२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार ठूलो परिमाणमा सुन बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरू तस्करी गरेर ल्याइएको सुन बूढानीलकण्ठमा भण्डारण गर्ने कार्यमा संलग्न रहेको खुलेको छ। उनीहरूले एक नेपाली नागरिकसँग मिलेर सुन लुकाएर राखेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीले सुन राखिएको आशंका गरिएको स्थानमा एक साताभन्दा लामो समयदेखि निगरानी गरिरहेको थियो। त्यसक्रममा बिहीबार २१ किलो सुन बरामद गरिएको हो।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद सुनबारे थप विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका अधिवेशनको मिति तय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

 

बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।

 

वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिए।

यसैगरी, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त भएको स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।

बैठकले पार्टीका १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गर्ने निर्णय पनि गरेको छ। जिल्ला तहबाट गरिएको निर्णयलाई सम्बन्धित संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाइने आचार्यले बताए।

एमाले स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि निर्धारित मतदान प्रक्रिया प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित भएको छ । निर्वाचन समितिले मतदान शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

मतपत्र छपाइमा भएको ढिलाइ तथा साँझको समयमा मतदान सुरु गर्दा उत्पन्न हुनसक्ने सुरक्षा र व्यवस्थापनसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बिहीबार पत्रकार सम्मेलनमार्फत मतदानमा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक र व्यवस्थापकीय जटिलता रहेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा करिब ७ हजार ३ सय १७ प्रतिनिधि मतदाता रहेका छन् भने २ सय ९७ पदका लागि करिब ८ सय ५० उम्मेदवार प्रतिस्पर्धामा छन् । विधानअनुसार पदहरूको वर्गीकरण गरी २३ प्रकारका मतपत्र तयार गर्नुपर्ने भएकाले करिब २ लाख मतपत्र छपाइ गर्नुपरेको थियो ।

उम्मेदवारी दर्ता, दाबी–विरोध तथा नामावली सच्याउने प्रक्रियाका कारण अन्तिम उम्मेदवारको नामावली प्रकाशनमा समय लागेको र त्यसको असर मतपत्र छपाइमा परेको समितिले जनाएको छ ।

सदस्यसचिव कटुवालले आवश्यक सबै मतपत्र प्राप्त भइसकेको र मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।

‘करिब ७ हजार ३ सय मतदाता र २ सय ९७ पदका लागि करिब ८ सय ५० उम्मेदवार रहेकाले २३ प्रकारका मतपत्र तयार गर्नुपर्ने अवस्था थियो । उम्मेदवारको दाबी–विरोध, नामावलीको अन्तिम टुंगो र मतपत्र छपाइमा लागेको समयका कारण मतदानमा ढिलाइ भयो,’ उनले भने ।

उनका अनुसार साँझबाटै मतदान सुरु गर्दा सुरक्षा व्यवस्थापन, प्रकाशको अभावलगायतका चुनौती आउन सक्ने भएकाले शुक्रबार बिहानबाट मतदान गर्ने निर्णय गरिएको हो ।

‘हाल आवश्यक सबै मतपत्र प्राप्त भइसकेका छन् र मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । तर साँझबाट मतदान सुरु गर्दा सुरक्षा तथा व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले भोलि बिहान ठीक ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सञ्चालन गरिनेछ,’ कटुवालले भने ।

निर्वाचन समितिले मतदान प्रक्रिया निर्धारित समयमा सञ्चालन गर्न नसकेकोमा महाधिवेशन प्रतिनिधिहरूसँग क्षमायाचना गरेको छ । साथै शुक्रबार तोकिएको समयमा मतदानमा सहभागी भई १५औँ महाधिवेशनको निर्वाचन सफल बनाउन सहयोग गर्न समितिले आग्रह गरेको छ ।

समितिका अनुसार मतदानका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले उनको निधनको पुष्टि गरेका छन् । हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए । तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन ।

पाटेकरको मृत्युको मेडिकल–लिगल प्रक्रिया (एमएलसी) पूरा भइसकेको र पोस्टमार्टम गर्नुपर्ने चिकित्सकले बताएका छन् । सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो अलग पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ ।

पछिल्लो समय पनि उनी चलचित्रमा सक्रिय थिए । उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतको अभिनय रहेको ‘हाउसफुल ५’ मा देखिएका थिए । त्यस्तै, विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै उनले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’मा पनि उनको विशेष उपस्थिति रहेको थियो । 

