
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ।
उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवार आफैँ भने आफू उम्मेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन् ।
उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।
त्यस्तै उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि साथमा राख्नुपर्नेछ। समावेशी क्लस्टरबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपिसमेत पेश गर्नुपर्नेछ।
उम्मेदवारी रुजुका क्रममा उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिससमेत आवश्यक पर्नेछ। क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ ।
यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन चाहनेहरूले फारमदेखि आवश्यक प्रमाणपत्र र शुल्कको भौचरसम्म सबै कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।
नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार विहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए ।,
उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए। सभापति गगन थापा निकट रहेर काम गर्दै आइरहेका उनी सामाजिक अभियानमा पनि सक्रिय छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया जारी छ । हाल उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।
राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनपत्र दर्ताका क्रममा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीका लागि दरखास्त फारम वितरण गरिने बताए ।
दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने जानकारी दिए । उनले दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने बताए । उनले प्रकाशित नामावलीमाथि तोकिएको प्रक्रियाअनुसार दाबी–विरोध गर्न समय दिइने बताए ।
उनले भने, ‘कांग्रेसको १५औँ महाधिवेशनमा १० देखि १ बजेसम्म दरखास्त फारम वितरण गर्ने समय राखेका छौँ । १ बजेपछि दर्ता हुन्छ । त्यसपछि दर्ता भएको नामावली प्रकाशित गछौँ । नामावली अनुसार दाबी—विरोध गर्ने मौका दिएको र त्यसको निर्णय गरिसकेपछि बुधवार विहान अन्तिम नामावली प्रकाशित गर्छौं । त्यसपछि बुधबार दिनभर चुनाव गर्नेछौं ।’
अन्तिम नामावली प्रकाशन भएसँगै भोलि नै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए ।
गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिबारे आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताए ।
पदले सूचनामा पहुँच दिने भएपनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने गुरुङले उल्लेख गरे । गृह मन्त्रालय तथा मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले बताए ।
गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको छु । राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ।’
कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको हो ।
आज उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।




