महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका-३ पडेष गाउँकी ४२ वर्षीया विमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।

रोकायालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमानेपछि चार जिल्ला सभापतिको जिम्मेवारी खोसिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो ।

जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहने दुलालले जानकारी दिएका छन् । 

निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ । त्यसैगरी, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको छ ।

यता, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरेका छन् । बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन् ।

पार्टीको वैधानिकता, नेतृत्व र विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा साङ्गठनिक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर उक्त विज्ञप्तिमा गरिएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा आगामी पुसमा हुने ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा उद्योग संगठन मोरङ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच विराटनगरमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा एक्स्पोसँग जोडिएका छन्।

उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पोको यो नवौँ संस्करण हो, जुन आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ।

पूर्वी नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक मेलाका रूपमा स्थापित यस एक्स्पोलाई यस वर्ष परम्परागत प्रदर्शनीमा मात्र सीमित नराखी सिकाइ, कार्य, निर्माण, सम्बन्ध विस्तार, प्रभाव, व्यापार विस्तार र मनोरञ्जनका विविध आयामहरूसँग जोड्ने योजना आयोजकले बनाएको छ।

उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताहरूको सहभागिता रहने यस मेलामा २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

सम्झौता कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले एक्स्पोको प्रभाव र पहुँचलाई अझ व्यापक बनाउने उल्लेख गरे।

उनले एक्स्पो केवल वस्तु र सेवाको प्रदर्शनीमा सीमित नरहेर उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरहरूलाई जोड्ने साझा थलो भएको बताए।

त्यस्तै, विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको आगमनले एक्स्पोमा थप उत्साह र आकर्षण थप्ने उल्लेख गर्नुभयो। उहाँले यो सहकार्य ब्राण्ड प्रवर्धनमा मात्र सीमित नरहेर एक्स्पोका समग्र गतिविधि र अवसरहरूसँग जोडिने जानकारी दिनुभयो।

कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु आफ्नो कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको बताए। उनले एक्स्पोका विविध कार्यक्रममार्फत यो साझेदारीलाई थप प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरे।

उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका सम्भावनाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ एक्स्पोको तयारी तीव्र पारिएको आयोजक संगठनले जनाएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।

महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघ संगठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य छन् ।

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना माग गरिएको छ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

प्रहरी सहायक निरीक्षकका लागि अनलाइन माध्यमबाट आवेदन लिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि भने उम्मेदवार स्वयं उपस्थित भएर तोकिएका कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

 

मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्।

पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन्।

यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए। विगतमा जात्रा नियमित हुनसकेको थिएन।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए। उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्।

२०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका थिए। मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए।

आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख बढी खर्च हुने गरेको छ।

नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ। मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतंक मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो।

त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ।

पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ। उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ।

भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् ।

गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् ।

बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो । त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो ।

गत भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या र बसोबास गर्नेको सङ्ख्या सबैभन्दा धेरै भएको थियो । त्यस दिन उक्त सेन्टरको सङ्ख्या २८ पुगेको र त्यहाँ बस्नेत प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो ।

पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको सङ्ख्या क्रमशः घट्दै गएको छ । बिहीबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन् । बाढीले प्रभावित भएलगत्तै हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपानसहितको बसोबास उपलब्ध गराई सहजीकरण गरिएको थियो ।

हराइरहेका आफन्तको खोजी जारी छ । बेपत्ता भएकाहरू नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरू जान थालेका छन् । सो क्रमसँगै क्रमशः सङ्ख्या घट्दै गएको प्रजिअ रेग्मीको भनाइ छ ।

होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ ।

जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

‘बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ । पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ ।’

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् ।

सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको चाहनाअनुसारको रणनीति अपनाएको छ ।

उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ ।

आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावली भरेर विवरण लिइएको छ ।

त्यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन् । ‘सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्’, आयोजना प्रमुख घिमिरेले भने ।

भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने बताउँदै आएका छन् ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका केही, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३८ पैसा बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक दृष्टिले दिन फलदायी रहनेछ र आम्दानीका नयाँ मार्गहरू सहजै पहिल्याउन सकिनेछ। बोलीमा मिठास कायम राख्दा मान सम्मान एवं सामाजिक प्रतिष्ठामा चौतर्फी वृद्धि हुनेछ। पुराना साथीभाइको दर्बिलो साथले आँटेका योजनाहरू द्रुत गतिमा अघि बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहकर्मीहरूसँगको सुमधुर समन्वयले कठिन मानिएका जिम्मेवारी पनि सजिलै र मुस्कुराउँदै फत्ते हुनेछन्। रचनात्मक काममा मन रमाउनुका साथै नयाँ ज्ञान र सिप आर्जन गर्ने सुन्दर अवसर मिल्नेछ। प्रियजनसँगको रमाइलो भेटघाटले दिनभरिको थकान मेटाई नयाँ ऊर्जा दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक मेलमिलाप र आत्मीयताले घरायसी वातावरणलाई निकै सुखद र आनन्दमयी बनाउनेछ। व्यवसायमा संयमताका साथ अघि बढ्दा दीर्घकालीन रूपमा ठूलो आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यप्रति अलिकति सजग रहँदै आफ्नो दैनिक कार्यतालिकालाई निरन्तरता दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नेतृत्वदायी भूमिकामा निखार आउने हुनाले यहाँको कार्यशैली र स्पष्ट विचारको सर्वत्र प्रशंसा हुनेछ। नयाँ व्यावसायिक सम्झौताका लागि वातावरण अनुकूल छ र प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। आफ्नो आन्तरिक क्षमताले सफलताको नयाँ शिखर चुम्ने सुन्दर दिन रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सूक्ष्म कुरा छिट्टै बुझ्ने स्वभावले हिसाब, कागजपत्र वा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती समयमै सच्याउँदा भविष्यमा आउने ठूलो झन्झटबाट सहजै बच्न सकिनेछ। आफ्नो दैनिक जीवन र दिनचर्यामा पूर्ण अनुशासन कायम राख्नुहोला। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला, संगीत र सौन्दर्यप्रतिको झुकाव बढ्नुका साथै नयाँ व्यावसायिक उपक्रमहरूबाट सोचेजस्तै लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा साख उकासिनेछ भने अग्रजहरूको मार्गदर्शन लिइ गरिएका निर्णयहरू फलदायी हुनेछन्। साझेदारीका काममा विशेष सफलता हात पर्ने योग छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधूरा योजनाहरूलाई मूर्तरूप दिनका लागि उत्तम आन्तरिक ऊर्जा, साहस र मानसिक एकाग्रता प्रदान गर्नेछ। वैदेशिक वा दूरदराजका कामहरूमा सुखद प्रगति हुनुका साथै धनधान्यमा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्नका लागि आजको समय अत्यन्तै अनुकूल छ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक, आध्यात्मिक र परोपकारी कार्यमा मन आकर्षित हुनुका साथै अड्किएका आर्थिक कारोबारहरू सुल्झिनेछन्। पठनपाठन तथा बौद्धिक क्षेत्रमा उत्कृष्ट नतिजा हात पर्ने सम्भावना प्रबल छ। घरपरिवारमा कुनै माङ्गलिक कार्यको चर्चाले मनमा बेग्लै उत्साह थप्नेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वरिष्ठ अधिकारी तथा अग्रजहरूको आत्मीय सहयोगले असम्भव लाग्ने कठिन कामहरू पनि सहजै सम्भव बन्नेछन्। कार्यक्षेत्रको व्यस्तताले दिन सक्रिय रूपमा बिते पनि सोचेअनुरूपको नतिजा प्राप्त हुनेछ। धैर्यता र अटुट निरन्तरता नै आजको सफलताको मुख्य साँचो बन्नेछ। आजको शुभ रंग गाढा खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने क्रममा कार्यक्षेत्र र समाजमा विशेष प्रशंसा एवं मान-सम्मान मिल्नेछ। आत्मविश्वासले अरूलाई प्रभावित पार्दै सामाजिक भेटघाटबाट नयाँ सम्भावनाको ढोका खोल्नेछ। आफूले चाहेको कुरा स्पष्ट र निडर रूपमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक दृष्टिकोण र आत्मचिन्तनले मनमा नयाँ उमङ्ग जगाउँदै बिग्रन लागेका कामहरूलाई लयमा फर्काउनेछ। आम्दानीका वैकल्पिक स्रोतहरू फेला पर्नेछन् भने रोकिएका धन हात पर्ने योग छ। शुभचिन्तकहरूको निरन्तर सहयोगले नयाँ सुरुवात अत्यन्तै सुखद र फलदायी रहनेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक ३ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।