२०८३ आश्विन २२ गते बिहीबार
२०८३ आश्विन २२ गते बिहीबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदका उम्मेदवार डा.सुनिल शर्माले आफूले स्वच्छ छवि कायम राखेको र पार्टी तथा लोकतन्त्रको हितमा लामो समयदेखि काम गर्दै आएको बताएका छन् । 

बुधबार राष्ट्रिय सभागृहमा प्रचारप्रसारका क्रममा बोल्दै डा.शर्माले आफ्नो उम्मेदवारीको मुख्य आधार आफू भ्रष्टाचारमा संलग्न नभएको र जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको दाबी गरे । 

‘हरेक नेपाली नागरिकले भष्ट्राचार नगर्ने नेता चाहन्छ,’ उनले भने, ‘म भष्ट्रचाररहित, क्लिन छवि भएको नेता हुँ । सांसद हुँदासमेत एक रुपैयाँ तलब भत्ता नखाएको र नेपाल सरकारबाट बुद्ध एयरको टिकटसमेत लिएर विराटनगरसम्म नउडेको नेता हुँ ।’

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा आफूले निरन्तर काम गर्दै आएको दाबी गर्दै देशका विभिन्न भूगोलका जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको बताए । 

शर्माले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै नेपाली कांग्रेस, लोकतन्त्र र पार्टीको हितमा काम गर्दै आएको उल्लेख गरे । १२ बुँदे समझदारीसम्म आइपुग्ने राजनीतिक प्रक्रियामा आफूले समेत भूमिका खेलेको उनको दाबी थियो ।

महाधिवेशन प्रतिनिधिहरू सामान्य कार्यकर्ता नभएको उल्लेख गर्दै डा.शर्माले उनीहरू लामो राजनीतिक अनुभव र संघर्षपछि प्रतिनिधिका रूपमा आएको बताए । 

उनले आफ्नो पक्षमा देखिएको माहोलबारे भने, ‘०४६ पछाडि अहिलेसम्म कांग्रेसको अधिवेशनमा जुन उत्साहजनक तरिकाले पदाधिकारीको पक्षमा माहोल देखिन्छ, यो सम्भवतः पहिलो हुन सक्छ ।’

शर्माले आफू पार्टीका शीर्ष नेताहरूको सूचीमा नरहेको र कुनै गुटमा समेत नरहेको दाबी गरे । ‘टाउकाहरूले हराउन चाहेको तर कार्यकर्ताहरूले जिताउन चाहेको’ उम्मेदवार आफू भएको उनको भनाइ छ ।

उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले आफ्नो उम्मेदवारीबारे निर्णय गर्ने र आफूलाई समर्थन गर्ने विश्वाससमेत व्यक्त गरे ।

सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। यसअघि १२ वर्ष रहेकोमा बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त अवधि घटाएर ४५ दिन बनाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।

त्यस्तै, सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ।

पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलेट जेनेरल स्थापना गर्न सहमति दिने निर्णय भएको पनि मन्त्री पोखरेलले बताए।

बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्री पोखरेलका अनुसार विपद्सम्बन्धी अध्यादेश भोटेकोशीको बाढीलाई समेत मध्यनजर गर्दै ल्याउन लागिएको हो। यसअघि १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई घटाएर ४५ दिन बनाइएको उनले बताए।

बैठकले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने र नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय भएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ ।

थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने बताए । उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताएका छन् ।

सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहकझ निर्वाचनसम्म दिनरात खटिने बताए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी शुरू गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका निकटस्थ र नातेदारको घरमा छापा मारेको छ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा निकटस्थ नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान टोलीले छापा मारेको हो।

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत विभागको टोली पुगेको छ। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि टोलीले छापा मारेको जनाइएको छ।

छापाका क्रममा जबराका निकटस्थ व्यक्तिका घरबाट महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ। 

यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्र शमशेर जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो। उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर प्रहरीले छाडेको थियो।

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्नू, नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको छ । लिलबहादुर थापाद्वारा दायर गरिएको उत्प्रेषणसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।

अदालतको आदेशमा गण्डकी प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको विषय र नेपालको संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने दाबीलाई आधार बनाइएको छ।

 