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

महाधिवेशनको पाँचौँ दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो । मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन् । मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ । 

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई—तिहाइ बहुमतसहित निर्वाचित भएको छ ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन टु एड्रेस क्लाइमेट–रिलेटेड डिजास्टर्स एन्ड स्ट्रेन्थेन रिजिलियन्स इन द हिमालयन रिजन एन्ड अदर भल्नरेबल रिजन’ शीर्षकको आपत्कालीन एजेन्डा महासभासमक्ष प्रस्तुत गरेका थिए ।

प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको ‘वाटर टावर’ का रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालहरूमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताएका थिए ।

उनले नेपालले पछिल्लो समय सामना गरेको जलवायुजन्य विपद्को सन्दर्भ उल्लेख गर्दै जलवायु न्याय र संसदीय जवाफदेहिताका लागि विश्वका संसद्हरूबीच साझा दायित्व र सहकार्य आवश्यक रहेको बताए ।

नेपालको प्रस्ताव पारित गर्नु नेपालका लागि मात्र नभई आईपीयू का सदस्य राष्ट्रहरू र सांसदहरूको समेत साझा दायित्व भएको उल्लेख गर्दै सभामुख अर्यालले जलवायुजन्य विपद्को सामना गर्न संसदीय जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

्प्रस्तावमा सदस्य राष्ट्रहरूबीच जलवायु तथा मौसमसम्बन्धी सीमापार पूर्वसूचना प्रणाली र प्रविधिमा पहुँच सुनिश्चित गर्न आवश्यक कानुनी ढाँचा निर्माण तथा जलवायु प्रतिबद्धता कार्यान्वयनका लागि सम्बन्धित देशका कार्यपालिकालाई संसदीय तहबाट जवाफदेही बनाउने विषयमा जोड दिइएको छ ।

सभामुख अर्यालले विश्व समुदायलाई दोषारोपण गर्न नभई जलवायुजन्य विपद्बाट प्रभावित नागरिकको संरक्षण, न्याय र सुरक्षित भविष्यका लागि साझा समाधान निर्माण गर्न आह्वान गरे ।

आपत्कालीन प्रस्तावलाई कार्यसूचीमा समावेश गर्न आवश्यक दुई—तिहाइ बहुमतका लागि सभामुख अर्यालले महासभाका सदस्यहरूसँग ऐक्यबद्धताको मत मागे ।

प्रस्तावमाथि भएको मतदानमा पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो। पक्ष र विपक्षमा परेको कुल ९७९ मतको दुई—तिहाइका लागि ६५३ मत आवश्यक थियो । प्रस्तावले आवश्यक दुई—तिहाइ बहुमत प्राप्त गरेको हो ।

आईपीयू महासभाको नियम ११(ख) अनुसार एकभन्दा बढी आपत्कालीन प्रस्तावले आवश्यक बहुमत प्राप्त गरेमा सबैभन्दा बढी सकारात्मक मत प्राप्त गर्ने प्रस्तावलाई कार्यसूचीमा समावेश गरिने व्यवस्था छ । सोहीअनुसार सबैभन्दा बढी सकारात्मक मत प्राप्त गरेको नेपालको प्रस्ताव आपत्कालीन विषयका रूपमा छनोट भएको हो ।

नेपालको प्रस्ताव अब आईपीयूको १५३औँ महासभाको आपत्कालीन एजेन्डा का रूपमा आज बिहान ९ बजेबाट छलफल हुनेछ ।

छलफलमा जलवायुजन्य विपद्का कारण उत्पन्न चुनौती, हिमालय तथा हिमनदीको संरक्षण, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, प्रविधि तथा वित्तीय सहयोग र जोखिमयुक्त क्षेत्रमा उत्थानशीलता अभिवृद्धिका लागि आवश्यक संसदीय पहलका विषयमा विचार–विमर्श हुनेछ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाली हल बाट मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा रहेको मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हल बाट मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।

अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

मतदान केन्द्र र प्रतिनिधि समूह

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’

बागमती प्रदेश

मतदान केन्द्र ‘ख’ खुलामञ्चमा

कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाली हल

गण्डकी प्रदेश

तराई–मधेस हल

मधेश प्रदेश

पहाड हल

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

मतदान सकिएपछि मतगणना सुरु हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।