
अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन् ।
३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाए । उनले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गरे भने निको पाजले अर्को गोल गरे । मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको परिणामभन्दा मेस्सीको बिदाइ नै मुख्य आकर्षण बन्यो । ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको कार्यक्रममा उनले समर्थकको माया र सम्मान ग्रहण गरे । खेलपछि सम्बोधन गर्दै उनले २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनका लागि ठूलो गौरव भएको बताए ।
“म जीवनभर खेलिरहन चाहन्छु, तर मलाई लाग्छ अब यो क्षण आएको छ । राष्ट्रिय टोलीका लागि खेल्नु आफूले पाउन सक्ने सबैभन्दा सुन्दर कुरा हो”, उनले भने ।
स्टेडियमतर्फ मेस्सी र उनका टोली साथीहरू सवार बस अघि बढ्दा समर्थकको ठूलो भीडले स्वागत गरेको थियो । त्यस क्रममा उनले भावुक हुँदै आँसु झारेका थिए । उनका आफ्ना तीन सन्तानसँगै मैदानमा प्रवेश गरे भने पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुसिट्टिनीले भिआइपी कक्षबाट उनलाई हात हल्लाउँदै स्वागत गरे ।
खेल सुरु हुनुअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीमाथि ‘ग्रेसियस’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । खेलको १०औँ मिनेटमा उनको जर्सी नम्बरप्रति सम्मान प्रकट गर्दै खेल केही समय रोकिएको थियो र समर्थकले एक मिनेट लामो ताली बजाएका थिए । अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिर देखाउँदै उनलाई धन्यवाद दिइएको थियो ।
मङ्गलबारको खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले मेस्सीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । एएफएको मुख्यालयबाहिर समर्थकले उनको तस्बिरसहित ‘मेरो जीवनको आनन्द’ लेखिएको विशाल अर्जेन्टिनी झण्डा फहराएका थिए । बार्सिलोनाका पूर्व टोली साथी नेयमारले पनि सामाजिक सञ्जालमार्फत मेस्सीले फुटबलका लागि गरेको योगदानप्रति धन्यवाद दिएका थिए ।
अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको बिदाइ अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताएर ३६ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेको चार वर्षपछि भएको हो । उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका उपाधिसमेत जितेको थियो । अर्जेन्टिना सन् २०१४ र २०२६ को विश्वकपमा उपविजेता बनेको थियो ।
मेस्सी सन् २०२८ सम्म इन्टर मियामीसँग अनुबन्धमा छन् । यद्यपि, दुई महिनाअघि आफ्ना बुबा जोर्जको निधनपछि उनले अपेक्षा गरिएभन्दा चाँडै फुटबलबाट बिदा लिन सक्ने सङ्केत गरेका थिए ।
समर्थक सिसिलिया एड्रियानोले मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै कुरा दिएको बताउँदै अब उनले आफ्नो जीवनको आनन्द लिन र आराम गर्न पाउनुपर्ने प्रतिक्रिया दिए ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको अवस्थालाई लिएर विवाद चर्किएको छ। प्रहरीले राष्ट्रसेवक कर्मचारीलाई काममा बाधा पुर्याएको आरोपमा विकमाथि अनुसन्धान भइरहेको जनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले उनलाई हिरासतमा कुटपिट गरिएको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार विकलाई मंगलबार बिहानदेखि नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलका अनुसार नदुवा–भम्पु सडकखण्डमा निर्माणको काम गरिरहेको सुनकोशी कन्स्ट्रक्सन कम्पनीले वडाध्यक्ष विकका भाइ गोपाल विकले पटक–पटक धम्की दिँदै रकम मागेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो।
उक्त जाहेरीका आधारमा गोपाललाई नियन्त्रणमा लिन प्रहरी टोली मंगलबार उनी रहेको स्थानमा पुगेको थियो। डीएसपी पौडेलका अनुसार गोपाललाई नियन्त्रणमा लिन खोज्दा वडाध्यक्ष विकले प्रहरीलाई रोक्नुका साथै आफ्ना भाइलाई त्यहाँबाट भगाएका थिए।
त्यस क्रममा प्रहरी र वडाध्यक्ष विकबीच हातपातसमेत भएको प्रहरीको भनाइ छ। सादा पोसाकमा खटिएका प्रहरीको कपडा च्यातिएको डीएसपी पौडेलले बताएका छन्।
प्रहरीले भने वडाध्यक्ष विकलाई हिरासतभित्र कुटपिट नगरिएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीमाथि राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कर्तव्य निर्वाह गर्न बाधा–विरोध गरेको कसुरमा अनुसन्धान भइरहेको छ।
वडाध्यक्ष विकलाई नियन्त्रणमा लिएपछि नेकपा रुकुम पश्चिमले भने प्रहरीको कारबाहीप्रति आपत्ति जनाएको छ। पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले मंगलबार असोज २० गते जारी गरेको संयुक्त विज्ञप्तिमा विकलाई छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर नियन्त्रणमा लिई कुटपिट गरिएको आरोप लगाइएको छ।
विज्ञप्तिअनुसार वडासँग सम्बन्धित विषयमा छलफल गर्न भन्दै मंगलबार बिहान ९ बजे प्रहरी कार्यालय बोलाइएका विक कार्यालय परिसरमा पुग्नेबित्तिकै पक्राउ पुर्जीबिनै हत्कडी लगाएर हिरासतमा राखिएको थियो। त्यसपछि उनलाई कुटपिट गरिएको पार्टीको दाबी छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विकको शरीरमा चोटपटक देखिएको दाबी गर्दै नेकपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
पार्टीले विकलाई तत्काल रिहा गर्न, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। विकमाथि झुटा मुद्दा लगाइए सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत नेकपाले दिएको छ।
घटनाबारे प्रहरीले भने विकलाई हिरासतमा कुटपिट नगरिएको स्पष्ट पारेको छ। पक्राउको कारण, प्रहरीसँग भएको भनिएको हातपात तथा हिरासतमा विकमाथि भएको व्यवहारबारे प्रहरी र नेकपाको दाबी फरक देखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ ।
आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने छन् ।
आज उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ छ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आज दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो।
प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।
वरिष्ठ उपसभापति एक पदका लागि भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी परेको उल्लेख छ।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ।