सुविधा सन्तुलनको दृष्टिको कोणबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा कामकारबाही नगर्न विपक्षी मुख्यमन्त्रीका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको हो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडाल, रमन कुमार श्रेष्ठ, टिकाराम भट्टराई, श्रीकान्त बराल र राम नारायण विडारीले बहस गरेका थिए।

साथै, अदालतले विपक्षीलाई मिति २०८३ साल कात्तिक ११ गतेभित्र महान्यायाधिवक्ताको कार्यालय तथा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

उनले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ’ विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए । 

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए । राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तथा संस्थागत तयारी अघि बढाउने भएको छ । आयोगका अनुसार आयोगले मंगलबार आयोजना गरेको प्रविधि तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा अघि बढ्ने बताएका हुन् ।

उनले त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास र साइबर सुरक्षा सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि प्रविधिगत तयारीसँगै संस्थागत क्षमता विकास, साइबर सुरक्षा र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रमममा स्मार्टेक र इन्स्पायरिङ ल्याबका विज्ञहरूले इन्टरनेट मतदान प्रविधिको प्राविधिक संरचना, प्रणाली सञ्चालन, साइबर सुरक्षा, मतदाता प्रमाणीकरण र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए । स्मार्टेकले इन्टरनेट मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शनसमेत गरेको थियो ।

प्रदर्शनमा मतदाता प्रमाणीकरणदेखि मतदान, मतको सुरक्षित व्यवस्थापन र प्रणाली सञ्चालनसम्मका विभिन्न चरण देखाइएको थियो । स्मार्टेकका विज्ञहरू नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी भएका थिए ।

इन्स्पायरिङ ल्याबका प्रतिनिधि सञ्जय खनालले इन्टरनेट भोटिङ प्रबिधि आर्किटेक्चर सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । निर्वाचन आयोगका उपसचिव अनुप न्यौपानेले आयोगको विद्यमान सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रणाली, पूर्वाधार, जनशक्ति र आगामी दिनमा आवश्यक पर्ने प्रविधिगत सुदृढीकरणबारे जानकारी गराएका थिए ।

निर्वाचन आयुक्त डा. राजीव सुब्बाले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आयोगमा मात्र नभई नेपाल सरकारका विभिन्न निकायमा उपलब्ध आईसीटीसम्बन्धी ज्ञान, सीप, जनशक्ति र प्राविधिक क्षमताको ‘स्किल म्यापिङ’ आवश्यक रहेको बताए । उनका अनुसार इन्टरनेट मतदान बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित विषय भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार तथा सञ्चालनलगायत क्षेत्रमा उपलब्ध विशेषज्ञता र क्षमताको पहिचान गर्नुपर्नेछ ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन विभाग, नेपाल प्रहरीलगायत सरकारी निकायका २४ भन्दा बढी आईसीटी प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले डिजिटल पहिचान तथा प्रमाणीकरण, प्रणाली अन्तरआबद्धता, डाटा आदानप्रदान, साइबर सुरक्षा, डाटा संरक्षण र संस्थागत प्राविधिक क्षमताका विषयमा आफ्ना अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए ।

आयोगका अनुसार अन्तरक्रियाले भविष्यमा इन्टरनेट मतदान प्रणाली विकास तथा कार्यान्वयन गर्दा विभिन्न सरकारी सूचना प्रणाली र प्राविधिक क्षमताबीच आवश्यक समन्वय तथा अन्तरआबद्धताका विषयमा आधार तयार गरेको छ ।

पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई पक्राउ गरेको हो ।

दुवै जनालाई मंगलबार बेलुकी इटहरी–९ स्थित रंगशाला चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई बुधबार बिहान १०ः३० बजेको हवाई उडानमार्फत थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडिओ सार्वजनिक भएको थियो ।

पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको नियमविपरीत जोडी भित्री भागसम्म पुगेको देखिएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भएको थियो ।

विवाद बढेपछि सामाजिक सञ्जालमा अर्को भिडिओ सार्वजनिक गर्दै प्रियंका र असिमले आफूहरूको कुनै खराब नियत नभएको दाबी गरेका छन् । भिडिओमा बोल्दै प्रियंकाले पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डहरूको यस घटनामा कुनै गल्ती नरहेको बताएकी छन् ।

आफूहरू गेटबाट भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर तत्कालै फिर्ता पठाएको उनले बताएकी छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।